• २०८१ कार्तिक ८ बिहीबार

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

kharibot

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ बाट विहिबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ घर भई भक्तपुरको गठ्ठाघर बस्ने २३ वर्षीय समिर काफ्ले रहेका छन् । 

काठमाडौँको बाँसबारी स्थित गंगालाल अस्पताल नजिकबाट मोटरसाइकल खरिद गर्ने वहानामा टेष्ट ड्राइभका लागि बा ९५ प २१४ नम्बरको मोटरसाइकल लिएर काफ्ले गत असोज ११ गते फरार भएका थिए । काठमाडौँको बुढालिकण्ठ नगरपालिका १३ का अभिषेक श्रेष्ठले उक्त मोटरसाइकल खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा नम्बर परिवर्तन गरी बा ९८ प ६६६२ नम्बर राखेर चलाएको अवस्थामा काफ्ले आज भक्तपुरमा भेटिएका हुन् ।

आवश्यक अनुसन्धानका लागि काफ्लेलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै