काठमाडौँ । रियल म्याड्रिडका फरवार्ड जुड बेलिङघमलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
ओसासुनासँगको खेलको पहिलो हाफमा रातो कार्ड पाएका बेलिङघमलाई स्पेनिस फुटबल फेडेरेसनले २ खेलको प्रतिबन्ध लगाएको छ ।
बेलिङघमले रातो कार्ड पाएपछि रेफ्रीलाई दुर्व्यबहार गरेको आरोप लगाइएको छ । रियल म्याड्रिडले रातो कार्डको विरुद्धमा अपिल गरे पनि अनुशासन कमिटीले अस्वीकार गर्दै प्रतिबन्ध लगाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्पेनिस ला लिगामा रेफ्रीको स्तर राम्रो नभएको भन्दै रियल म्याड्रिडले ला लिगा नै छोड्ने विषयमा विचार गरिरहेको समाचार बाहिर आएको बेला बेलिङघममाथि २ खेलको प्रतिबन्ध लागेको छ ।
अब बेलिङघमले ला लिगा अन्तर्गतका फेब्रुअरी २३ मा हुने गिरोना र मार्च २ मा हुने रियल बेटिसविरुद्धको खेल गुमाउने भएका छन् ।
ला लिगामा हाल रियल म्याड्रिड बार्सिलोनासँग समान ५१ अंकसहित गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।