पोखरा । सहकारीको बचत अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित सातजनालाई भिन्नभिन्न मुद्दामा सजाय माग गर्दै सरकारी वकिलको बहस सकिएको छ । मंगलबारदेखि सरकारी वकिलको बहस सुरु भएको थियो । थुनछेक बहसमा सुरुमा सरकारी वकिलहरूले बहस गरेका हुन् ।
बुधबार सरकारी वकिलको कार्यालय कास्की र मुख्यन्यायधिवक्ताको कार्यालयबाट आएका सरकारी वकिलहरूले बहस गरेका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिन न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपीनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । मंगलबार भने सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । बहसका क्रममा उनीहरूले अभियोगपत्रमा दायर भएअनुसार नै कारबाही हुनुपर्ने बताएका थिए ।
सरकारी वकिलको बहस सकिएसँगै अब बिहीबार जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन् । जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायी पराजुली लगायतले बहस गरेपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्नेछन् ।
लामिछानेलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा कारबाही हुनुपर्ने र बिगो समेत भराउनुपर्ने भन्दै गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दायर गरेको थियो ।
सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।