काठमाडौँ । अष्ट्रेलियाविरुद्धको बक्सिङ डे टेस्टअघि भारतीय कप्तान रोहित शर्मा घाइते भएका छन् । आइतबार अभ्यासका क्रममा रोहितको घुँडामा चोट लागेको थियो ।
रोहित थ्रो डाउन विशेषज्ञसँग अभ्यास गरिरहेका बेला बल उनको घुँडामा ठोकिएको थियो । बोर्डर-गावस्कर ट्रफीको चौथो खेल २६ डिसेम्बरबाट मेलबर्नमा भारत र अष्ट्रेलियाबीचको बक्सिङ डे टेस्टको चार दिनअघि रोहित घाइते हुनु भारतका लागि चिन्ताको विषय बनेको छ ।
भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टेष्ट शृंखला अहिले १–१ को बराबरीमा छ । भारतीय टोलीको नजर अर्को टेस्ट म्याच जितेर शृङ्खलामा अग्रता बनाउने लक्ष्यमा हुनेछ । रोहितअघि भारतीय टोलीका ब्याट्सम्यान केएल राहुल पनि अभ्यासका क्रममा घाइते भएका थिए । राहुलको हातमा चोट लागेको बताइएको छ ।
रोहित यस सिरिजमा पुन: फर्म ल्याउन संघर्ष गरिरहेका छन् । रोहितको चोट कति गम्भिर छ भन्ने अझै स्पष्ट भएको छैन भने राहुलको चोटको बारेमा कुनै जानकारी दिइएको छैन । राहुलले हालको अस्ट्रेलिया टूरमा ६ इनिङ्समा ४७ को प्रभावशाली औसतमा २३५ रन बनाएका छन् ।
भारतीय टिमका फास्ट बलर आकाश दीपले रोहित र राहुलको चोटको चिन्ताजनक नभएको बताएका छन् ।