• २०८१ फाल्गुण १२ सोमबार

राजसंस्था फर्किने सम्भावना छैन, दुख नगरौं- गोकुल बास्कोटा

kharibot

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजसंस्था फर्किने कुनै सम्भावना नभएको जिकिर गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले नेपालमा मरिसकेको राजसंस्था फर्किने सम्भावना नभएको बताएका हुन् ।

उनले भने- 'राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर अर्कोथरी ‘डे वान’ देखि कराउने । ठीकै हो, यो कराउने ठाउँ त हुँदै हो । पाइन्छ कराउन । यो के हो त ? सरकार मन नपर्न सक्छ, के प्रमुख प्रतिपक्षले लोकतन्त्रको विकल्प खोजेको हो ? दक्षिणपन्थी विचार बोक्ने र वामपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नु होला, त्यो चुल्होमा गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । सम्भव छैन । यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’

बास्कोटाले राजा फर्काउछु भन्दै आन्दोलन गर्नेहरुलाई आन्दोलन छाड्न आग्रह गरेका छन् । उनले भने- ‘यो २१ औं शताब्दी हो, के गर्न राजा फर्काउने? केका लागि राजतन्त्र फर्काउने? के पाइन्छ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ ? धेरै गर्न पर्दैन, एउटा प्लेन टिकट काट्दिनुस् पूर्वराजा जुलुस नगरिकन काठमाडौं फर्किहाल्छन् नि । केलाई दु:ख गर्ने ? फर्किने भनेको काठमाडौं त होला नि । सिंहासनमा त सम्भव छैन। सम्भवै छैन ।’

बास्कोटाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई पनि आफ्नो कित्ता स्पष्ट गर्न आग्रह गर्दै गणतन्त्रको पक्षमा हो वा होइन भन्दै प्रश्न गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै