काठमाडौं । नेपालले जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । नेपालले नेदरल्यान्ड्ससँग दोस्रो हार व्यहोर्दै सिरिजमा खेलेका तीन वटै खेलमा पराजित भएको हो ।
टियु क्रिकेट मैदानमा सम्पन्न यस खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो ।
नेदरल्याण्डसले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रनको पारी खेलिन् । सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन जोडे । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ र हिदर सेइगर्सले समान २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १४० रन बनाएको थियो ।
ठुलो टोटलतर्फ अघि बढिरहेको नेदरल्याण्डसलाई सीता राना मगरले १८औं ओभरमा ३ र अन्तिम ओभरमा २ विकेट लिएर रोकेकी थिइन् । सीताले यस खेलमा कुल ५ विकेट लिएकी थिइन् । त्यस्तै मनिषा उपाध्यायले २ तथा कबिता जोशी र इन्दु बर्माले एक एक विकेट लिएका थिए ।
त्यसैगरी नेदरल्याण्डसकी कप्तान बाबेट्ट डी लीडले ४१, हीथर सीएगेर्सले २६ तथा फेबे मोल्केनबोएर र रोबिन रिकेले २१-२१ रन बनाएका थिए ।
यो जितपछि नेदरल्याण्डसले ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले लगातार तेस्रो हार बेहोरेको छ । सिरिज अन्तर्गत अब सोमबार नेदरल्याण्डस र थाइल्याण्डबीच खेल हुदै छ ।