काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले अगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा २८ वर्ष उमेर हद लगाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०८१ ले निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको हो ।
निर्देशिकाको दफा ७ को उम्मेदवारी मनोनयनसम्बन्धी व्यवस्थाको उपदफा ३ को ५ मा व्यवस्था गरे अनुसार उम्मेदवारी मनोनयन पत्र दाखिला गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको व्यक्तिले स्ववियु कार्यसमितिको कुनै एक पदका (पदाधिकारी वा सदस्यका) लागि मात्रै उम्मेदवारी दिन सक्ने व्यवस्था गरेको छ ।
२०८१ चैत ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला मिति २०८१ फागुन २७ गते भएमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५३ फागुन २८ वा सोभन्दा पछिको जन्ममिति भएको विद्यार्थीले उम्मेदवारी दिन पाउनेछन् । सोही निर्देशिकाको दफा ६ मा मतदाता नामावली र उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाको ६ नम्बर बुँदामा उल्लेख गरिएको छ । सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन पाउनेछैनन् ।
निर्देशिकामा हाल गरिएको नयाँ व्यवस्थाले चुनावकै लागि पटकपटक कलेजहरूमा भर्ना भइरहनेजस्ता विकृतिलाई निरुत्साहित गर्नेछ। ‘कुनै एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गरिनेछैन,’ निर्देशिकाको दफा ६ को ५ नम्बर बुँदामा उल्लेख छ, ‘तर विषय परिवर्तन गरी सोही तहमा अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिनेछ।’
यसैगरी निर्देशिकाले चुनावलाई थप मर्यादित र व्यवस्थित बनाउन नयाँ व्यवस्था गरेको छ। जसअनुसार चुनावको मतदाता नामावली प्रकाशित हुने पाँच दिनअघिसम्म नियमअनुसार भर्ना भएका विद्यार्थीलाई चुनावमा सहभागिता गराउने व्यवस्था गरेको छ ।
जसअनुसार स्नातकोत्तर तह प्रथम सेमेस्टर, स्नातक तह प्रथम सेमेस्टर र स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्नासम्बन्धी शिक्षाध्यक्ष तथा डिन कार्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थी मात्र र अन्य सेमेस्टर र वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा पाँच दिनअघिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीलाई मात्र मतदाता नामावलीमा समावेश गरिने स्पष्ट व्यवस्था गरेको छ ।
निर्देशिकाले यस पटक स्ववियु कार्यसमितिको संख्यासमेत निश्चित गरेको छ। निर्देशिकाले स्ववियु निर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न क्याम्पस/कलेजमा क्याम्पस प्रमुखले स्ववियु निर्वाचन समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ। समितिमा क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने व्यवस्था गरेको छ ।
उपदफा २ को नम्बर १ मा गरिएको व्यवस्थाअनुसार समितिमा क्याम्पस/कलेज प्रमुखले तोकेबमोजिम दुई सय जनासम्म पाँच सदस्यीय, २०१ देखि एक हजारसम्म सात सदस्यीय, एक हजार एकदेखि ३ हजार सम्म नौ सदस्यीय, तीन हजार एक देखि ५ हजारसम्म ११ सदस्यीय र ५ हजार एकदेखि माथि १३ सदस्यीय निर्वाचन समिति गठन गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ। क्याम्पसले आवश्यक ठानेमा सदस्य संख्या कम गर्ने अधिकार पनि कलेजलाई निर्देशिकाले दिएको छ।
त्रिवि कार्यकारी परिषद्का कार्यालय प्रमुख एवं प्रवक्ता यमसिंह बोहराका अनुसार आगामी चैतमा हुने स्ववियु निर्वाचनलाई मर्यादित, व्यवस्थित र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन निर्देशिकाको व्यवस्थाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
निर्देशिकाको दफा ११ मा निर्वाचन आचारसंहितासम्बन्धी गरिएको व्यवस्थाअनुसार निर्वाचनलाई प्रभाव पर्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने, क्याम्पसको कम्पाउन्डवालको बाहिरपट्टि, भित्रपट्टि र क्याम्पसपरिसरमा निर्वाचनसम्बन्धी भित्ते लेखन गर्न र तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्थाले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुने विश्वास त्रिवीको रहेको छ ।
साथै माइकबाट प्रचारप्रसार गर्न नपाइने र बन्दहडतालसमेत गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ । मतदान हुनुभन्दा ४८ घण्टाअगाडि देखि कुनै पनि प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ ।