काठमाडौँ । भारतीय कप्तान रोहित शर्मा अस्ट्रेलियाविरुद्धको सिड्नी टेस्ट नखेल्ने भएका छन् । कप्तान रोहित खराब फर्मका कारण बोर्डर गावस्कर ट्रफीको निर्णायक र अन्तिम खेलका लागि आराम लिने भएका छन् । मिडिया रिपोर्टका अनुसार रोहितको स्थानमा जसप्रित बुमराहले भारतीय टिमको कप्तानी गर्ने भएका छन् ।
इन्डियन एक्सप्रेसको रिपोर्टमा उनी पाँचौं टेस्टमा प्लेइङ ११ को हिस्सा नहुने जानकारी दिइएको छ । उनले मुख्य प्रशिक्षक गौतम गम्भीर र चयन समितिका अध्यक्ष अजित आगरकरलाई यो जानकारी दिएका छन् । दुवैले रोहितको यो निर्णयलाई स्वीकार गरेको रिपोर्टमा उल्लेख छ ।
मिडिया रिपोर्टका अनुसार मेलवर्नमा सम्पन्न बक्सिङ डे टेस्ट रोहितको करियरको अन्तिम टेस्ट खेल थियो र उनी अब भारतीय टेस्ट टिमको हिस्सा नहुने दाबि गरिएको छ । भारतले यसै वर्षको जुनमा इंग्ल्याण्डसँग टेष्ट सिरिज खेल्नेछ । भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिन मानिएको छ । सिड्नी टेस्टमा भारतले जित हासिल गरे पनि शृंखला २–२ को बराबरीमा परे पनि अष्ट्रेलिया र श्रीलंकाबीचको दुई खेलको टेस्ट शृंखलाको नतिजामा भर पर्नुपर्ने अवस्था रहेको छ ।
रोहितले पछिल्लो १५ टेस्ट इनिङ्समा १६४ रन मात्र बनाएका छन् । जसमा एक अर्धशतक मात्र समावेश छ । यस अवधिमा रोहितले १५ इनिङ्समा ६, ५, २३, ८, २, ५२, ०, ८, १८, ११, ३, ६, १०, ३ (मेलबर्न टेस्टको पहिलो इनिङ्स) र ९ (मेलबर्न टेस्टको दोस्रो इनिङ्स) बनाएका थिए । रोहितले यो वर्ष १४ टेस्टका २६ इनिङ्समा २४.७६ को औसतमा ६१९ रन बनाएका छन् । यस अवधिमा उनले दुई शतक र दुई अर्धशतक बनाएका छन् ।
सिड्नी टेस्टका लागि भारतको सम्भावित प्लेइङ-११मा केएल राहुल, यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), रविन्द्र जडेजा, नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर, हर्षित राना, जसप्रित बुमराह (कप्तान) र मोहम्मद सिराज हुनसक्ने बताइएको छ ।