• २०८१ बैशाख १७ सोमबार

महाभारतको नालीबेली

kharibot

लेखक: विपुल सिजापति

भाषाको विकाससँगै लोकगीत र कथाको पनि विकास भयो । कथाका प्रारूप भनेको पुर्खाको विगत र आफ्नो आत्मबृतान्त स्मरण परिवारका साना सदस्यलाई सुनाउने क्रम नै थियो भने त्यसमा पछि इतिहासका अन्य कुराहरू पनि गाभिन पुग्यो । काव्य लेखिनु अगाडि नै यस्ता प्रशस्त साम्रगीहरू जम्मा भइसकेका थिए जसको आधारमा यिनैलाई काँटछाँट गरेर रामायण महाभारत जस्ता काव्यहरू ऋजना भए ।

आचख्युः कवयः केचित् सम्प्रत्याचक्षतेsपरे
आख्यास्यन्ति तथैवान्ये इतिहासमिमं भुवि ।

यस्ता इतिहासलाई केही कविहरूले यस जगतमा धेरै पहिले पनि भनी सकेका छन्, केहीले अहिले भन्दैछन् र केहीले पछि पनि भन्नेछन् ।

आदिम पुराणका तत्त्वहरू भनेको अनुलोम सृष्टि, प्रतिलोम सृष्टि, ऋषिवंशहरू, मन्वन्तरहरू र राजवंशहरूको वर्णन हुन् । यी मध्ये पनि पहिलो तीन प्राय कल्पनामा आश्रित छन् भने वंश र वंशको इतिहास महत्त्वपूर्ण छन् । महाभारत पनि पुराणकै प्रकारको ग्रन्थ हो । उपदेश, अवतार, पूजा विधि, उपाख्यानहरू, पर्व तथा तिर्थव्रतहरू आदिम पुराणका अङ्ग होइनन् ।   

सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि च
वंशानुचरितं चैव पुरार्ण पश्चलक्षणम् ।

अहिलेको महाभारत मूल महाभारतको विस्तृत रूप हो । यसमा ती सबै कुराहरू समावेश भएका छन् जुन आदिम पुराणका अङ्ग या तत्त्व थिएनन् । वस्तुतः महाभारत उपदेशात्मक ग्रन्थ नभएर एक ऐतिहासिक ग्रन्थ हो । यसैले अहिलेको महाभारतलाई प्रक्षिप्त मानिन्छ । विद्वानहरूको बिचारमा महाभारतका मूल रचयिता व्यासले यसलाई "जय" नाम दिएका थिए, "जयो नामेतिहासोsयम् ।"

"नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम्

देवीं सरस्वतीञ्चैव ततो जयमुदीरयेत्," श्लोकले पनि यो जय संहिता नै भएको अझ पुष्टि गर्दछ । मैकडोनल्डका अनुसार जय संहितामा पनि ८८०० श्लोकभन्दा बढी नै श्लोक थिए । महाभारतको विकाशमा तीन विशिष्ट काल देखिन्छ । व्यासले प्रथम कालमा महाभारत वैश्यम्पायनलाई पढाए । व्यासले पढाएको ग्रन्थ सम्भवतः परिचर उपाख्यानबाट प्रारम्भ हुने ग्रन्थ थियो । दोस्रो कालमा वैशम्पायनले यही ग्रन्थ सर्प सत्रमा जन्मेजयलाई सुनाए । यति बेलासम्म महाभारतमा २४००० श्लोक पुगिसकेको थियो जसको प्रारम्भ आस्तिक उपाख्यानबाट प्रारम्भ हुन्थ्यो । तेस्रो कालमा सौतीले शौनकलाई यही महाभारत सुनाए । महाभारतको एक लाख श्लोक सम्भवतः यसै कालमा पुरा भयो । आदि पर्वको एक श्लोकले यतै सङ्केत गर्दछ ।

मन्वादि भारतं केचिदस्तिकादि तथापरे
तथा परिचराद्यन्ये विप्राः सम्यगधीयते ।

जय संहिता रचना काल

प्राचीन फारस (हालको इरान)को सातिर नामक धर्मग्रन्थ र जेन्द अवेस्ताका प्रवर्तक जरथ्रुष्टिको जीवन काललाई आधार मान्ने हो भने व्यास ऋषि पनि ६६० ई.पू. हाराहारीका देखिन आउँछन् । ई.पू. ३३० मा अलेकजेण्डरले विश्व विजय अभियानका क्रममा फारसमा पनि आक्रमण गरे र त्यहाँको अखमनी साम्राज्यलाई ध्वस्त पारे । यसको साथसाथै वेद समकक्षी प्राचीन अवेस्ता धर्मको धर्मग्रन्थ पनि लगभग नष्ट हुन पुग्यो । यस धर्मको नवीन प्रवर्तकका रूपमा पोरोस्पि र दुगदोवाका पुत्र जरथ्रुष्ट या जोरास्टरलाई मानिन्छ, जसको पारिवारिक नमा स्पितमा थियो । यिनै जरथ्रुष्टले फारसका मानिसहरूसँग भएको प्राचीन अवेस्ताका बचेखुचेका पुस्तकहरू र मानिसहरूका आ–आफ्ना स्मृतिलाई सङ्ग्रह गरेका थिए ।

सातिर धर्मग्रन्थमा उल्लेख भएका केही कुराहरूले व्यासको जीवनकाल र जरथ्रुष्टको जीवनकाल एकै अर्थात् ईं.पू. ६६० तिरको नै हुन आउँछ । सातिरमा उल्लेख भएको यो वाक्य “अकनूं बिरहमने व्यास नाम अज हिन्द आमदबस दाना कि अकल चुना नस्त“ ( हिन्दबाट आएका व्यास नामक एक ब्राम्हण बराबर अकलमन्द अरू छैन )

“चूं व्यास हिन्दी बलख आमद, गश्ताशप जरदश्त राव ख्वान्द“ (जब हिन्दबाट व्यास आए तब इरानका बादशाह गश्तासपले जरदश्तलाई बोलाए) । यहाँ जरदश्त भन्नाले जरथ्रुष्ट नै बुझिन्छ ।

सातिरमै व्यासको बचन पनि लेखिएको छ, “मन मरदे श्रम हिन्द निजाद“ (म हिन्दमा जन्मेको एक पुरुष हुँ ।) र अन्त्यमा, “व हिन्द वाज गश्त“ ( फेरि ऊ हिन्दतिर फर्कियो) भनेर लेखिएको छ ।

यस तथ्यका आधारमा हेर्दा व्यास ऋषिको जीवनकाल ६६० ई.पूं मात्र देखिन आउँछ र यदि ऋषि कृष्णद्वैपायन अर्थात् वेदव्यासले नै महाभारतको रचना गरेको भए रचना काल पनि त्यसैको हाराहारीमा देखिन जान्छ । महाभारतमा उल्लेख भएका सप्तसिन्धु बाहेकका स्थानहरू, जातिहरू आदिको महाभारतमा वर्णन भएको आधारमा व्यासले फारसको भ्रमण गरको मान्न सकिन्छ ।

मूलरुपमा जय संहितालाई इतिहास पुराण या आख्यानको श्रेणीमा नै राखिने गरिन्थ्यो । जय संहिताबाट भारत र महाभारत भएको यस ग्रन्थमा पछि ऐतिहासिक अंशभन्दा औपदेशिक अंश चार गुनाले बढोत्तरी भएको छ । महाभारतमा प्रक्षिप्त श्लोकहरू श्लोकहरू, उपाख्यानहरूको बढोत्तरीले यस काव्यलाई बृहत् बनाइ दियो । यो बढोत्तरी महाभारतमा धर्म अर्थ काम र मोक्ष चार पदार्थहरू प्रदान गर्न गरिएकोले यसलाई पञ्च वेद पनि भनिन्छ । व्यासले छ पुराण लेखेपश्चात् जय संहिता लेखेको मानिन्छ । महाभारत पुराणपछि लेखिएको मान्ने हो भने त्यो काल वैष्णव र शैव मतको विकास भइसकेको अवस्था थियो । सम्पूर्ण महाभारत कथाहरूमा वेदका प्राचीन देव इन्द्र, वरुण, नासत्य अग्नि आदिलाई मानवीकरण गरिएको, यिनका तुलनामा विष्णु शिव र कृष्ण प्रमुख देवताका रूपमा अगाडि आएका छन् । अझ यसमा वैष्णव सिद्धान्तको प्रचुरता थपिएकोले यसलाई कृष्ण वेद या वैष्णव स्मृति पनि भनिन्छ । महाभारत पढ्दा यसमा समावेश भएका शिवसँग जोडिएका कथाहरू मानको लागि स्थान दिइएका या शैवमार्गिहरुले प्रक्षेप गरेका हुन् कि भन्ने पनि आभास हुन्छ ।

जय संहिता पर्व र अध्यायमा विभक्त थियो, वैशम्पायनले पनि यस क्रमलाई स्थिर राखेता पनि भारतमा सय पर्व थियो भनिन्छ । सौतिले नै यसलाई १८ पर्वमा बाँधे । महाभारतको सभा पर्व भित्र नै अर्को सानो सभा पर्व पनि भएकोले व्यास या वैशम्पायनको भारतका १०० पर्वलाई क्रममा मिलाउने कम्तीमा दुई जना थिए भन्ने कुरा बुझिन्छ ।  जय संहितामा उपाख्यान थप्ने कार्य निश्चय नै वैशम्पायन र त्यसपछि भने सौतिले गरेको प्रस्ट हुन्छ । विश्व इतिहासलाई नियाल्दा जय संहिताको विस्तृत रूप महाभारत इ.पू. ३०० अगाडि नै सम्पूर्ण भइसकेको देखिन्छ । यसपछिका सन्दर्भमा भने यवन (ग्रीक) हरूको सन्दर्भ बारम्बार आएको छ, ती भने इसापछिका प्रक्षिप्त भाग नै हुन् ।

महाभारतका प्रक्षिप्त भाग

महाभारतलाई विशाल बनाउने कार्य सौतिले (त्यसपछि छुटपुट अन्यले पनि) गरेको देखिन्छ । उनले उपाख्यान थप्ने क्रममा वनपर्वमा रामोपख्यान, नल दमयन्तीको कथा सावित्री सत्यवानको कथा शकुन्तला, गंगाअवतरण, जलप्लावनको कथा, उशीनरको कथा, शिविको कथा, वृषदर्भको कथा आदि थपेका देखिन्छ । महाभारत कथामा सौतिले कथाको पुनरुक्ति, उपाख्यान, दृश्य वर्णन, परिस्थितिहरूको व्याख्या, घटनाको भविष्यवाणी र काव्य अलङ्कारको प्रयोग गरेर यसलाई विशाल धर्मशास्त्र भण्डार बनाउने प्रयास गरेको देखिन्छ । तथापि प्रक्षिप्त भागहरू भने टड्कारै देखिने गरेको छ ।

हरिवंश पुराण निश्चय नै इसा पछिको पुराण हो, यसमा रोमन शब्द दिनार प्रयोग भएको छ र महाभारतको आदि पर्वको प्रथम भाग र अन्तिम पर्वमा हरिवश पुराणको अंश मिल्ने भएकोले ती भागहरू प्रक्षिप्त र इसापछिका नै हुन् । महाभारतमा शान्ति पर्व पछि जोडिएको पर्व हो र यो पर्व भीष्मको मुखबाट भनाइएको छ । शान्ति पर्व अगाडिको पर्वमा नै "हतो भीष्मः" र "त्याजितः समरे प्राणान्" वाक्यले भीष्म शान्ति पर्व अगाडि जीवित थिएनन् भन्ने स्पष्ट हुन्छ । यसै गरेर महाभारतमा गाभिएको यक्ष प्रश्न उपाख्यान नहुप उपाख्यानको नक्कल हो ।

महाभारतमा अतिशयोक्तिपूर्ण वर्णन पनि छन् । भीष्मको मृत्यु कसरी हुन्छ भनेर युधिष्ठिरले सोध्नु, भीमले दुःशासनको रगत पिउनु, कैयौँ अवसरमा व्यास स्वयं प्रकट हुनु आदि अतिशयोक्ति नै हुन् । ,

हरिवंश पुराण निश्चय नै इसा पछिको पुराण हो, यसमा रोमन शब्द दिनार प्रयोग भएको छ र महाभारतको आदि पर्वको प्रथम भाग र अन्तिम पर्वमा हरिवश पुराणको अंश मिल्ने भएकोले ती भागहरू प्रक्षिप्त र इसापछिका नै हुन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै