नाम : राजकुमार शर्मा (आर्ट)
जन्म मिती : २०२८ साल भदौ १८ गते
जन्म स्थान : चौरजहारी नगरपालिका—१४ साक्चा, नुवाँकोट (साविक नुवाँकोट गाविस)
बुबाको नाम : टिकाराम शर्मा
आमाको नाम :
पत्निको नाम : प्रतिभा के.सी.
सन्तान : छोरी १
शैक्षिक योज्ञता : कक्षा १०
निर्वाचन प्रक्रिया : प्रत्यक्ष, रुकुम पश्चिम, प्रदेश सभा (ख)
दलीय संलग्नता : नेकपा (माओवादी केन्द्र)
राजनीतिमा आबद्धता : ०४१ साल, ०५० साल देखि ग्रामीण वर्गसंघर्षको थालनीकर्ताका रूपमा पुर्णकालिन कार्यकर्ता भएर जनयुद्धमा सामेल
राजनीतिक यात्रा
२०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा संलग्न हुनुभएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र संघर्षशिल छ । सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्थे, शर्मा ।
०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनि त्यसपछि जहानियाँ राजतन्त्रको विरोध, जनयुद्दको तयारीका क्रममा ५०/५१ सालमा रूकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको थालनीकर्ता हुदै जनयुद्धमा पुर्णकालीन कार्यकर्ता भएर राजनीतिमा उदाएका हुन् ।
०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएका उनि ०४६ सालमा मोटो मशालको पार्टी सदस्यता प्राप्त गरे । त्यसपछि उनि ०४७ सालदेखि पुर्णकालिन रुपमा राजनीतिमा होमिए ।
०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसाल गरि नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भयो र खुला मोर्चाका रूपमा बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधि गरिएको थियो । त्यो बेलामा शर्माको अगुवाईमा जनसेवा तथा जनपरिचालन मार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकता बारेमा जनजागरण, स्थानीय जालीफटाहा विरोधी जनसंघर्षका थुप्रै कामहरु भएका थिए ।
०५० सालमा महतको फुलबारी जङगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपुर्ण भूमिका रह्यो । महतको फुलबारी जंगल कुनै समय निकै चर्चित थियो । जनयुद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिदै जनयुद्ध पुर्व नै पुर्णकालिन राजनीतिमा होमिनुभएका शर्माले ०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कव्जा गर्न नेतृत्वदायी भूमिका खेले ।
०५३ पुषमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागि शर्माका लागि उक्त लडाई विशेष स्मरणीय रहेको छ । एउटा एसल्ट टिम (आक्रमणमा सहभागी मुख्य लडाकु टिम) को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण पनी विशेष स्मरणीय रहेको थियो ।
जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गरे । सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला ईन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरे ।
जहाँ अफ्ठ्यारो परिस्थिति श्रृजना हुन्छ त्यहीको क्षेत्रको लागि खटाइने गरिएका राजकुमार शर्मालाई ०६१ सालमा दैलेखमा खटाईयो, जतिबेला दैलेखमा माओवादी विरूद्ध प्रतिकार अभियान चलाईएको थियो । शान्ति प्रक्रिया सम्म दैलेखको नेतृत्व गर्नुभएका शर्मा शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख भएर काम गरे ।
‘जहाँ टेक्यो त्यही उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले ०६७ सालपछि नेवा राज्यमा रहेर काम गर्नुभयो भने माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव उनिसँग छ । गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष समेत भइसकेका उनि ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् ।
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिकको इञ्चार्जको भूमिका निर्वाह गरिसक्नुभएका उनि पोलिटब्यूरो सदस्य हुँदै ०७८ मा पार्टीको कर्णाली प्रदेश अध्यक्ष भए । शर्मा अहिले पार्टीको पोलिटब्यूरो सदस्य छन् ।
आफुले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमि भएका थुप्रै सहकर्मीहरूले राज्य संचालनका थुप्रै अवसर प्राप्त गर्दा पनि अहिलेसम्म अवसर र सुविधाका पदधारण नगरेका शर्माले पहिलो पटक संसदीय राजनीतिको यात्रामा प्रवेश गरेका हुन् । राज्यसत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिंगै कर्णालीलाई पैदलै चहारेका शर्माको कर्णालीका दुरदराजका जनताका मुहारमा खुशी र सम्पन्नता ल्याउने अठोट रहेको छ ।