• २०८१ पौष २१ आइतबार

इमरान खानलाई थप १४ बर्षको जेल सजाय

kharibot

इस्लामावाद । पाकिस्तानमा फेब्रुअरी ८ मा हुन लागेको आम निर्वाचनको ८ दिनअघि पूर्व प्रधानमन्त्री इमरान खानलाई दोस्रो पटक सजाय सुनाइएको छ । खान र उनकी पत्नी बुशरा बीबीलाई तोशखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

यसपछि खानले १० वर्षसम्म कुनै पनि सरकारी पदमा बस्न पाउँदैनन् । निर्णय अनुसार दुवैलाई करिब २३ करोड ३७ लाखको जरिवाना समेत लगाइएको छ । यसअघि हिजो अर्थात मंगलबार रावलपिण्डीको विशेष अदालतले गोप्य चिठी चोरीको मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।

उनीसँगै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि सजाय सुनाइएको छ । खानलाई २ दिनमा २४ वर्षको जेल सजाय सुनाइएको छ ।

गत महिना मात्रै पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले इमरान खान र बुशरा बीबीविरुद्ध तोशाखानासँग सम्बन्धित मुद्दा दर्ता गरेको थियो । जसमा उनीहरु दुबैले साउदी युवराजबाट उपहार स्वरुप पाएको हार बेचेको आरोप लगाइएको थियो । यो सुनुवाई गर्दै उत्तरदायित्व अदालतले बुधबार सजाय सुनाएको हो ।

पाकिस्तानी पत्रकार आलिया शाहका अनुसार पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपति वा अन्य पदमा रहेका व्यक्तिहरूले प्राप्त गरेको उपहारको जानकारी नेशनल अर्काइभ्सलाई दिनुपर्ने हुन्छ । ती तोशखानामा जम्मा गर्नुपर्छ । यदि उपहार १० हजार पाकिस्तानी रुपैयाँको भएमा सम्बन्धित व्यक्तिले कुनै पनि पैसा नदिई राख्न सक्नेछ ।

प्रधानमन्त्री हुँदा खानले साउदी युवराजबाट हिराको हार उपहार स्वरुप पाएका थिए । यसको मूल्य १८ करोड पाकिस्तानी रुपैयाँ थियो, यो लाहोरका एक प्रसिद्ध जौहरीलाई बेचेका थिए । इमरानकी श्रीमती बुशरा बीबीले यो हार एक मन्त्री जुल्फी बुखारीमार्फत बेचेकी थिइन् ।

तोशाखाना (कोषागार) को नियम अनुसार इमरानले यो हार जम्मा गर्नुपर्थ्यो । तर बुशराले त्यसो गर्न अस्वीकार गरिन् । यस केसको अनुसन्धान सन् २०२२ मा सुरु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै