• २०८१ पौष २३ मंगलबार

महिलाको ज्यान लिने बाघ नियन्त्रणमा

kharibot

हेटौडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई गलबार साँझ नियन्त्रणमा लिएको हो ।

मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सातवटा बाख्रा मारेको थियो । दुईवटा घटनापछि वसन्तपुरवासी त्रसित बनेका थिए ।

सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चारवटा हात्तीसहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चारजना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।

बाघलाई खोजी गर्ने क्रममा मंगलबार साँझ ७ बजेको समयमा मनहरी–५ वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिएपछि बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै