काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने अवसर आएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अखिल (क्रान्तिकारी) को निर्वाचनले नयाँ पुस्तामा नेतृत्व निर्माण र आफूले चाहेको मान्छेलाई नेता बनाउने विधिको स्थापना गरेको टिप्पणी गरेका हुन् ।
शर्माले प्रचण्डसँग कहिले पनि टक्कर नगरेको स्पष्ट गर्दै विधि स्थापित गर्ने कुरालाई नेतृत्वसँगको टक्करको रुपमा जोड्न नहुने बताए । साथै उनले माओवादी पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्ने कुरा नीतिगत रुपले, व्यवहारिक रुपले सुरुवात भएको समेत बताए ।
अखिल (क्रान्तिकारी) को हालै सम्पन्न निर्वाचनमा प्रचण्डनिकट मानिने विजयप्रकाश शर्मा सापकोटा अध्यक्षमा निर्वाचित भएपनि ३३ जनाको पदाधिकारीमा शर्मा निकट २२ जना निर्वाचित भएका छन् । यस घटनालाई माओवादी भित्र प्रचण्डलाई शर्माले चुनौती दिएको भन्दै विश्लेषण भइरहेको छ ।