• २०८१ पौष २३ मंगलबार

भीम रावलको एमालेलाई जवाफ- झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य छोपिदैन

kharibot

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले एमालेलाई जवाफ दिदै झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य नछोपिने दाबी गरेका छन् ।

एमाले सचिवालय बैठकले संगठित सदस्यता खोसेलगत्तै रावलले गत बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ७४ आरोप लगाएका थिए । सो आरोपको बिहीबार बसेको एमाले सचिवालय बैठकले खण्डन गरेको थियो ।

एमाले सचिवालय बैठकले रावलले लगाएको आरोप ०७७ सालमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कपी पेस्ट भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गरेका थिए । ज्ञवालीको उक्त टिप्पणीप्रति जवाफ फर्काउँदै रावलले आज झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य नछोपिने दाबी गरेका हुन् ।

रावलले पाँच बुँदामा जवाफ दिदै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्:

बामाले (बाको मात्र नाम लेउ) भन्नेहरूले गरेका कुप्रचारका नमूनाहरु

१- देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य संगत कुराहरू ‘प्रचण्डले बोलका कुराहरूको फोटोकपी’ रे! केपी ओलीले प्रचण्डसंग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचन पछि फेरी प्रचण्डसंग गरेको साँठगाँठ र फेरी प्रचण्डसंग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरुको चर्चा ‘प्रचण्डको आरोपको फोटोकपी’ नै हुन् र ?

२-  २०६२/६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससंग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको वाहक र पृष्ठपोष रहेको अकाट्य तथ्य सार्वजनिक हुँदाहुँदै ‘दक्षिण पन्थीको नाइके’ भीम रावल रे ! आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्टु तरिका !

३- बामालेका ‘काम्लो ओढेर घिउ खाने’ कतिपयका ‘काम्ला’ उधी सकेका छन्, केहीका ‘काला’ टाल्ने दुस्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै ‘भीम रावलले काम्लो ओढेर घिउ खाएको’ रे !

४- भीम रावलले यो पद उ पद ‘पाएको’ ले सत्य-तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे ! अरुले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौं पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे !

५- उनीहरुले गरेका झुटा र तथ्यहीन कुराहरुको आधारमा ममाथि गरिने प्रहार ‘गाली गलौज’ होइन रे ! मैले अकाट्य तथ्यको आधारमा सोधेका प्रश्नहरु र दिएका जानकारी ‘गालि गलौज रे !

सत्ता रशक्तिको उन्माद भनेको यही हो । त्यसले सत्य, न्याय र विवेकलाई देख्न सक्दैन । झुट प्रचार र थोत्रो पर्दाले सत्य-तथ्य छोपिने छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै