काठमाडौँ । हमासले शनिबार युद्धविराम सम्झौता अनुसार तीन इजरायली बन्धकलाई रिहा गरेको छ । हमासले ३५ बर्षिय यार्डेन बिबास, ५४ बर्षिय ओफर काल्डेरोन र ६५ बर्षिय किथ सिगेललाई रिहा गरेको हो । रेडक्रसको सहयोगमा उनीहरूलाई इजरायली सेनालाई हस्तान्तरण गरिएको छ । तीनै जनालाई सेनाको हेलिकप्टरमा इजरायल पुगेका छन् ।
बीबीसीका अनुसार यसको बदलामा इजरायलले चाँडै नै १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । गत हप्ता सम्झौता लागू भएदेखि यता जम्मा १३ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिएको छ ।
यार्डेन बिबासलाई उनकी श्रीमती शिरी र दुई छोराहरू, केफिर र एरियलसँगै नीर ओज किबुट्जबाट अपहरण गरिएको थियो । बिबासको छोरा केफिरलाई बन्धक बनाउँदा उनी केवल ९ महिनाका थिए । त्यतिबेला उनी हमासद्वारा बन्धक बनाइएका सबैभन्दा कान्छा व्यक्ति थिए । हमासले नोभेम्बर २०२३ मा शिरी र उनका दुई बच्चाहरू इजरायली बम विस्फोटमा मारिएको बताएको थियो । त्यसपछि हमासले एउटा भिडियो जारी गर्यो जसमा यार्डेन बिबासले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई आफ्नो परिवारका सदस्यहरूको मृत्युको लागि दोष लगाइरहेका थिए ।
यद्यपि, इजरायलले हमासको यो दाबीलाई कहिल्यै स्वीकार गरेन । इजरायलले अझै पनि हमासले बिबासको परिवारलाई बन्धक बनाएको दाबी गरिरहेको छ ।
किथ सिगेल मूल रूपमा अमेरिकाका हुन् । उनीसँग इजरायली नागरिकता पनि छ । उनको स्वास्थ्य अवस्था कमजोर रहेको बताइएको छ । किथ र उनकी श्रीमती, अविभालाई कफर अजा किबुट्जबाटसँगै अपहरण गरिएको थियो। यद्यपि, अविभालाई नोभेम्बर २०२३ मा युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिएको थियो ।
तेस्रो इजरायली बन्धक, ओफर काल्डेरोन, उनका ११ वर्षीय छोरा इरेज र १६ वर्षीया छोरी सहरसँगै नीर ओज किबुट्जबाट बन्धक बनाइएका थिए । इरेज र सहरलाई नोभेम्बर २०२३ मा युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिएको थियो ।
हमासको नियन्त्रणमा नेपाली युवा विपिन जोशी पनि रहेका छन् र उनी छिटै रिहा हुने अपेक्षा गरिएको छ । टाइम्सअफ इजरायलले केहि दिन अघि एक रिपोर्ट प्रकाशित गर्दै विपिन जिवितै हमासको नियन्त्रणमा रहेको उल्लेख गरेको थियो ।