काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेपछि चीनको प्रतिक्रिया दिएको छ । चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिदै यो कदमविरुद्ध बदला लिने बताएको हो ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ- 'चीन यस कदमबाट कडा असन्तुष्ट छ र यसको दृढतापूर्वक विरोध गर्दछ । यसले यो विश्व व्यापार संगठनको नियमहरूको गम्भीर उल्लङ्घन हो ।'
चीनले यस्ता कदमहरू चीन र अमेरिका बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगको लागि हानिकारक भएको बताएको छ ।
चीनले अब अमेरिकाको 'गलत व्यवहार' विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्नेछ र 'आफ्नो अधिकार र हितको रक्षा' गर्न प्रतिशोधात्मक कदम चाल्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्या समाधान गर्न चीनसँग मिलेर काम गर्न आह्वान गर्दछ ।'
चीनले अमेरिकालाई 'पारस्परिक लाभ, सम्मान र समानताको आधारमा मतभेदहरू समाधान गर्न र पारस्परिक सहयोगलाई बलियो बनाउन' आह्वान गरेको छ ।
ट्रम्पले एक आदेश जारी गर्दै क्यानडा र मेक्सिकोलाई थप २५ प्रतिशत र चीनलाई थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यो आदेशपछि क्यानडा र मेक्सिकोका उत्पादनलाई अमेरिका प्रवेशमा थप २५ प्रतिशत र चिनियाँ उत्पादनलाई थप १० प्रतिशत कर लाग्ने भएको छ । यो आदेशको जवाफ दिदै क्यानडा र मेक्सिकोले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लागाउने घोषणा गरेका छन् ।