काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
पक्राउ मध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।