• २०८१ बैशाख १५ शनिबार

रुद्र देखि शिवसम्म

kharibot

लेखक: विपुल सिजापति

ई.पूं. सातौँ शताब्दी अगाडि नै इरानबाट प्राग-वैदिक संस्कृत भाषीहरूको एक समूह छुट्टिएर प्राग–संस्कृत भाषा (जो अवेस्तामा समेत प्रयोग भएको छ) र काव्य बोकेर अफगानिस्तानमा झरिसकेका थिए । सातौँ शताव्दिको आधाआधीमै इरानमा जर्थुस्त्रले अवेस्तन धर्मको उदय र प्रचार गरिरहेका थिए, यता वैदिक जनहरू भने सप्तसिन्धुतिर बढ्दै थिए । ई.पूं. छैठौँ शताब्दीको उत्तरार्ध काल धर्म सम्बन्धी दार्शनिक चिन्तनका कारण महत्त्वपूर्ण छ । यति बेला वैदिक जनहरू सप्तसिन्धुमा आएर स्थापित भइसकेका थिए । यसै बेला स्थापित वैदिक जनहरूमा दुई मत सुरु भयो, श्रमण धारा र ब्राह्मण धारा । सप्तसिन्धुमा शिस्न पूजक या लिङ्ग पूजकहरूको (व्रातहरूको) सम्पर्कमा आएका वैदिक जनहरूको उनीहरूसँग घुलमिल र रक्त समिश्रण भइसकेको हुँदा यति बेला जन साधारणमा धार्मिक आचार बिचारमा एक नयाँ परिपाटि, भक्तिवादको सुरुवात भइसकेको थियो । ब्राह्मणहरूको यज्ञ, होम, उपासना र कर्मकाण्डबाट कुनै आशातीत उपलब्धि नदेखेका श्रमण धाराका विचारकहरू प्राचीन बहुदेव वादलाई अस्वीकार गर्दै एकेश्वरवादको चिन्तन, परब्रह्मको दर्शन र स्थापनाका लागि प्रयाशरत् थिए । ब्राह्मणवादकै कारण यति वेला वैदिक देवताहरूको अवनति र श्रीहीन भएर गएको थियो र वैदिक देवताहरू मध्ये केवल दुई देवताहरू विष्णु र रुद्रको प्रतिष्ठा र महत्त्व यति बेला बढेको थियो । र यति नै बेला अनात्मवाद विचारधाराका बुद्ध आफ्नो मतको प्रचार गर्दै थिए भने वैदिक जनहरू पनि तीन तिर विभक्त थिए, श्मरण, ब्राह्मण र व्रात । यसमा पनि रक्त समिश्रण र नूतन धर्मप्रति आस्थाका कारण रुद्र या लिङ्ग उपासनाको प्रभाव बढ्दै जान थालेको थियो । यसै मेसोमा एकेश्वरवाद, परब्रह्म र मोक्षको अवधारणलाई लिएर उपनिषदहरू लेखिन थालिए, जसमध्ये रुद्र पनि उपनिषद मध्येका प्रमुख देव हुन गए ।

वैदिक देवताहरूलाई मूलतः तीन वर्गमा विभाजित गरिएको छ, आकाशस्य (आकाशका या पितृ भएका) जस्तो: वरुण, मित्र, चन्द्रमा सूर्य सविता, अन्तरिक्षस्य (God of mid-airआकाश  भन्दा मुनिका र पृथ्वी भन्दा माथिका) जस्तो इन्द्र, मरुत, वायु, र पृथ्वीस्य (धरतीका) जस्तो सोम, पृथ्वी, सरस्वती, अग्नि । ऋग्वेदमा विष्णु र कपर्दी रुद्र गौण छन् । विष्णु र रुद्रलाई ऋग्वेदमा गणपति या सेनापतिको रूपमा उभ्याइएको छ । ऋग्वेदमा जहाँ रुद्र अन्तरिक्षस्य देवता देखिन्छन् त्यहीँ विष्णु भने पृथ्वीस्य देवताका रूपमा छन् । विष्णुले जब यज्ञ भाग एकलौटी गर्ने चेष्टा गरे तब त्यसलाई तीन भाग लगाएर इन्द्र, विश्वदेव र अग्निले बाँडेर लिए । यज्ञ एकलौटी गर्न खोजेको र इन्द्रले यज्ञ भाग विष्णुलाई नदिएर विश्वदेव, अग्नि र आफूले तीन भाग लगाएर बाँडेको आधारमा विष्णु वेतनधारी योद्धा देखिन्छन् । यसै गरेर रुद्र पनि इन्द्रका सहायकका रूपमा देखिन्छन् । वाल्मीकि रामायणमा रुद्रलाई “इन्द्रको साथी, शिव तथा शिव पुत्रको सेवक र यमको मित्र” भनिएको छ । रामायण अनुसार रुद्र र शिव दुई फरक अस्तित्वका र रुद्र शिवका सेवकका रूपमा देखिन्छन् । अर्थात्, रुद्र शिवका सेना नायक थिए जसले इन्द्रलाई सहयोग गरेकाले यिनलाई इन्द्रको साथी भनियो । रामायणमा यसो भनिनुको पछाडि सायद ऋग्वेदको उत्तर भागको एक सूक्तमा रुद्रले “केशी” को साथ विष पान गरेको उल्लेखलाई लिएर केशीलाई प्रमुख र रुद्रलाई सहायक मानिएको पनि हुन सक्दछ । ऋग्वेदको यो सूक्त त्यति स्पष्ट छैन । केशीको अर्थ जटाधारी हो, रुद्र पनि जटाधारी नै हुन् तर यो सूक्तले केशीसँग रुद्रको सम्बन्ध पनि देखाउँछ र केशी नै शिवको सुप्त रूपको सूत्र हो कि भन्ने पनि अनुमान लगाउन सकिन्छ । यही विष पान सूक्त नै पछि पुराणमा शिवले हलाहल विष पिएर नीलकण्ठ भएको कथाको सूत्र हुन पुगेको छ । तथापि, रामायणको यो कुरा अपत्यारिलो लाग्दछ । अथर्व वेदमा रुद्रको अर्को नाम “शर्व” र शतरुद्रिय स्त्रोत्रमा दिइएको “शिव” र “शर्व” नाम नै पछि गएर शिवको रूपमा व्याप्त भएको देखिन्छ । यसैले रामायण कालमा रुद्रको बृहत् व्याख्या भएर पनि शिव नाम उच्चारण हुन थालिसकेको हुँदा (रामले रामेश्वरको स्थापना गर्नु) रुद्र शिवका सेवक मानिनु शङ्कास्पद देखिन्छ । यहाँ शिव प्रमुख देवताका रूपमा उदय भइसकेकोले रुद्रलाई गौण बनाउन पनि लेखिएको हुनसक्छ । तथापि, रुद्रले आफूलाई “शिव तथा शिवका सन्तानको सेवक” भनिएबाट रुद्र पनि शिवका प्रतिनिधि योद्धा मात्र हुन् भन्ने भान हुन्छ । यस आधारमा रुद्रले सङ्केत गरेको शिव के अनार्य वरुणोपाशकका देवता हुन् ? या शिव किराँतहरूको सि मे हुन ? ऋग्वेदमा रुद्रको रूप वर्णन, वासस्थानको वर्णन, गणका सहचरहरूको स्वरूपको बयानले रुद्र या रुद्र पती शिव या “सि मे” कतै एकै हुन् सक्ने या रुद्रको सि मे सँगको सम्बन्धको चर्चा तल गरिनेछ ।

हिन्दु धर्ममा शैव मतमा विभिन्न प्रकारको धार्मिक मान्यताहरू भएका कारण यसको स्वरूप अति नै बल्झिएको छ । शैव मतमा शैव सिद्धान्त, कापालिक कर्म, योग, ध्यान साधना, तन्त्र, नृत्य, वादन, जादु र तपस्याको पनि समिश्रण भएको छ, यिनका बिचका परस्पर सम्बन्ध खुट्टाउन या भन्न कठिन छ । उत्तर वैदिक कालपछि शैव मत स्थापित भएता पनि रुद्र या शिव सम्बन्धी ठोस श्रोत वेद या वैदिक साहित्यमा छैन, यसैले शैव मतको उत्पत्ति र विकासको ऐतिहासिक विवरण दिन कठिन छ । एन्थोपोलोजिकल रिलिजनमा म्याक्स मूलर लेख्दछन्, “दुर्गा र शिवको कल्पनामा अवैदिक भावना स्पष्ट रूपमा पाइन्छ, यसैले दुर्गा र शिवको लागि वेद अन्यत्रका श्रोतहरू हेर्नु आवश्यक छ र मलाई के विश्वास छ भने दुर्गा र शिव न त वैदिक देवता हुन्, न यिनको विकास कुनै वैदिक देवताको कल्पनाबाट भएको छ ।” शिव मतको आजको रूपमा अनेक अंशहरू विभिन्न श्रोतबाट उत्पत्ति भएको देखिन्छ । स्वयं शिवको विभिन्न रूपमा उपासना गर्ने गरिन्छ भने शिवसँग जोडिएकी देवीको रूपहरूको वर्णन पनि अवैदिक देखिन्छ । सबैभन्दा प्रमुख कुरा त शैव मतसँग जोडिएको लिङ्ग पूजाको कुनै चिन्ह, सङ्केत या सूक्त शिवको आदि रूप मानिएको वैदिक रुद्रमा पाइँदैन । अर्थात्, वेद पूर्वका विभिन्न अवैदिक जनहरूको स्वतन्त्र मत, परम्परा, उपासना, योग र ध्यान आदि प्रक्रियाहरूको संश्लेषण नै शैव मत भएको देखिन्छ ।

रुद्रको स्वरूप

ऋग्वेदमा रुद्रका जम्मा तीन पूर्ण सूक्तहरू मात्र छन्, यसको अतिरिक्त अन्य सूक्तमा पहिलो ६ मन्त्र रुद्रको स्तुतिमा छन् र अन्तिम तीनमा सोमको स्तुति गरिएको छ । एक सूक्तमा सोमसँगै रुद्रको पनि स्तुति गरिएको छ भने अन्य देवहरूको स्तुतिमा पनि रुद्रको उल्लेख गरिएको छ । रुद्र नामको शाब्दिक अर्थ, मरुतहरूको साथ रुद्रको समागमन, ब्रभु (खरानी) वर्ण र सामान्यतः उनको क्रूर स्वरूपका आधारमा यिनी चट्याङ्गका देवताका प्रतीक देखिन्छन् । अझ रुद्र र अग्निको साम्य वर्णनका आधारमा रुद्र विनाशकारी चट्याङ्गका प्रतीक देखिन्छन् । रुद्रको घातक वाण र उनको साथमा भएका “केशी” (जटाधारी) हरूको उल्लेखका आधारमा यिनलाई मृत्युका देवता पनि मान्न सकिन्छ । उत्तर कालिन वैदिक धर्ममा रुद्रको उपासना गर्दा गरिने केही रीतिहरूको आधारमा रुद्रलाई ब्राह्मणहरूद्वारा परिष्कृत गरिएको एक प्राचीन मानव भक्षी असुरको रूप पनि भन्न सकिन्छ । रुद्रका स्वरूपको विभिन्न वर्णनहरू छरिएर रहेका छन्, रुद्र कतै ब्रभु रङ्गका त कतै सुवर्ण रङ्गका भनिएका छन्, रुद्र कतै भयावह (उपहन्तु) र मृत्युका प्रतीक देखिन्छन् त कतै सौम्य पनि छन्, कतै मनुष्य र पशुको संहारक छन् त कतै कल्याणकारी र शक्ति तथा जीवनदायी (महाभिषक) पनि छन्, केही मन्त्रमा रुद्रको अग्निसँग तादात्म्य देखिन्छ भने कतै रुद्र केशीयकसँग आमोद प्रमोद गरिरहेको पनि उल्लेख भएको छ । रुद्रलाई मरुतहरूको पिता पनि भनिएको छ, रुद्र मेघ झैँ गर्जिने, मनुष्य र पशुको संहार गर्ने धनु धारक, कपर्दिन (जटाधारी) दिवो–वराह (आकाशका बँदेल)। वृषभ (वर्षा गराउने), “मरुत्” अर्थात् “वायुदेव”, “गिरित्र” अर्थात् पहाडमा बस्ने र “गिरीश” अर्थात् पहाडका मालिक र अनार्य भनिएको छ । वैदिक देव कथाहरूमा चट्याङ्गका देवता पर्जन्य र मृत्युका देवता यमको पनि चर्चा पाइन्छ, यिनलाई हेर्दा रुद्रको स्वरूप यी दुवै देवभन्दा भिन्न हुन पनि सक्छ । रुद्रको शाब्दिक अर्थ, अन्य देवहरूसँगको सम्बन्ध, उनको वर्णन र क्रूर स्वरूप आदि परस्पर विरोधी छन् यसको आधारमा रुद्र यसै हुन् या कुनै कुराका प्रतीक हुन् भन्न सकिन्न । यी सबै स्वरूपको निचोडको आधारमा हेर्ने हो भने रुद्रका यी सबै स्वरूपको सन्तोषजनक ढङ्गले समाधान भने गर्दैनन् । ऋग्वेदका सूक्तहरूमा रुद्रलाई दिइएको विशेष उपाधिहरू “नृघ्न, क्षयद्वीर, कपर्दिन, दिवो–वराह, कल्पनीकिन्,” आदिको विश्लेषणले भने रुद्र घना बादलमा चम्कने बिद्युत् साथको गर्जन र वर्षाको प्रतीकका रूपमा लिन सकिन्छ । ऋग्वेदमा पाइने रुद्रको स्वरूप र स्तुतिका आधारबाट शिवको प्रारूप भने स्पष्ट हुँदैन । यसरी हेर्दा रुद्र ऋग्वेदमा मध्यम श्रेणिका अवैदिक देवता देखिन्छन् ।

रुद्रबाट शिव

अथर्ववेदमा रुद्रको पुरुष रूप परिष्कृत भएर अगाडि बढेको छ । प्रारम्भमा प्राकृतिक तत्त्वलाई लिएर गरिएको कल्पना अथर्ववेदमा बिर्सिन थालिएको छ । यहाँ रुद्रका अनुचर गणहरूको पनि चर्चा गरिएको छ, जुन पछि गएर दश रुद्रका रूपमा विकसित हुन पुगेका छन् । रुद्रलाई पृश्नी (पृथ्वी) बाट उत्पन्न मरुतहरूका पिता पनि भनिएको छ । प्रारम्भमा मरुतको कल्पना प्रकाशसँग सम्बद्ध रक्षकगणको रूपमा गरिएको थियो । अवेस्ताको “फ्रवशि” र ग्रिकको “जिनियाई”सँग मरुतको धेरै समानता भएको हुँदा यसलाई इन्डो–योरोपयिन कालको कल्पना भन्न सकिन्छ । जिनियाईको कल्पना सर्पधारी नवयुवक या केवल सर्पको रूपमा गरिएको थियो । मरुतलाई पनि “मर्य (मनुष्य), अहिभानु, अहिसुष्म। अहिमन्यु,” आदि भनिएको छ । ग्रिकको “तित्रोप्यातोरस” (Tropto Patoras) वैदिक “तृतपितर” हुन्, जसको मरुतसँगै उल्लेख भएको छ । अवेस्तन देवता अहुरमज्दको फ्रवशी परिचारक देवता भए झैँ वेदमा तृत पनि इन्द्रको परिचारक देवता भएका छन् । इन्द्र चट्याङ्गका देवता पनि हुन्, जसको वायुसँग सम्बन्ध छ । ऋग्वेदमा मरुतलाई स्पष्ट रूपमा पवनदेवको रूपमा कल्पना गरिएको छ । पछि यिनै मरुतलाई पृथ्वीमा सूर्यको ताप पर्नाले वायु उत्पन्न हुने हुँदा रुद्र पुत्र मानिन थालियो । यिनै ऋग्वैदिक कालिन मरुतहरू नै दश रुद्र हुन् । ऋग्वेदमा उल्लेख भएका रुद्र उच्च कोटीको देवता नभएर जन साधारणको आस्था भएका साधारण देवता थिए तर अथर्व वेदसम्म आइ पुग्दा यहाँ यिनै रुद्रलाई आफ्नो प्रत्यक्ष शक्तिको कारण, प्रकोप र आतङ्कको कारण उत्कर्षमा पुगेर महादेव को उपाधि दिइएको छ ।

अथर्व वेदमा एक ठुला देवता अन्तर्गत अन्य देवताहरू राखिदिने या गुण समानका साना स्वतन्त्र देवतालाई ठुला देवतामा विलय गरिदिने प्रक्रिया प्रारम्भ भएको देखिन्छ । यसै कारण अथर्व वेदमा रुद्रको सौम्य रूपलाई पुरुषीकरण गरेर उनको औषधी रोगनाशक, व्याधिनाशक, मानव तथा पशु संरक्षक आदिका रूपमा आह्वान गर्न थालिएको छ । अथर्व वेदमा रुद्रको पुरुषीकरण स्वरूपबाट नै अगाडि गएर शिवको स्वरूपको पूर्ण विकाश भएको छ । अथर्व वेदमा अस्पष्ट व्यक्तित्वका दुई स्वतन्त्र देवताहरू “भव र शर्व” रुद्रको महत्त्व बढी सकेपछि अथर्ववेदमै रुद्रका नै दुई नाम बनेका छन् ।

रुद्र व्रात सम्बन्ध 

अथर्व वेदको पन्ध्रौँ मण्डलमा रुद्रको व्रातसँग उल्लेख गरिएको छ ।  व्रात (या गण) (स्लाभिक शब्द ब्रात=भाइ) स्व:हितका लागि एकमुष्ट भएर समूह या गणमा बस्ने जनजातीय समाज थियो । व्रातहरू वैदिकहरू पूर्व नै सामाजिक विकासको उच्च चरणमा पुगिसकेका थिए जो खेती र व्यापार गर्न जान्दथे । सप्तसिन्धुबाट पूर्वमा रहने व्रातहरू जस्तै: झल्ल, चल्ल, लिच्छवी, नाथ, करण मल्ल, शक, खस, किराँत, यक्ष, किन्नर, गन्धर्व व्रात जातिमा गनिन्छन् । यी व्रातहरू पछि दक्षिणमा र त्यसपछि पश्चिम र उत्तरमा समेत गएका छन्, जो काम्बोज, दरद, यवन आदि भनिएका छन् । यी व्रातहरू निश्चय नै वैदिक थिएनन्, सम्भवतः यी महोनजोदडो, हडप्पा सभ्यतावासी थिए, यी वैदिकजनहरु भन्दा पहिले नै यता आएका आर्यहरू थिए, सिन्धु पूर्वका किराँतहरू थिए । ऋगवेद ३४÷८ मा व्रातहरूलाई "चौसर पासा" खेल्ने "सत्य वक्ता" भनिएको छ, चौसर पासा मोहनजोदडो हडप्पा सभ्यतामा पनि पाइएका छन् । यस सभ्यताका मानिसहरू कृषि र व्यापार गर्दथे, हडप्पा र मोहनजोदडो का साथै मेसोपोटामियामा उस्तै प्रकारका माटोमा कुँदिएका मोहरहरू र गहनाहरू पाइएकाले दुवै सभ्यता बिच व्यापार सम्बन्ध भएको देखिन्छ । व्यापारको लागि भाषाको जानकारी हुनुको पछाडि यी व्रातहरू पूर्व वैदिक आर्य हुनसक्ने अनुमान लगाउन सकिन्छ भने पूर्वमा किराँत र पूर्ववैदिक आर्यहरू समेत आएर बसिसकेको देखिन्छ । तथापि, यज्ञादिको अहमको कारण वैदिकजनहरू व्रातलाई घृणा भावले हेर्ने गर्दथे, सायद उनीहरूले आफ्ना पूर्वजहरू पनि व्रातमै रहने हुँदा र आफू पनि व्रात नै भएको कुरा बिर्सिसकेका थिए ।
 
अवेस्तनहरू व्रात हुन सक्ने धारणा

व्रातहरू अवेस्तनका हाँगा या इरानबाट वैदिक आर्यहरूभन्दा अगाडि नै आएका हुन् भन्ने कुरा झल्ल, चल्ल, लिच्छवी, नाथ, करण मल्ल, शक, खस आदिको इतिहासबाट पनि देखिन्छ । महाभारतमा यादव, कुकुर, भोज, अन्धक, र वृश्णि नामका पाँच गणराज्यको उल्लेख गरिएको छ भने रामायणमा राजा दशरथले रामलाई उत्तराधिकारी बनाउन “पौर जनपद”को सहमति लिएको उल्लेख छ । “जसको कूलमा पिता पितामह आदिले सुरा पान गरेनन् ती व्रात्य हुन् (मनुस्मृति १०/२३) ।” सुरा पानले देवताहरू सुर र सुरा त्याग गरेकाहरू व्रात असुर कहलाइए । यसबाट के स्पष्ट हुन्छ भने व्रातहरू सङ्कल्पपूर्वक निरन्तर व्रत पालना गर्ने समूह थियो, यी दास पनि थिएनन् र वैदिक पनि होइनन् । अवेस्तनहरू देव र यज्ञ विरोधी थिए भने पूर्व र मगधमा बस्ने व्रातहरू पनि ब्राह्मण विरोधी प्राग्वैदिक जनसमुदाय थिए । व्रातहरूको साधना योगमूलक थियो, ध्यान मूलक थियो र अहिंसामूलक आचार थियो । यिनीहरू पशु बलिको विरोध गर्दथे, द्रव्य यज्ञबाट अलग थिए । अग्नि पूजाको उदाहरण हेर्ने हो भने व्रातहरू अग्नि पूजक हुनाका कारण वरुणोपाशक (अवेस्तन) पनि देखिन्छन् जो वैदिक आर्य आउनु अगाडि नै इरानबाट आएका हुन सक्ने देखिन्छ । भृगु र अंगिरस प्राचीनतम पुरोहित वर्ग हुन् । भृगु वरुणका पुत्र हुन् र व्रातहरूलाई शतपथ ब्राह्मणमा “भृगुर्वेवारुणिः” भनिएको छ, वरुणको राजधानी शुसा (हाल इरान) हो । मित्र तथा वरुण वेद र अवेस्ता दुवैमा पूज्य देवहरू हुन् । व्रातहरूलाई राजाहरूबाट सम्मान र आतिथ्य प्राप्त थियो । व्रातहरूकै उपस्थिति र अनुमतिमा मात्र अग्नि पूजकहरूकहाँ अग्नि जलाउन सकिन्थ्यो । प्राचीन वैदिक तथा अवेस्तन देव मध्ये मिथ्र या मित्रलाई पहिले गोरुको बलि दिइन्थ्यो । अवेस्तामा बैलको बलिको निन्दा गरिएको हुँदा गोरुको बलि अवेस्ता भन्दा अगाडिको मूर्ति पूजकहरूको प्रथा देखिन्छ । हिन्दु र रोमन मिथक कथामा मित्र र गोरुको बलिको उल्लेख छ । हिन्दु कथामा मित्र “सोम” नामक देवताको बलि पूजामा अनिच्छाले भाग लिएका थिए, जसमा सेतो गोरु चन्द्रमाको आकारमा देखिन्छ भने र रोमन मिथक कथामा सूर्यले आफ्नो दूत रेवेनलाई मिथ्रकहाँ पठाएर गोरुको बलि दिने आदेश दिन लगाए, जसलाई मिथ्रले अनिच्छापूर्वक पालना गरे, बलि दिएको गोरु पछि चन्द्रमामा परिणत हुन्छ । यसले के देखाउँछ भने अवेस्तनहरूले बलि प्रथालाई निन्दा गरिनुको पछाडिको कारण यही मिथ्र कथा हो । रोमन राज्यमा इसाई धर्म अघिसम्म २५ डिसेम्बरको दिन मिथ्रको जन्मदिन मनाएर पूजा गर्ने गरिन्थ्यो जुन पछि गएर जिजसको जन्म दिवसमा परिणत भयो । मिथ्र र रोमन बलिदान कथाबाट संसारको श्रृष्टि भएको देखिन्छ जुन मधु -दानवको वधबाट पृथ्वी बनेको कथासँग मिल्दछ । वायु पुराणमा “असुरा ये तदा आसन् तेषां दायादबान्धवाः” अर्थात् असुर आर्यहरूका दायाद (दाजुभाइ) बन्धु हुन् भनिएको छ ।

सोम, मुंजवन्त पर्वत, असुरसँग रुद्र सम्बन्ध

वेद र अवेस्तामा समान रूपमा पूज्य सोमको स्थान मुंजवन्त पर्वत हो । मुंजवन्त पर्वत हालको गान्धार कम्बोजको सीमामा अवस्थित छ । हालको अनुसन्धानबाट सोम “इफेड्रा” नामक वनस्पति हुनसक्ने अनुमान गरिएको छ, जुन इरान र अफगानिस्तानको सुख्खा पहाडका साथै तुर्कमेनिस्तानको "तोगोलोक २१" नामको मन्दिर परिसरमा पनि पाइएको छ । पारसी अग्नि मन्दिरमा धार्मिक समारोहमा अझै सोमका टुक्रा र अनारको हाँगा कुटेर त्यसमा कुवाको पानी र बाख्राको दूध मिसाएर पिउने गरिन्छ । यजुर्वेदमा रुद्रलाई यही मुंजवन्त पर्वतमा धनुष सहित जाने कामना गरिएको छ, यसले रुद्र मुंजवन्त पर्वततिर बस्दथे भन्ने स्पष्ट हुन्छ । यस आधारमा सोम पाइने स्थान मुंजवन्त पर्वत र रुद्रको सिधा सम्बन्ध देखिएको हुँदा रुद्र व्रात असुर जातिका देव हुन भनेर भन्न सकिन्छ । व्रातलाई वेदमा विभिन्न नाम या उपाधि दिइएको छ, जस्तै: अगस्त्य (इन्द्रको स्थानमा मरुत या रुद्रका उपासक), अनिन्द्र (इन्द्र उपासनाका विरोधी या वरुणोपासक), अन्यव्रत (भिन्न आचार संहिता मान्ने), अपव्रत (आचार धर्म भ्रष्ट), अयज्ञ (यज्ञ नगर्ने), अस्नाता (अदीक्षित या गुह्य साधना गर्ने (तान्त्रिक), दिगम्बर (नग्न), धृतव्रत (अविचल ध्यान योग गर्ने), परावृक्त (पृश्नि मातर या धरतीलाई आमा मान्ने), वाररशन मुनि (वायुको नियन्त्रण गर्ने मुनि), मुमुझ (मोक्षको कामना गर्ने), यातुधन (जादु गर्ने), मायाचारी योगी (प्राण, अपान, व्यान र समान वायुका साधक), वृषवत (सुद्ध शाकाहारी) आदि ।

परस्कर गृह्य सूत्रमा उपनयन गर्दा दीक्षा लिने व्यक्तिलाई गायत्री मन्त्र सिकाइन्थ्यो जसलाई सवितृ पनि भनिन्छ । उपनयन संस्कार नगर्ने र सवितृ नगर्ने व्यक्ति व्रात कहलाइन्थे । तंड्य महाब्राह्मणको एक कथामा “जब देवताहरू स्वर्ग लोक तिर गए तब उनीहरूका केही आश्रित पृथ्वीमै रहे, जसलाई व्रात्य जीवन व्यतीत गर्नु पर्यो,” भनिएको छ । यस कथामा कताकति “जब देव जाति इरान र अफगानिस्तानको क्षेत्रबाट सप्तसिन्धुतिर जाँदै थिए, त्यति नै बेला एक समूह, जसलाई व्रात भनियो, अगाडि नै अलग भएर सप्तसिन्धुबाट पूर्वतिर गएका हुन्” भन्ने स्पष्ट देखिन्छ । अर्को कुरा अवेस्तनहरू सवृति या उपनयनको स्थानमा कुष्टि (तीन डोरे कम्मरमा बाँध्ने डोरी) धारण गर्दछन् । यसरी आएका व्रातहरू याज्ञिक देव जातिका नभएर अवेस्तन असुर जातिका थिए ।

जीवनमा कठोर व्रतहरूको महत्त्वलाई केन्द्रमा राखेर त्याग र तपोमय जीवन तथा ऋतको नियमहरूको अनुकूल मुनि वृत्तिले जीवन व्यतीत गर्नेहरूलाई असुरमहत या वरुणोपासक मानिन्छ । व्रातहरू अवेस्तन या असुर थिए भन्ने कुरा व्रातहरूलाई वेदमा माथि दिइएको नाम, विशेषण या उपाधिका आधारमा र तिनीहरूको कर्मका आधारमा पनि स्पष्ट हुन्छ । जस्तो: व्रातहरू अगस्त्य (इन्द्रको स्थानमा मरुत या रुद्रका उपासक) थिए, उनीहरू इन्द्रको स्थानमा अहुर मज्दलाई मान्दछन् । व्रातहरू अनिन्द्र (इन्द्र उपासनाका विरोधी या वरुणोपासक) हुन्, उनीहरू याज्ञिक कर्मको स्थानमा अन्यव्रत (भिन्न आचारसंहिता मान्ने) गर्दथे, जुन याज्ञिक देवको नजरमा अपव्रत (आचार धर्म भ्रष्ट) या अयज्ञ (यज्ञ नगर्ने) देखिन्थे । व्रातहरू अस्नाता (अदीक्षित या गुह्य साधना गर्ने (तान्त्रिक) थिए जो एकान्तमा एक्लै बसेर योग ध्यान गर्दथे, जुन योग ध्यान साधना गर्दा ऋत अर्थात् नियमबद्ध भएर अहोरात्र व्यवस्थित रूपमा गर्नु पर्दछ । यी व्रातहरू कतिपय योगका क्रियाहरू या तन्त्र साधना पनि दिगम्बर (नग्न) भएर गर्दथे, यसरी योग साधना गर्दा धृतव्रत (अविचल ध्यान योग गर्ने) हुन्थे । अवेस्तनहरू पृथ्वीलाई पवित्र मान्दछन्, यसैले लासलाई जलाएर या गाडेर पृथ्वीलाई अपवित्र बनाउनुको साटो "दखमा" गर्दछन् । यही कारण व्रातहरूलाई परावृक्त (पृश्नि मातर या धरतीलाई आमा मान्ने) उपमा दिइएको छ । योग साधनामा श्वास या वायुको नियन्त्रण पनि गरिन्छ, व्रातहरू यही वायुको नियन्त्रण गर्ने योग साधना गर्ने भएकोले वाररशन मुनि (वायुको नियन्त्रण गर्ने मुनि) कहलिए । व्रातहरूका यिनै योग साधना र त्यसबाट निस्किएको परिणामलाई यातु (अवेस्तामा पनि यातु नै) अर्थात् जादु मानिएकोले उनीहरूलाई यातुधन (जादु गर्ने) भनियो । यसै गरेर योग ध्यान साधनामा शरीरमा रहेका वायुहरू नियन्त्रण गर्ने भएकाले यिनलाई मायाचारी योगी (प्राण, अपान, व्यान र समान वायुका साधक) र शाकाहारी भएकाले वृषवत (सुद्ध शाकाहारी) भनियो । व्रातहरू योग ध्यान साधनाबाट नै सायद मोक्षको कामना गर्दा हुन्, यसैले उनीहरूलाई मुमुक्षु (मोक्षको कामना गर्ने) भनियो । अवेस्तनहरू केवल स्वर्ग, नर्क र पुनर्जन्मलाई मात्र मान्दछन्, यहाँ स्वर्ग भन्दा माथि मोक्षको कुनै उल्लेख छैन । मोक्षको धारणा उपनिषादबाट निस्किएको हो । सम्भवतः व्रातहरूले नै वेद अघि मोक्षको धारण विकसित गरिसकेका थिए होलान् जसलाई उपनिषदले पनि अनुग्रहण गर्यो। यहाँ ध्यान दिन योग्य कुरा के छ भने शिवलाई योग, ध्यान र तन्त्रका देवता मानिन्छ । हिन्दु शास्त्रहरूमा शिवलाई व्रात मानिएकै कारण दक्षले न त पुत्री सतीदेवी शिवलाई दिन स्वीकार गरेका थिए न त शिवलाई यज्ञमा बोलाएका थिए ।   

रुद्रको वासस्थान मुंजवन्त पर्वत थियो जुन वरुणदेव उपासकहरूको क्षेत्र हो, शिवलाई पनि व्रात मानिएको छ, र माथिको वर्णनको आधारमा पनि रुद्र वैदिक देव नभएर असुरदेव भएको देखिन्छ । रुद्रलाई यज्ञ आहुतिको रूपमा पाँच प्राणी समर्पित गरिएको छ, जसमा एक मनुष्य समेत पर्छ । नरमेधको प्रथा प्राचीन कालमा प्रचलित थियो । नरबलि प्राचीन असुरहरूको प्रचलन थियो । मेसोपोटामियाका असुर नजिरपाल द्वितीयको समयको एक ढुङ्गे चित्रमा असुरको सामुन्ने युद्ध बन्दीहरूलाई बलि दिँदै गरेको देखाइएको छ । एउटा क्ले ट्याब्लेटमा असुर बनिपालले सगर्व लेखेका छन् “असुरका (अस्सुरिया–सिरिया) बेद्रोहीहरू र मेरो विरुद्ध षडयन्त्र गर्ने यी सैनिकहरूलाई मनि (पणि) देवताको सामुन्ने हवन कुण्डमा बलि दिइयो, यसरी मैले देवताहरूलाई प्रसन्न गरेँ ।” सेमेटिकहरूका (यहुदी, इसाई, इस्लाम) देवता या पैगम्बर इब्राहिम ले पनि ईश्वरको लागि आफ्नै छोराको बलि दिएको कथा छ । इब्राहिम उर नगरका (बेबिलोन) बासिन्दा थिए । ऋग्वेदमा पनि नरबलिको कथा छ । कथामा शुनःसेपलाई वरुण देवतालाई बलि दिने प्रसङ्ग छ । वरुण देव अवेस्ताका अहुर मज्द हुन्, अस्सिरियाका असुर देव । शुन:शेपका बाबु अजिगर्त र इब्राहिम एकै हुन्, वरुण नै ब्रह्मा हुन्, झुलेलाल भनेर पुजिने वरुणदेवको मूर्ति पनि बुढो मानिसको छ । देव जातिमा नरबलिको कुनै सङ्केत छैन, शुनःसेपको कथामा बेबिलोनको उर नगरकै उल्लेख छ । प्रथमतः यो प्रथा असुरहरूबाट सुरु भएर क्रमशः ग्रिक र रोम सभ्यता र वेद (शुनःसेप कथा) तथा महाभारत (जरासन्धले शिवजीलाई प्रसन्न पार्न नरबलि दिनु, अश्वत्थामाले शिवलाई प्रसन्न गर्न आफैलाई बलि दिने कथा अनुसार) कालसम्म प्रचलित रहेको देखिन्छ । भारतमा लर्ड बिलियन वेन्टिकले सन् १८३० मा पूर्ण रूपमा नरबलि प्रथामा प्रतिबन्ध लगाएका थिए । शुनःशेपको कथामा विश्वामित्रको विरोध देखिन्छ र यस अनुसार यो प्रथा असुर सभ्यताकै हो । गृह सूत्रमा उल्लेख भए अनुसार “स्वस्ति यज्ञमा शुक्ल पक्षको एक निश्चित तिथिको दिन उत्तर पूर्व दिशामा रुद्रलाई एक गाईको बलि दिने गरिन्थ्यो ।” अझै पनि शिवलाई बलि नचढ्ने हुँदा पशुपतिमा उन्मत्त भैरवलाई बलि दिइन्छ र त्यहाँबाट एक सूत्र लगेर शिव लिङ्गमा छुवाइन्छ । यसबाट पनि रुद्र असुर जातिसँग सम्बन्धित भएको स्पष्ट हुन्छ ।

अथर्व वेदमा रुद्रले महादेवको उपाधि पाउनु अगाडि नै रुद्रले यजुर्वेदमा ईशान (प्रभु)को उपाधि पाइसकेका थिए । ऋग्वेदको दशौँ मण्डलमा गहरूणको जुन यश गान गरिएको छ त्यो व्रातकै यशोगान हो । यसैको निरन्तरता अथर्ववेदमा पनि भएको छ । अथर्ववेदमा गरिएको व्रातहरूको एक यश गानको तुलना त ऋग्वेदको पुरुष सूक्तसँग गर्न सकिन्छ । यजुर्वेद हुँदै अथर्व वेदसम्म आइ पुग्दा पनि रुद्रको छवि किवि  (ध्वंसक), दौर्व्रात्यम, महीधर आदि देखाइएको छ र प्रार्थनामा उनको धनुषलाई शिव भन्दै भक्तहरूलाई मित्र मार्गमा लग्न र स्वस्थ प्रद भेषज दिन गुहार लगाइएको छ । महाभारतमा समेत व्रात लाई बाल्हिकको सन्दर्भमा अपमान सूचक रूपमा प्रयोग गरिएकोमा ताड्य ब्राह्मणमा व्रात्यस्तोम विधि द्वारा व्रातलाई शुद्ध गरेर वैदिक मुख्य धारामा ल्याउन सकिने व्यवस्था गरिएको छ । यसबाट के देखिन्छ भने उत्तरार्धी वैदिक कालमा आएर व्रातहरू पनि वैदिक आर्यहरूकै एक हाँगा भएकोले तथा यिनीहरूको योग, ध्यान साधना, तन्त्र, यन्त्र, नृत्य, वाद्यवादन, जादु र जीवनशैलीबाट आकर्षित भएर यिनलाई पनि अपनाउँदै वैदिकहरूले व्रातलाई आफैमा समाहित गर्न चाहेको देखिन्छ ।

रुद्रसँग आकर्षित हुनाको अर्को कारण शाक द्वीपका असुर ऋषिहरूको आफ्नो स्थान प्रतिको पुरानो मोह र ममत्वका कारण पनि हुन सक्छ । हिन्दु शास्त्रका अनुसार मरीचि, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु, वशिष्ठ आदि सात कुल, प्रचेतस, भृगु समेत भारद्वाज, गौतम, शाण्डिल्य, रोहित, गर्ग, शातातप, सनत्कुमार, सत्यवद, भार्गव, पराशर, पौण्डिक, शंकक्रतु, दक्ष, काश्यप, जमदग्नि, कार्तिकेय, कुम्भ योनि, आदि ऋषिहरू शाक द्वीपका असुर ऋषिहरू हुन्, पुराणका मग र आजका मागी ब्राह्मण यिनैका सन्तान हुन् । सूर्य पूजक यी मग ब्राह्मणका १२ परिवार ६५० इ.पू. अघि नै असिरिया (हालको सिरिया) बाट सप्तसिन्धुमा ल्याइएका थिए भने अघि आएकाहरूले वेदका ऋचाहरू समेत लेखेका छन् । प्राचीन सुमेरियन देवी “गेस्तिनान्ना”को मूर्तिमा उनले त्रिशूल बोकेकी छिन् र त्रिशूल शिवको अस्त्र हो । यसै गरेर सुमेर सभ्यतामा एक देवी “अलउज्जा”को वाहन सिंहको रूपमा देखाइएको छ जुन देवी अरबमा समेत इस्लाम धर्म आउनु अगाडि पूज्य थिइन् । रुद्रसँग पछि जोडिन आइपुगेकी देवी अम्बिकाको वाहन पनि सिंह नै छ । यी सबैले रुद्रसँग असुरहरूको सम्बन्ध देखिन्छ ।

के रुद्र किराँतहरूको “सि मे” हुन् ?

वेदमा व्रात मानिएकाहरू मध्ये झल्ल, चल्ल, लिच्छवी, नाथ, मल्ल, शक, खस, किराँत, यक्ष, किन्नर, गन्धर्व पश्चिम नेपालका जातिमा गनिन्छन् । यजुर्वेदमा रुद्रलाई मुंजवन्त पर्वतमा धनुष सहित जाने कामना गरिए बाट रुद्र मुंजवन्त पर्वततिर बस्दथे भन्ने स्पष्ट हुन्छ । मुंजवन्त पर्वत क्षेत्र भौगोलिक रूपमा नेपालको खस सभ्यताको प्रभाव क्षेत्रसँग जोडिएको क्षेत्र हो । ऋग्वेद र सामवेदमा नपाइएको रुद्रको अतिरिक्त नयाँ स्वरूप कृष्ण र शुक्ल दुवै यजुर्वेदका दुई सूक्तमा त्र्यम्बक होम र शतरुद्रिय स्त्रोत्रमा पाइन्छ । त्र्यम्बक होममा जहाँ एकातिर पशुपतिको भिषक् रूप पाइन्छ भने अर्कोतिर उनीसँग एक स्त्री देवता “अम्बिका” जसलाई रुद्रको बहिनी भन्दै उल्लेख पनि गरिएको छ । यसमा मुसालाई रुद्रको वाहन भनेर पनि चर्चा गरिएको छ । यस सूक्तमा रुद्रलाई “कृत्तिवासा” भनिएबाट उनी छालाको वस्त्र लगाउने स्पष्ट हुन्छ । रुद्रका साथै पूजन गरिने यी अम्बिका को हुन् ?

त्र्यम्बक होमलाई शतरुद्रिय स्त्रोत्रले पूर्ण गरेको छ । यस स्त्रोत्रमा रुद्रको स्तुति गर्दे ६६ मन्त्रहरू लेखिएका छन्, जसमा रुद्रको यजुर्वेदिय स्वरूपका साथै पहिलो पटक “शिव, शिवतर, शङ्कर” आदि नाम दिइएको छ । यस स्त्रोत्रमा रुद्रको पशुपति रूप पनि व्यक्त गरिएको छ भने रुद्रलाई पहाडकै देवता मानेर “गिरिशत, गिरित्र, गिरिश, गिरिचर, गिरिशय” आदि नाम पनि दिइएको छ । यसै स्तोत्रमा रुद्रका गणहरू “सभा, सभापति, गण, गणपति, व्रात, व्रातपति, तक्षक (नाग कुल) रथकार, कुलाल, कर्मकार, निषाद, पुजिष्ठ, श्वनि, मृगायु,” आदिको पनि वर्णन छ, यी गणहरू वास्तवमा रुद्रका उपासक वर्गहरू हुन् । यी सबै गणहरू वैदिक आर्य नभएर व्रात या पहाडी क्षेत्रका जनहरू थिए, जसले आफ्ना आराध्य देवलाई आफै अनुकूल रूपमा कल्पना गरे र रुद्रलाई वनचर (वनमा बस्ने) र चर्म वस्त्र (छाला बेह्रने) आदि नाम दिइएको छ ।

त्र्यम्बक होम यजुर्वेदको सामान्य यज्ञ विधानभन्दा पृथक् विशेष विधि भएकोले यसलाई अथर्व वेदको सूक्तहरूको निर्माण पश्चात् र यजुर्वेदको सूक्त निर्माण काल अगाडिको देखिन्छ, जहाँ रुद्रको साथ एक आर्येत्तर देवीको आत्मसात् भएको छ । हिमालयको उपत्यकामा बस्ने केही जाति यो देवीको पूजा गर्दथे र यिनलाई “कृत्तिवासा र कन्दरावासी” मान्दथे । भगवान शिवको किरातहरूसँग जुन सम्बन्ध महाभारत र किरातार्जुनीयमा स्पष्ट देखिन्छ, सो आधारमा यी देवी किरात र अन्य जातिहरूसँग सम्बन्धित देवी भएको स्पष्ट देखिन्छ, जसको मान्यता आजसम्म छ । ब्राह्मण ग्रन्थहरूमा रुद्रलाई कृष्णवस्त्रधारी उत्तर पूर्व दिशामा आवास भएको देवता भनिएको छ । आर्यहरूको सम्पर्कमा आएका पहिलो व्रातहरू पञ्जाव उत्तरका पहाडका र कश्मीरका पहाडका थिए । यिनै जातिले पुज्ने कुनै देवलाई वैदिकहरूले रुद्रका रूपमा लिएका हुनसक्छ भने यिनैका देवी अम्बिका पछि त्र्यम्बक होममा देखिइन् ।

आर्यहरूको सम्पर्कमा आएका पञ्जाव उत्तरका पहाडका र कश्मीरका पहाडका बस्ने व्रातहरू अरू कोही नभएर झल्ल, चल्ल, लिच्छवी, नाथ, करण मल्ल, शक, खस, किराँतहरू नै हुन् । त्र्यम्बक होममा रुद्रलाई गिरिश, गिरिचर, गिरिशय, या गिरिशत नाम दिइएको छ । ब्राह्मण ग्रन्थहरूमा रुद्रलाई कृष्णवस्त्रधारी उत्तर पूर्व दिशामा आवास भएको देवता भनिएको छ । उत्तर पूर्वमा बस्ने कृष्णवस्त्रधारी को हुन् जो यी गिरिश, गिरिचर, गिरिचय, गिरिशत रुद्र जसलाई कुनै देवीका साथ उत्तर पहाडी क्षेत्रका व्रातहरू पूजा गर्दथे ? त्यति बेला यी क्षेत्रका व्रातहरूमा दुई प्रकारको धर्म परम्परा देखिन्छ, पहिलो बाह्र मष्ट (अवेस्तनको मज्दको अपभ्रंश) र आठ कूलदेवी र दोश्रो किराँतहरूको "सि मे" र "भू मे" जसका अनुयायी झाँक्री हुन् । त्र्यम्बक या तीन अम्बिका को आधारमा यो क्षेत्रमा पहिले सायद तीन देवीहरूको पूजा हुने गर्दथ्यो जुन पछि आठ मातृकामा विकसित हुन पुगेको हुनसक्छ । तीन देवीको पूजाको धारणा मेसोपोटामियाबाट विकसित भएको थियो जुन पछि अरबमा पनि सुरु भयो । मेसोपोटामियाको एक देवी “एरेशकिगल” पछि गएर सेमिटिक धर्ममा “अल्लाटम” र कार्थेजमा “अल्लतु”को नाम बाट पूजित हुन् थालिन् । यिनै “अल्लाट या अल्लतु” देवी पछि अरबमा अन्य दुई देवी “मनत र उज्जा” सहित लात (अरबीमा अल आदर सूचक शब्द हो, जस्तो नेपालीमा श्री अललात, मनत र अलउज्जा) को नामले पुजिन्थिन् ।

यी मध्ये उज्जा देवीको वाहन सिंह थियो जो हजरत मुहम्मदका पुर्खा कुरैश जातिका इष्ट देवी थिइन् । मनत देवीको अगाडि प्रसादादि चढाएर बलि दिइने गरिन्थ्यो भने इस्लाम पूर्वको हजमा मनतको अगाडि कपाल मुण्डन गर्ने चलन पनि थियो । खसहरूको मूल पनि कस्साइट नै भएकोले त्यहीबाट खसहरूले यी तीन देवीहरूको धारणा यता पनि ल्याएको हुनसक्छ, जसलाई पछि एक रूपमा कृष्ण तथा शुक्ल यजुर्वेदमा अम्बिका भनियो ।

रुद्रको स्वरूपको वर्णनको आधारमा हेर्ने हो रुद्र र किराँतहरूको “सि मे” को स्वरूपमा अत्यधिक समानता छ । वैदिक काल पूर्वदेखि किराँतहरूले पुज्दै आएका “सिमे या शिमे” (सि, शि देवता) “भु मे (भू=पृथ्वी देवी)” मध्ये “सि, शि मे” लाई चट्याङ्ग र पानीको देवता मानिन्छ भने भू मे लाई पृथ्वी देवी मानिन्छ । किरातहरूको “सिमे, शिमे भुमे” लाई अझै नेपालमा पश्चिमदेखि पूर्वसम्म झाँक्रीहरूले मान्दै आएका छन् । सिमे, शिमे र भुमे कर्णाली प्रदेश हुँदै तिब्बती क्षेत्रसम्म सि, स्युँ या शिउ नामले बोलाइन्थ्यो । दोलखामा जिरेल र सुरेलहरू शिवलाई श्यु देउ (श्यु देव) नै भनेर पूजा गर्दछन् । सि, शि ठेट किराँती शब्द हो, किरातहरू प्रकृति पूजक हुन्, उनीहरूले पुज्ने कुनै प्रकृति देव सि या शि नै शिव हुन भन्ने स्पष्ट देखिन्छ । पहाडमा बस्ने किराँतहरूका सिमे या शिमे देव जो चट्याङ्ग र पानीका प्राकृतिक देवता थिए । ऋग्वेदमा रुद्रलाई कपर्दी (माथिदेखि तलसम्मको लामो चोँगा जो झाँक्रीले लगाउँछन् र बक्खु, जो शेर्पाहरू लगाउँछन् आदिम लुगा हो) र जटाधारी (उच्च पहाड र हिमालतिर पुरुषहरू अझै जटा जुरो बाँध्दछन्, झाँक्रीहरू जटा राख्छन्) भनिएको छ, यो पनि किरातहरूको झाँक्रीहरूको भेसभुसासँग मिल्दछ ।

झाँक्रीहरूले बजाउने ढ्याङ्ग्रो र तिब्बतका बौद्ध मार्गीहरूले बजाउने ढ्याङ्रो तथा जापान, कोरिया आदि देशमा बुद्धमागी तथा बोनहरूले बजाउने ढ्याङ्ग्रोमा सामान्य रूप मात्रै फरक छ, यसको मूल श्रोत एकै हो जुन किराँतसँग जोडिन्छ । वेदमा रुद्रका अनुचर, जो पछि दशरुद्र भनिन थालिएकाहरूको स्वरूप र नेपालका झाँक्रीहरू, जो शिरमा चराका प्वाँख, दुम्सीको काँडा, रुद्राक्ष माला, फलामका सिक्री, घुङरु आदिको माला लगाउँदछन्, आगोमा हिँड्ने आगो पिउने आदि गर्दछन्, उन्मत्त भएर नाच्न पुग्दछन् । शिव गणका यस्ता साधनालाई ध्यान दिने हो भने, रुद्रलाई भूत पिशाचादीबाट रक्षा गर्न गुहार्ने रुद्र यिनै झाँक्रीहरूसँग धेरै रूपमा मिल्दछन् । झाँक्रीहरू पनि पहाडमा बस्दछन्, पहाडमै वनौषधी र जडीबुटीहरू पाइन्छ, रुद्रलाई सोमलताको वृद्धिकर्ता मानिएको छ र सोमलता पनि पहाडमै पाइन्छ, झाँक्रीहरू पनि व्रात हुन्, र विशेषतः यिनीहरू सि मे लाई मान्ने भएकोले शिवको प्राग स्वरूप सि मे नै हो कि भन्ने देखिन्छ ।

शक्ति पूजा

आदि काल देखि नै प्रकृति पूजकहरू मूर्ति पूजा नगरेर प्रतीक पूजा गर्दछन्, यसैले सि मे को पूजामा कुनै मूर्ति नभएर लिङ्गको पूजा हुन्छ । यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने नेपाल आदिम कालदेखि शाक्त र तन्त्र साधनाको क्षेत्र हो । नेपालीहरू सिद्ध पीठमा (मूर्ति स्थापना गरेर प्राण प्रतिष्ठा गरिएको) भन्दा शक्ति पीठहरूमा (आफै उत्पन्न भएको) आस्था राख्दछन् । शक्ति पीठहरू प्राचीन शक्तिका आस्था केन्द्र हुन् । यी पीठहरू मन्त्रको उत्पत्ति हुनु भन्दा अगाडिको शाक्त केन्द्र हुन् । यसैले नेपालका गुह्येश्वरी, भद्रकाली, मनकामना, पाथीभरा, कालिञ्चोक, पाथीभरा, लसर्गादेवी आदि शक्ति पीठहरूमा तन्त्र या शक्ति साधनाका लागि पञ्च मकार (मीन, मांस, मद्य, मुद्रा (भुटेका अन्नको पिठो), मैथुन) प्रयोग गरेर पूजा गरिने गरिन्छ भने शिवको पूजामा पनि मूर्ति पूजा नगरेर लिङ्ग पूजा गर्ने गरिन्छ । व्रात, किराँत या प्रकृति पूजकहरूको लिङ्ग पूजाको विस्तार मोहनजोदडो–हडप्पा सभ्यतासम्म भएको छ । वैदिक आर्यहरूले सुरुवातमा यी प्रकृति पूजकहरूलाई घृणा गर्दथे, किनभने यी प्रकृति पूजक लिङ्ग पूजा गर्दथे । ऋग्वेदको एक ऋचामा इन्द्रसँग प्रार्थना गरिएको छ, “हे देव ! जो लिङ्गलाई देवता मान्दछन्, तिनलाई हाम्रो सीमामा प्रवेश गर्न नदेऊ ।”

दैत्य, यक्ष, राक्षस, गन्धर्व, नाग, सर्प, किन्नर, निषाद, व्याधा, ब्रात, किराँत, कुलाल, आदि जातिहरू हिमवतखण्डका पूर्ववैदिक अनार्य जातिहरू थिए । यक्ष तथा राक्षसको बलि “मासु र मदिरा” थियो, अर्थात् यिनीहरू प्रकृति पुजामा मासु र रक्सी चढाउँथे, यसैले यिनीहरू प्रकृति पूजक थिए । रक्सी, मासु आदि चढाएर पुजा गर्ने प्रचलन (तामसी या शाक्त पूजा) खस, नेवार र किरात आदिमा अझै हुनुको कारण यी जाति पहिला प्रकृति पुजक भएकाले नै हो । यक्षलाई पद्यपाणि भनिएको छ, बौद्धलाई बज्रपाणि । यिनै यक्ष (चीनमा याचे) पछि गएर बुद्धका रक्षक पनि भए र परिवर्तित कालमा बोधिसत्त्व ब्रजपाणि कहलाए । यस आधारमा पद्यपाणि बौद्ध कालभन्दा अगाडि प्रचलित कुनै प्रकृति उपासना (सम्भवतः बोन नै) हुन सक्छ । बौद्ध मार्गी र शैव मार्गी दुवैले समान रूपमा मदिरा समेत चढाएर पुज्ने महाङ्काल (न्यूरोडमा आर्मी अस्पताल अगाडिको महाङ्काल) यिनै हुन् । गन्धर्व जाति मुंजवन्त पर्वतमा बस्दथे । देव जाति यिनीहरूसँग सोम किन्दथे । वेदमा सोमरस बनाउने तरिका र पहाड र तराईमा घोट्टा (गाँजा पिसेर यसमा दूध मिसाई घोल्ने) बनाउने तरिका लगभग उस्तै छ । यजुर्वेदमा रुद्रलाई यही मुंजवन्त पर्वतमा धनुष सहित जाने कामना गरिएको छ । यस अर्थमा रुद्र मुंजवन्त पर्वततिर बस्दथे भने गन्धर्व या अन्य अनार्य जातिका थिए । शिवसँग जोडिएको भाङ, धतुरो, उनका गणहरूका भूत, प्रेत, पिशाच (झाँक्री) आदिलाई ध्यान दिने हो भने शिव द्रविडहरूभन्दा कता हो कता किरातहरूसँग जोडिन्छन् । शिवलाई किरातेश्वर भन्नुको कारण पनि यही हो ।

बोन धर्म प्रकृति पुजासँग सम्बन्धित छ । बोनमा पृथ्वीलाई माता भनेर पुजा गरिन्छ । शैव धर्मको सबैभन्दा ठूलो स्वरूप भनेकै शक्ति-पुजा हो, भू मे को अर्थ पनि पृथ्वी देवी नै हो । आदिम गणतन्त्रमा आमा प्रमुख हुने चलन थियो, मातृसत्तात्मक समाज थियो जुन महाभारत कालसम्म पनि स्पष्ट देख्न सकिन्छ । मातृसत्तात्मक समाज प्रकृति पुजक भएकोले हरेक गतिविधि प्रकृतिसँग जोडिन्थ्यो । कृषि उपज प्रकृतिकै देन ठानिन्थ्यो भने पशु बृद्धिलाई पनि प्रकृतिसँगै लगेर जोडिन्थ्यो । सरल शब्दमा भन्नु पर्दा हरेक जीवजन्तु तथा वनस्पतिको श्रष्टिको मूलमा भाले र पोथीको समागमबाट नै सम्भव भएको ज्ञान पाएका यी प्रकृति पुजकहरूले पुरुष लाई शिव र नारीलाई शक्तिको रूपमा स्विकारेर पुजा गर्न थाले । विश्वका हरेक आदिम सभ्यतामा देखिएका नारी चित्र मूर्ति या तिनका अवशेषहरू शक्ति उपासनाकै परम्परा हो । शिवशक्ति मान्नेहरूले प्रत्यक्ष रूपमा देखेको चराचर श्रष्टिको मूल भालेपोथि जनेन्द्रिय नै थियो, उनीहरूले त्यसैको पुजा गर्न थाले, भालेपोथि जनेन्द्रियको समागमपछि नै श्रृष्टि हुने भएकोले दुवैको समागम गराएर (शिव लिङ्ग) पुजन गर्न थाले जसलाई आर्यहरूले शिश्न पुजा भने र पुज्नेलाई शिश्न पुजक । शिश्न पुजा अद्यापि संसारमा विभिन्न रूपमा प्रचलित नै छ । गर्भ धारण गर्न नसकेकी महिलाले महिनावारी चोखिएपछि सन्तानेश्वर महादेवको पुजा गरेर लिङ्गमा योनी रगडेपछि सन्तान हुन्छ भन्ने धारणा अझै छ । यसैले सन्तानेश्वर महादेवको मूर्तिमा उत्तेजित लिङ्ग बनाइएको हुन्छ (त्रिपुरेश्वरको पूर्णेश्वर मन्दिर परिषद भित्र यस्तै मूर्ति छ, यहाँ योनी रगड्न नसके पनि लिङ्गमा हात दलेर योनिमा छुने चलन छ) । उषा काल अघि अँध्यारो मै गरिने यस विधिको पुजा गर्ने चलन र विश्वास अझै छ) । यो प्रचलन प्रकृति पूजकबाटै लिइएको हो । कैलाश पर्वत प्राकृतिक रूपमै विशाल शिव लिङ्ग आकारमा अवस्थित छ, यसैले हिन्दु, बोन, तिब्बती र बौद्ध मार्गीहरूका लागि पनि कैलाश अझै पूज्य र पवित्र छ । कैलाश, महामातृका, योनि र लिङ्ग पुजन व्रातहरूको आदिम प्रकृति पुजा थियो, जसको लहरो सिन्धु सभ्यतासम्म पुगेको थियो । मोहन्जोदडोको उत्खननबाट प्राप्त भएका सामग्रीहरूलाई सिधा शिवसँग जोडेर हेर्न भन्दा प्रकृति पूजासँग जोडेर हेर्दा उपयुक्त देखिन्छ । “उत्खननबाट प्राप्त भएको एउटा तीन मुखे शिरवाला पुरुष भएको बिचको शिरबाट एउटा फूल बिरुवा लत्रिएको देखिन्छ । यो उब्जनी वा प्रजननसँग सम्बन्धित देव प्रतीत हुन्छ (आर.सी. मजुमदार– वैदिक एज) ।” तीनमुखा सिङ समेतका पहिरनका र योगासनमा रहेका देव (गणपतिले सिङ सहितको मुकुट लगाउने प्रचलन आदिम र प्राकृतिक संस्कार हो) उब्जनी अर्थात् प्रजनन देवको प्रतीक हुन्छ ।

अनार्यका शिश्नदेव नै सम्भवतः उब्जनी देव थिए, जसलाई ऋग्वेदका ऋषिहरूले रुद्रका “वृष” रूपसँग तादात्म्य गराए । यसैले सिन्धु घाँटीको  सभ्यतासँग आर्यहरूलाई जोडेर या आर्यहरूका देवताहरू मूलतः शिव (रुद्र) सँग जोडेर हेर्नु गलत हुन्छ । मोहनजोदडो र हडप्पा क्षेत्रमा वैदिक आर्य आउनु अगाडि नै व्रात किरात आदि जातिहरू यहीँ थिए र यहाँ प्रकृति पुजनको छाप देख्न सकिन्छ । वैष्णव मत स्वैर-काल्पनिक देखिन्छ, वैष्णवालम्बीहरू कल्पित वैकुण्ठ या मोक्षको कामना गर्दछ भने शैव मत प्रत्यक्ष प्रकृतिसँग सम्बन्ध राख्दछ । यसैले शैवमार्गिहरू मृत्यु पश्चात् शिव शक्तिमा विलीन हुने कामना गर्दछन्, कैलाशमा समाहित हुने इच्छा राख्दछन् ।

संक्षेपमा रुद्र व्रात र किरातहरूकै प्राकृतिक देव सि मे हुन् भने शक्तिको रूपमा पुजिने सि मे अर्थात् पृथ्वी देवी अम्बिका हुन्, जसको विस्तार वेद पूर्व सम्पूर्ण भारत तथा नेपालमा थियो । सि मे र भू मे को उपासना स्वतन्त्र र समानान्तर रूपमा हुन्थ्यो र दुवै बराबर पदका थिए । रुद्र नै किराँतहरूका आदिम देव “सि मे” हुन् भन्ने बारेमा अझ विस्तृत अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।

शिवको त्रिनेत्र र अर्चना

यजुर्वेदमा रुदको त्र्यम्बक नाम आएको छ । अम्बको अर्थ पिता लाग्दछ, पछि गएर अम्बको अर्थ नेत्र हुन गयो । अग्निको जन्म पृथ्वी, आकाश र द्यु मा भएको आधारमा सुरुमा अग्निलाई “त्र्यम्बक” उपाधि दिइएको थियो, पछि अग्नि र रुद्रको तादात्म्य भएपछि अम्बको पिता अर्थ बिर्सिएर नेत्र स्मरण रहेकोले भ्रान्तिका कारण पौराणिक शिवको पनि तीन नेत्र भएको मानियो र थुप्रै कथाहरू बने । माथि नै उल्लेख गरियो रुद्र अवैदिक र प्रकृति पुजकका देवता हुन् । रुद्र कर्मकाण्डका देवता होइनन्, यसैले रुद्रको प्रतीक स्वरूप लिङ्ग र अर्चनाको लागि योग, ध्यान नृत्य र अर्चनाको लागि कृत्रिम कर्मकाण्ड नगरेर बेल, बेलपत्र, भाङ, धतुरो, वनौषधीहरू मात्र प्रयोग गरे शिव लिङ्ग या बालुवाको लिङ्ग बनाएर विधि मात्रै पुर्याएर पनि गरिन्थ्यो जुन अद्यापि कायम छ । शिव ऋत साधना आवश्यक योग, ध्यान, शाक्त, नृत्य, गायन आदिका समेत देवता हुन पुगेकाले ऋतका मूर्तिमान स्वरूप बने ।

लिङ्ग उपासना, शाक्त परम्परा र पार्वती

लिङ्ग उपासना प्राग कालदेखि संसारका विभिन्न सभ्यतामा विभिन्न रूपमा चल्दै आएको छ र यो विशुद्ध पशुधन वृद्धि तथा कृषि उत्पादन र उर्वरताको लागि गरिने संस्कार हो । प्रारम्भिक कालमा कृषि कार्यमा संलग्न मानिसहरू पनि अत्यधिक उब्जनीको मूल कारण पुरुषको श्रम, कौशल र रेखदेख नभएर यो केवल “दैवीय नारी संरक्षण”ले मात्र हुने विश्वासका कारण ती नारी शक्तिमा निर्भर थिए । दक्षिण अफ्रिकाको सुम्बा स्त्रीहरू प्रेतात्माको आदर गरिए मात्र उब्जनी हुने विश्वासमा पहिले स्त्रीहरू नै जमिन जोत्ने र नृत्य गर्ने गर्दछन्, त्यसपछि मात्र पुरुषहरू कृषिका बाँकी काम गर्दछन् । मेक्सिकोमा पनि उर्वरताकी देवीको आह्वान गर्दै उनको आदरमा समारोह नगरिएसम्म कृषिको सानोभन्दा सानो काम पनि गर्दैनन् ।

जसरी पृथ्वीमा प्रकृतिवत थुप्रै कुराहरू उम्रिएका छन्, त्यसै गरी जनावर, पन्छी र सबै जीवका पोथीले प्रकृतिवत जन्माउने गुण जन्मसँगै लिएर आएका छन् । यसरी हेर्दा मानव या जीव प्रजनन र प्राकृतिक उत्पादन एकै प्रकारको क्रिया देखिएको हुँदा नै कतै गर्भवतीलाई फल खान दिए उत्पादन बढ्ने विश्वास गर्नेहरू छन् भने कतै बाँझी आइमाईलाई उद्यान या खेतबाट टाढा राख्ने प्रचलन पनि छ । उत्पादकताको आधारमा पृथ्वी र स्त्री दुवैले समान गुण बहन गर्दछन्, पृथ्वी र स्त्री दुवैले कसरी जन्माउने भन्ने कुरा जान्दछन् । यसैले विश्वका हरेक कुनामा यस्ता संस्कार अद्यापि पाइन्छ । यस्तो संस्कारलाई केवल मूर्खता या अज्ञानता भनेर हेरियो भने गल्ती हुन जान्छ । यी त्यस्ता संस्कार या प्रचलन हुन् जसबाट मानिसले व्यक्तिगत मनोरथको काल्पनिक श्रृष्टि गर्दछ र त्यसैबाट उत्साह, प्रेरणा र मूलतः विश्वासका साथ लगनको भावना उत्पन्न हुन्छ । यो भावना नै एक प्रकारको मनोवैज्ञानिक दिशानिर्देश हुने गर्दछ र यसले सम्बद्ध क्रियाहरूमा विचित्रको तीव्रता पनि ल्याउँदछ ।

तन्त्रवादमा पञ्च मकारको (मीन, मास, मद्य, मुद्रा (भुटेको अन्न) र मैथुन) प्रयोग गरेर साधना गर्ने गरिन्छ । यसरी साधना गर्दा यन्त्र या कुण्डली कोर्ने गरिन्छ । यसरी कोरिएको यन्त्रको बिचको त्रिकोण भग या योनिको प्रतीक हो । कुण्डलिनी योगमा शरीरमा देखाइएका शत चक्र भेदका ती सबै पद्यहरू स्त्री अवस्था हुन् । तन्त्रवादमा पद्य या कमललाई योनि या भगको प्रतीक मान्ने गरिएको छ । बौद्ध तन्त्रवादमा जसरी पुरुषको लिङ्गलाई श्लील शब्दमा या रहस्यमय रूपले नामाकरण गर्दा “वज्र या मणि” भन्ने गरिन्छ, त्यसै गरी योनिलाई श्लील शब्दमा या रहस्यमय रूपले नाममकरण गर्दा “पद्य” भन्ने गरिन्छ । बौद्धहरूले पढ्ने “ओम मणि पद्ये हुम्” मन्त्रमा यी दुवै प्रकृति अन्तर्निहित छन् । श्रीचक्र या श्रीयन्त्रमा कोरिएका नौ वटा पद्य, त्रिकोण र रेखाचित्रहरू मध्ये पद्य र त्रिकोण योनिको प्रतीक हो, यी सबै रेखा चित्र मिलेर श्रीचक्र बन्दछ । तन्त्र साधनाको सार भनेको अन्तरमनमा विराजित स्त्रीलाई जागृत र सचेत गरेर चेतनाको उच्चतम स्तरमा पुर्याउनु हो । अर्थात्, मूल व्यक्तित्व र चेतनालाई एक स्त्री व्यक्तित्व र चेतनामा परिवर्तन गर्ने प्रशिक्षण नै तन्त्रवादको योग साधना अर्थात् मनोदैहिक क्रियाहरू हो । कुण्डलिनी योग अनुसार यसको सर्वोच्च अवस्था भनेको शक्ति सहस्त्रदल पद्यसम्म पुग्नु हो, जहाँ शक्ति पुरुषत्वसँग एकाकार हुन्छ र एकआपसमा विलीन हुन्छ, त्यहाँ दुवैको कुनै अलग अस्तित्व रहँदैन किन भने सबै कुरा अन्तरालमा जाग्रत नारीत्वमा विलीन हुन जान्छ । अर्थात् त्यो एक दिव्य अवस्थाको शिवशक्ति स्वरूप हुन जान्छ । यही मिलापको प्रतीक शिव लिङ्ग हो, यही किराँतहरूको पूज्य देवदेवी हुन् ।

लिङ्ग र योनी उपासनाको प्रचलन बेबिलोनमा “इश्तर”, असिरियामा “अशेरह”, ग्रिसमा “डायोनिसस”, इरानमा “मित्रा”, अरबमा “अलिलत्” आदि देवदेवीलाई उर्वरताका लागि गरिन्थ्यो । मोहनजोदडोमा प्राप्त साना स्त्री मूर्तिहरू सम्भवतः निजी रूपमा उर्वरताकै लागि पूजित हुन्थे भन्न सकिन्छ । वेदमा लिङ्ग पूजाको प्रावधान छैन । अश्वमेध यज्ञ विधिमा भने जजमानको पत्नीले बलि दिइएको घोडासँग सहवास गर्नु पर्दथ्यो, जुन विधिलाई उर्वरताकै संस्कारको रूपमा लिइएको छ ।

महाभारतमा साङ्केतिक रूपमा स्पष्टसँग “लिङ्ग मूर्तिमा भगवान शिवको जनेन्द्रिय को नै उपासना हुन्छ” भनिएको छ । पशुधन वृद्धि र उर्वरताका लागि उपासना गरिने देव या देवी पहिले स्वतन्त्र पुजिन्थे भने पछि आएर दुवै एकाकार पनि भएका छन् । असिरियाकी देवी “इश्तर”को एक उपाधि “बेलित” अर्थात् स्वामिनी थियो । बेबिलोनका देवता “वेल”को पत्नीको नाम पनि यही थियो । “इश्तर” र “वेल” पृथक् देव देवी भए पनि पछि इरानका राजा अशूरवनीपालको समयमा दुवैलाई पतिपत्नीका रूपमा शिलालेखमा नै लेखियो । वेदमा सुरुमा रुद्र र अम्बिका पृथक् देव देवी थिए, सुरुमा अम्बिका रुद्रका भगिनीको रूपमा देखिन्छिन् तर पछि गएर शैव मत अन्तरगत “उमा” महेश्वरकी अंश भइन् । तथापि, पति पत्नीको रूपमा पुजिएकी उमाको स्वतन्त्र अस्तित्व पनि कायमै रहँदै आएको छ, जसबाट शाक्त या तान्त्रिक मतको सूत्रपात भयो । वैदिक धर्ममा शाक्त मतकी देवीसँग समानता राख्ने अन्य कुनै देवी छैन । केनोपनिषदमा देवताहरूलाई “ब्रह्म ज्ञान दिने देवी "उमा हैमवती देवी” भनिएको छ । केनोपनिषदको “उमा” कसरी महादेवकी पत्नी बनिन् यो स्पष्ट छैन, तर हैमवती अर्थात् हिमालयको पुत्रीका रूपमा पछि गएर “पार्वती” नाम रहन गयो र यही सबैभन्दा प्रसिद्ध नाम भयो । यसरी लिङ्ग पूजा वैदिक जनको मूल धार्मिक विचारधारको पृष्ठभूमि विपरीत भएको हुँदा कालान्तरमा स्वतन्त्र लिङ्ग या योनी प्रतीकात्मक हुन गएको छ ।

शाक्त परम्परा 

तन्त्र ग्रन्थ भगवान शिवको मुखबाट निस्किएको मानिन्छ । मत्सेन्द्र नाथ कामरूप कामाख्या देवीका उपासक थिए, कामरूप कामाख्या देवीलाई तन्त्र साधनाको प्रमुख देवी मानिन्छ, तन्त्र साधना सिद्धि यहाँ पूजा गरिपछि मात्र पाइने मत रहँदै आएको छ । यिनै मत्सेन्द्रनाथका चेला गुरु गोरखनाथले तन्त्र साधनालाई चरममा पुर्याए । नेपाल तन्त्र साधनाको लागि प्रमुख स्थल हो, यसैले पूर्वमा बङ्गालदेखि पश्चिममा अरबसम्मका मुसलमानहरू नेपालमा तन्त्र साधना सिक्न प्राचीन काल देखी अहिलेसम्म आउने गर्दछन् । शास्त्रहरूमा सिद्धि साधनाका लागि तीन मार्गहरू मन्त्र, तन्त्र र यन्त्र साधना प्रयोजन गरिएको छ । मन्त्र साधना भन्नाले देवताहरूको प्रार्थना हो, यसमा अमुक देवताको स्वस्ति गाएर फूल प्रसाद चढाएर अभिलाषा प्राप्तिको लागि अनुरोध गरिन्छ । तन्त्र साधनामा तनको समेत प्रयोग हुन्छ, यसमा मन्त्र सहित अघोर साधना र मञ्चमकारको प्रयोग गरेर सिद्धिको लागि कामना गरिन्छ । यन्त्र साधनामा यन्त्र बनाएर त्यसमा आकाशिय ऊर्जालाई एकत्र गरेर सिद्धि पाउने प्रयास गरिन्छ । बुझ्ने अर्थमा भन्नु पर्दा मन्त्र साधना कम्प्युटर चलाउन सक्नु हो, तन्त्र साधनामा हार्ड वयर सफ्ट वेयर आदिको समेत ज्ञान लिएर कम्प्युटर चलाउनु हो भने यन्त्र इन्टरनेट वेभ ब्यान्ड आदिको समेत ज्ञान राखेर कम्प्युटर चलाउनु हो । तन्त्र साधनामा देवदेवी सिद्धि दिनका लागि वाध्य हुन्छन् ।

“शूलगव” यज्ञ विधान अनुसार वसन्त या हेमन्त ऋतुमा शुक्ल पक्षमा शूलगव यज्ञ गरिने गरिन्छ । यो यज्ञ गर्ने यजमान आफ्नो घरको उत्तर पूर्व दिशाको वनमा या मानव बसोबासबाट टाढाको वनमा यज्ञाग्नि प्रज्वलित गरेर वेदीमा दूबो बिछ्याएर विधिवत् रूपमा एउटा गाईको बलि रुद्रलाई दिने प्रावधान छ । यसरी बलि दिएको गाईको रगतले आठ वटा सानो घडा भरेर एउटा घडाको रगत भरेर शतरुद्रिय मन्त्र पढ्दै एउटा दिशामा एउटा घडाको रगत छर्ने विधान छ । यसपछि बलि दिएको पशुको छाला निकालेर, त्यसको मुटु कलेजो रुद्रलाई चढाइन्छ । यो यज्ञ सामान्य कर्मकाण्डभन्दा विल्कुलै अलग र विशेष संस्कार युक्त छ । विशेष अवस्थामा मधुपर्कका लागि गोरुको बलि बाहेक गोहत्या ब्राह्मण धर्मको अङ्ग थिएन र पछिका कालमा यो निषेध नै गरिएको थियो । यजमानको घरबाट टाढा एकान्तमा या वनमा गरिने यस युद्धमा गरिने संस्कार पनि रहस्यमय भएको ले यसलाई जादु टुना र शक्तिको लागि आर्येत्तर जातिले आफ्नो देवतालाई गरिने संस्कार थियो । शक्ति पूजा या शाक्त परम्पराको मूल यही यज्ञ भएको देखिन्छ ।

गणेश, कार्तिकेय जन्म र कार्तिकेयको यजिदी धर्मसँग सम्बन्ध 

पार्जिटरले एक महत्त्वपूर्ण कुरा भनेका छन्, “मूल पुराण कुनै अन्य भाषाको ग्रन्थ थियो, आज जुन अठार पुराणहरू छन् ती केवल संस्कृतमा अनुवाद भएका मात्र हुन् ।” त्यसो भए मूल पुराणको भाषा के थियो ? व्यासले “सूत र मागधको कर्तव्य पुराण कण्ठस्थ गरेर राख्नु हो” भनेका छन् । यी दुवै वेदवाह्य जाति हुन् र यिनीहरूको भाषा मागधी र प्राकृत हो । अर्थात् पुराणको मूल श्रोत अवैदिक जनहरूको अति प्राचीन इतिहास नै हो जुन कथ्य रूपमा पुस्तान्तरण हुँदै आएको थियो । शैव मत अवैदिक हो भन्ने कुरा माथि नै उल्लेख गरियो । रुद्रलाई मान्ने या रुद्रका पार्षदहरू गण थिए, त्यति बेला समाजमा गण व्यवस्था थियो र शिवका गणहरू मध्ये यक्ष पनि एक गण थियो । यक्ष जाति त्यति बेला गणपति थिए, उनीहरूको अधीनमा राक्षस, किन्नर (घोडाको टाउको भएको मान्छे, जसबाट सङ्गीत श्रजना भयो, किन्नर सम्भवतः घोडाको व्यापार गर्ने, घोडा कज्याउने काम गर्ने नोम्याड (फिरन्ते) जाति हुनसक्छ), गन्धर्व, गुह्यक, किम्पुरुष (मान्छेको टाउको भएको घोडा, किम्पुरुष सम्भवतः इरान अफगानिस्तानका गधा पाल्ने जाति हुन सक्छन् ), भाट, पिशाच, भूत, प्रेत, गरुड, सूपर्ण, नाग आदि अनेक जाति थिए र यक्ष जातिको मूली कुवेर थिए, गणपति, कुवेरलाई कतै गणेश पनि भनिएको छ (गणेशको अर्को प्रचलित नाम) । यक्षहरूको शासन क्षेत्र कैलाश तिब्बत पनि थियो । तिब्बतमा बुकी सुन (धुलो सुन) को खानी थियो । यक्षहरूले नै पहिले सुनको खोजी गरेका थिए, पुराण कथा अनुसार किम्पुरुष जातिको राजा द्रुमको शासन क्षेत्रमा सुनको खानि थियो, उत्तर हिमालय मुनि उशीरवीज सरोवर नजिकै दुई सुनको खानीको रक्षा किम्पुरुष जाति गर्दछन् ।  हेरोडोटसले गरेको सुनको खानी र कमिलाको वर्णन यिनै यक्ष (चिनिया) जातिको थियो जो अजङ्गको कुकुर (टिबेटन मस्टिफ) पाल्दछन् र कमिलाको ताँती जस्तै भएर सुन खानीबाट बुकी सुन निकाल्छन् । चिनियाहरू आफ्नो मूल यिनै याचेलाई (यक्ष) मान्दछन्, यिनै बाट चिनिया वंश बढेको मान्दछन् । यक्ष जाति मानसरोवर र तिब्बती क्षत्रसम्म फैलिएको स्पष्ट हुन्छ । कुवेरका दुई पत्नी थिए ऋद्धि र सिद्धि (जो पछि गणेका पत्नी भनिए) । कुवेरको स्वरूप वर्णन र गणेशको स्वरूप वर्णन उस्तै छ, रातो वर्ण, ठूलो भुँडी, चार हात, चार हातमा पद्य, शङ्ख, चक्र र अंकुश । कुवेरलाई शुभको देवता मानिन्थ्यो, "श्री कुवेराय नमः" लेख्ने प्राचीन प्रचलन थियो यक्ष मूर्ति सबैभन्दा पहिलो मूर्ति पुजा हुने देवता थिए, कुशाण कालसम्म लक्ष्मीलाई कुवेरको पत्नी मानिन्थ्यो, दुवै सँगै भएको मूर्तिको पुजा हुने गर्दथ्यो, यक्ष पुजामा (लक्ष्मी पूजा) कुवेर लक्ष्मीको पुजा हुन्थ्यो । कुवेर र लक्ष्मीको मूर्ति कुषणकालसम्म प्रचलित थियो, गुप्त कालबाट कुवेरको स्थान गणेशले लिए, तथापि गणेश नै कुवेर हुन ।

वौधायन गृह्य सूत्रमा रुद्रको पार्षद र पार्षदीको रूपमा “विनायक” नामका एक देवताको उल्लेख छ, जो पछि गएर “गणेश” नामले विख्यात भए । तैत्तिरीय आरण्यकको एक श्लोकमा “वक्रतुण्ड र दन्तिः” नामको एक देवताको वर्णन गरिएको छ । वौधायन धर्म सूत्रमै ती “पार्षद या पार्षदी”लाई तर्पण दिने विधान पनि छ, जसमा उनलाई “वक्रतुण्ड, एकदन्त, हस्ति मुख, लम्बोदर, स्थूल, विघ्न” पनि भनिएको छ । पछिका शिव साहित्यमा गणेशलाई शिव पुत्र मानिएको छ तर यी शिव पुत्र नै हुन् भन्ने कुनै स्पष्ट प्रमाण भने पाइँदैन । महाभारतको एक कथा अनुसार “देवताहरूको सेनामा योग्य सेनापतिको अभावका कारण उनीहरू पटक पटक असुरहरूसँग युद्ध हार्दछन् । यो देखेर इन्द्रले सबै देवताहरूको शक्ति समाहित एक पुत्र अग्निबाट प्राप्त गर्न चाहन्छन् र सबैलाई लिएर सप्त ऋषिहरूकहाँ यज्ञको लागि जान्छन् । अग्नि पनि त्यही यज्ञमा पुग्दछन्, जहाँ ६ ऋषिपत्नि देखेर उनी मुग्ध हुन्छन् र वनमा विचरण गर्न जान्छन् । त्यही यज्ञमा दक्ष पुत्री “स्वाहा”ले अग्निलाई देख्दछिन् र आसक्त भएर उनी पनि अग्निको पछि लाग्दै बनमा पुग्दछिन् । बनमा स्वाहा ६ ऋषिपत्निहरूको रूप धारण गरेर अग्निसँग समागम गर्दछिन् र अग्निको वीर्य एक श्वेत पर्वतमा केही पातहरूको माथि राखिदिन्छिन् । समय पुगेपछि त्यहाँबाट एक बलकको जन्म हुन्छ, जसको सबै संस्कार इन्द्रले विधिवत् सम्पन्न गर्दछन्, तीनको “स्कन्द” नामाकरण गरिन्छ । यिनै स्कन्दले तारकासुर वध गरेपछि देवहरूले स्कन्दलाई इन्द्र चुनेका थिए । स्कन्दको वाहन मयूर हो, मयुरको सुनौलो पुच्छरको कारण सूर्यसँग सम्बन्ध रहेको छ । अग्निको एक नाम रुद्र पनि भएकोले स्कन्दलाई पहिले रुद्र पुत्र भनियो, रुद्र पछि गएर शिवको रूपमा उच्च देव भएपछि रुद्र सूतको वास्तविक कथा बिर्सिएर स्कन्द शिवका पुत्र मानिन थालियो ।

इरानको उत्तर पूर्वी क्षेत्रमा यजिदी धर्म मान्नेहरू छन् । यजिदीको अर्थ “ईश्वरको पुजक” हो र ईश्वरलाई “यजदान” भन्दछन् । यो धर्ममा इस्लाम, पारसी र हिन्दु धर्मका विश्वास र मान्यताहरू समाहित छन्, तर पनि पृथक छ । यजिदी धमावलम्बीहरू मयुरलाई अमरत्वको प्रतीक मान्छन् । यजीदी मन्दिरमा नागको चित्र बनाइएको हुन्छ । ईश्वरको प्रार्थना गर्छन्, प्रार्थना पछि दीप जलाएर आरती गर्छन्, युवा तिलक र युवती टिका लगाउँछन् । पुजापाठमा आरतीको लागि प्रयोग गर्छन् र नमस्कार गर्छन् । सम्भवतः यजिदीहरू (यज्दी र यक्ष श्रवण साम्य शब्द छन्) यक्ष जातिका नै हुन्, या स्कन्द र तारकासुर युद्धपछि युद्ध हारेका असुरहरूले स्कन्दलाई देवता मानेर पुज्न थालेका हुन्, या स्कन्दका यक्ष जातिका केही योद्धाहरू त्यतै रहे जो अहिले यजिदी धर्म मान्दछन् । मयुर स्कन्दको वाहन हो भने नाग यक्षहरूकै एक जाति हो, मयुरलाई पवित्र मान्ने र मन्दिरमा नागको चित्र बनाउने आधारमा यजिदी धर्म मान्नेहरू नागका (जो यक्ष जातिका नै हुन्) वंशज हुन सक्दछन् र यसले यजिदीहरू रुद्रसँग सम्बन्धित छन् भन्ने अड्कल काट्न सकिन्छ ।

रुद्र र अम्बिकाको आधारमा हेर्ने हो भने यी दुवै देव देवी स्वतन्त्र र समान रूपमा मान्य देव-देवीहरू थिए, सि मे र भू मे जस्तै । यी दुवै प्रकृतिका देव देवी थिए, यक्षहरू वृक्षको पुजा गर्दथे, अन्य शक्ति पीठहरूको, यिनको मानवीकरण पछि मात्र वैदिक जनहरूले अपनाएपछि उपनिषद र पुराण कथाहरूमा गरिएको हो, उमा पछि मात्र रुद्रको पत्नी भएकी हुन्, गणेश र कार्तिकेय पछि मात्र पुत्र भएका हुन्, बाँकी पुराणमा शिवको महिमा बढाउन जे जति कथाहरू लेखिए, ती कथाका सूत्रहरू के हुन् लेखक नै जानुन् । वैष्णव मतको विकास गुप्त कालपछि भएको हो, वैष्णव र शैव मतकारहरूले आफ्नो देव ठूलो देखाउन अनेकन् निकृष्ट कुराहरू कथामा लेखेका छन् ती सबै हास्यास्पद छन् । रुद्र अर्थात् शिव एक अवैदिक देव थिए, व्रातहरूसँग वैदिक जनको लामो सङ्घर्ष, जुन सङ्घर्ष, दक्ष कथा, गणेश कथा, स्कन्द कथा आदिमा लेखिएको छ, पछि मात्र वैदिक जनहरूले स्वीकार गरेर रुद्र सर्वमान्य देवता भएका छन्, । ऋग्वेदमा उल्लेख भएका व्रातहरूका, र अन्यका देवता रुद्र पछि उपनिषद, सूत्र र पुराणका आधारमा सर्वमान्य देवाधिदेव शिव भए । वेदमा उल्लेख भएको छुद्र सूत्रलाई लिएर उत्पन्न गरिएको काल्पनिक देवहरू भन्दा शिव जगतसँग जोडिएका प्रकृति पूजकहरूको देव हुन्, जीवनको योग, ध्यान, साधना, तन्त्र मन्त्र, वाद्य, नृत्य, गायन वादन आदिसँग जोडिएका देव हुन् । शिव आर्य, अनार्य, व्रात, नाग, यक्ष, किन्नर, गन्धर्व, असुर, पशुपन्छी, कृषि आदि सबैसँग जोडिएका एक मात्र देव हुन्, रुद्र याचेहरूका पनि प्राचीन देवता भएकाले उनको वासस्थान कैलाश बौद्ध मार्गीहरूले समेत पवित्र मानेर पुज्ने गर्दछन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै