• २०८१ फाल्गुण १० शनिबार

अमेरिकाबाट निकालिएका ३०० आप्रवासी पानामाको होटलमा कैद

kharibot

काठमाडौँ । अमेरिकाले ३०० गैरकानूनी आप्रवासीहरूलाई पानामा देशमा कैद गरेको छ । मिडिया रिपोर्टका अनुसार पानामाको एक होटलमा यी आप्रवासीलाई हिरासतमा राखिएको छ । 

यी आप्रावासी नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका रहेको रिपोर्टमा उल्लेख छ । कुन देशका कति आप्रवासी छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन । 

उनीहरु आफ्नो देश फर्कन तयार नभएपछि पानामा लगेर कैद गरिएको बताइएको छ । विभिन्न मिडियामा उनीहरुले होटलको झ्यालबाट सहयोगको लागि याचना गरिरहेका तस्बीर सार्बजनिक भएका छन् । केहीले कागजमा 'हामीलाई मद्दत गर्नुहोस्' र 'हामीलाई बचाउनुहोस्' भन्ने लेखेर झ्यालबाट देखाइरहेका छन् ।

अमेरिकाले अवैध आप्रवासीहरूलाई आफ्नो देशमा देश निकाला गर्न पानामालाई रोकथामको रूपमा प्रयोग गरिरहेको छ । यसका लागि पानामा बाहेक ग्वाटेमाला र कोस्टारिकासँग पनि सम्झौता भएको बताइएको छ ।

न्युयोर्क टाइम्सका अनुसार आप्रवासीहरूको मोबाइल फोन खोसिएको छ र होटलमा थुनिएको छ । उनीहरुले आफ्ना वकिलहरूलाई पनि भेट्न नसक्ने गरि राखिएको बताइएको छ । 

एक आप्रवासीले होटलमा आत्महत्या गर्ने प्रयास गरेको र अर्को एकजनाले भाग्ने प्रयास गर्दा आफ्नो खुट्टा भाँचेको बताइएको छ ।

पानामाका सुरक्षा मन्त्री फ्रान्क अब्रेगोले सुरक्षा कारणले गर्दा आप्रवासीहरूलाई हिरासतमा लिइएको बताएका छन् । उनीहरूलाई आवश्यक पर्ने सबै स्वास्थ्य उपचार र खाना दिइँने उनले बताएका छन् ।

एसोसिएटेड प्रेसका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस महिनाको सुरुमा पानामाको भ्रमण गरेका थिए । यस भ्रमणको क्रममा, पानामालाई बिसौनीको रूपमा प्रयोग गर्ने सहमति भएको थियो, जसको अवधिमा हुने सबै खर्च अमेरिकाले बेहोर्ने थियो ।

पानामाका मन्त्री फ्रान्क अब्रेगोले १७१ गैरकानूनी आप्रवासी स्वेच्छाले आफ्नो देश जान सहमत भएको बताए भने ९७ जना अर्को देश जान चाहेको बताएका छन् । उनीहरुलाई कोलम्बिया-पनामा सीमा नजिकै रहेको डारियन जंगलमा बनेको शिविरमा स्थानान्तरण गरिएको छ । यहाँबाट संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले उनीहरूको अर्को देशमा स्थानान्तरणको व्यवस्था गर्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै