• २०८१ पौष २२ सोमबार

फुट्यो ज्योति समूह

kharibot

काठमाडौँ । नेपालको पुरानो व्यावसायिक घराना ज्योति समुह फुटेको छ । ज्योति समूहबाट पद्म ज्योति समूह अलग भएको हो ।   

ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका पद्म ज्योतिले आइतबार पद्म ज्योति समूह घोषणा गरेका हुन् । पद्म ज्योतिले आफ्नो समूहको लोगो सार्वजनिक गर्दै नयाँ औद्योगिक समूह सञ्चालनमा आएको घोषणा पनि गरेका छन् ।  

घोषणापछि विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको दाबी गर्दै उक्त समूहले धेरै बाधा र चुनौतीहरू पार गरेता पनि आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

ज्योति समूहबाट पद्मज्योति समूहमा भएको परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा प्रतिबद्ध रहेको देखाउने उनको भनाइ छ । नयाँ घोषणासँगै पद्मा ज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरू सँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू ल्याएको जनाएको छ । 

आइतबार एक विज्ञप्ति निकालेर पद्मज्योति समूहले भनेको छ, 'हामी अगाडि बढिरहँदा, विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गर्नु भएको उच्चगुणस्तर कायम राख्न प्रतिबद्ध छौं ।

हाम्रा दूरदर्शी लिडरहरू पद्म ज्योति, सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योतिको मार्गदर्शनमा हामी यो नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित छौं।' 

समूहको अध्यक्षमा पद्म ज्योति छन् भने मीरा ज्योति संस्थापक सदस्य तथा सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्। यसअघि मुख्य सदस्य रहेका पद्म ज्योति र रूप ज्योतिबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । उनीहरूले बुवा मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको ज्योति समूहबाटै संयुक्तरुपमा कारोबार सञ्चालन गर्दै आएका थिए ।  

नयाँ समूह घोषणा गर्दै अध्यक्ष पद्म ज्योतिले बावुले खोलेको समूहलाई नै आफूले निरन्तरता दिएको दाबी गर्दै सोही विरासतलाई कायम राख्न नयाँ अध्याय सुरू गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै