• २०८१ बैशाख १२ बुधबार

रबड चुँडिसक्यो नेताज्यू

kharibot

यो चराचर जगतमा मानिस नै सबैभन्दा भिन्न प्राणी हो किनभने, ज्ञान पशुसँग पनि हुन्छ तर मानिससँग विवेक पनि हुन्छ र सही गलत छुट्याउन सक्छ । अग्नि सर्वभक्षी हुन्छ, रिस पनि अग्नि हो र यसले मानिसको विवेक भष्म गरिदिन्छ, विवेकहीन मनिस र पशुबीच कुनै अन्तर रहँदैन । अहिले नेपाली जनताहरूको (झोले कार्यकर्ता बाहेक) विवेक जागिसकेको छ ।

केही अगाडि प्रधानमन्त्री शेरबहादर देउवालाई लिएर सामाजिक सञ्जालमा निक्कै उथलपुथल मच्चियो । अझ यो भन्दा बढी उथलपुथल त रेणू दहाल र भरतपुरको चुनावलाई लिएर भयो । रेणु दहाल काण्डमा हामी यति तलसम्म ओर्लियौँ कि मान्छे भनेर माथि उक्लिने अन्तिम सिँढि समेत कालीदासले हाँगा काटेझैँ काट्यौँ । देउवा काण्डमा देउवाको सात पुस्ताको नालीबेली खोजियो, खोलियो र लगभग नाङ्गै पारियो । आखिर किन ? हामी भित्र के त्यस्तो तत्त्व छ जसले हामीलाई मान्छेभन्दा तल गिराउँछ ?

मान्छेको लेखाइमा उसको शिक्षा, ज्ञान, विवेक र चेतना मात्र होइन आमाबाबुले दिएको संस्कार समेत जोडिएको हुन्छ, लेखाइमा ती कुराहरूको हरक स्पष्ट आउँछ । रेणू दहालाई अश्लील अपशब्द समेत लेखियो भने देउवाका सात पुस्ताको अनुहारमा कालो पोतियो । के हाम्रो संस्कार यही हो ? के हामीले पाएको शिक्षा यही हो ? के यति गरेबाट हामी सन्तुष्ट हुने गर्दछौँ ? के हामीले गर्न सक्ने भनेको यत्ति हो ?

अवश्य होइन । यो हाम्रो संस्कार पनि होइन, हामीले पाएको शिक्षा पनि होइन र यो सन्तुष्टिको लागि मात्र गरिएको पनि होइन, गुह्य कारण अर्कै छ । वास्तवमा हामी राजनीतिबाट परिचालित भेँडा हौँ, राजनीतिबाट खण्डखण्डमा बिभाजित सोच हौँ, राजनीति र व्यवस्थाबाट असाध्यै पीडित तर असहाय हौँ र हाम्रो कुण्ठा यसरी नै पोखिने गर्छ, यसरी नै हामी भित्र राज्यले कोचिदिएको विष बमन गर्दछौँ र केही राहत पाएको महशुश गर्दछौँ । तरिका गलत हो तर हामीसँग भएको एक मात्र पीडा पोख्ने माध्यम भनेको फेसबुक र ट्विटर आदि सामाजिक सञ्जाल नै हुन् ।

बाध्य पारिएको छ आम नेपालीलाई र बोल्ने यिनै आम नेपाली हुन्, तर अचम्म के भने जनता भने बोलेका छैनन् । जो कुनै पाटीको झण्डा बोक्दैन, कुनै नेताको तलुवा चाटदैन, जो राजनीतिक हिस्सेदारीबाट निश्पृह बस्छन् ती सच्चा जनता मुठ्ठीभरका छन्, तटस्थ छन् । यी जनताले विवेक गुमाएका छैनन् । विवेक गुमाउने त ती हुन् जो पाटीको झण्डालाई सलाम गर्छ, नेताको गुलामीमा मग्न छन्, भुपीले भनेझैँ क्यारमबोर्डका गोटिहरू मात्र विवेकलाई किल्लामा झुण्ड्याएर यस्ता कुराहरू लेख्छन् । 

एउटा बाबु आफ्नो मुखसम्म पुगेको गाँस काटेर सन्तानको पालनपोषण गर्छ, आँधीबेरी, घामपानी, हिम तुषारो सबै खपेर जिउमा एक जोर लुगा लगाएर सन्तानलाई हुकाउँछ । यो अरू केही नभएर अभिभावकको स्वार्थत्याग हो । भारतका प्रथम प्रधानमन्त्री लालबहादुर शाश्त्री प्रधानमन्त्री भएकै बखत नमरेका भए लास जलाउन चन्दा उठाउनु पर्ने स्थिति थियो । यो अरू केही नभएर एक राष्ट्रको अभिभावकको स्वार्थत्यागको नमुना हो । हामीले एक नेतामा खोज्ने मूल तत्त्व भनेकै यही स्वार्थत्याग नै हो, तर खै ? कसमा छ यो गुण ? लौ त भन्दा छातीमा हात राखेर आँखा चिम्लेर यो हो हाम्रो नेता, यसले राष्ट्र बनाउँछ, हामीलाई निर्देश गर्छ र दिशा दिन्छ भनौँ भने कसैको अनुहार अगाडि आउँदैन, कुनै नेताको छवि झुल्किदैन । कोही भ्रष्टाचारमा मुछिएका, कोही अपराधी, कोही हत्यारा, कोही गुण्डागर्दीका नायक, खै ! को छ र चोखो ?

हामी एक अर्कालाई लुटन पल्केका छौँ, एक अर्कालाई ठग्न उद्दत छौँ, एक अर्कालाई चुस्न माहिर छौँ, हामी सबै मौकाको ताकमा छौँ, मौका पाउनु हुँदैन हामी आफ्नो रङ्गमा आइ हाल्छौँ । सरकारी तथ्याङ्क ३५ लाख युवा वैदेशिक रोजगारमा गएको छ भन्छ, गैरकानुनी रूपमा जानेको सङ्ख्या पाँच लाख छ । पढेलेखेका युवाहरू अध्ययन गर्न भनेर ब्रेनड्रेन हुँदो छ, यसको यकिन सङ्ख्या सरकारसँग पनि छैन । हरेक घरबाट विदेश नगएका कोही छैनन् । भएका कलकारखानाहरू बन्द भए, हुँदैछन्, रोजगार छैन, करको दायरा र रकम बढदो छ ।

महिनाभर मरिमरि काम गरेर स्वेच्छाले, श्रद्धाले कर तिर्नेहरूको करको रकम अपराधीलाई पुरस्कार स्वरूप दिइन्छ, नेताहरूको बिलासीतामा खर्च हुन्छ, सिटामोल खान नपाउने जनताका नेता करोडौँ रुपियाँ आफ्नो उपचारमा खर्च गर्छन् । एक पटक होइन, दुई पटक होइन, यस्ता कुराहरू बारम्बार हुने गरेपछि यी सबै कुराहरू टुलुटुलु हेरेर बस्न बाध्य नेपालीको कुँडिएको मनबाट निस्कने उदगार अवश्य पनि राम्रो हुँदैन । 

माओवादीहरुको युद्धले गाउँ गाउँका साधारण व्यक्तिमा पनि राजनैतिक सोचको निक्कै विकाश गरेको छ, राजनीतिक सचेतता हरेकमा आएको छ । सञ्चारको विकाशले गर्दा अहिले हरेक नेपाली संसारसँग भिज्ञ भएको अवस्थामा देउवाले पहिलेझैँ नेपालीहरूलाई भेँडा हाँकेझैँ हाँक्न खोज्नु मूर्खता सिवाय केही थिएन र उनले यसको उचित दण्ड पाए पनि ।

रेणु दहाललाई अश्लील अपशब्द बोलाउन लगाउने अरू कोही होइनन्, स्वयम उनकै बाबु प्रचण्ड हुन् जसले यस्तै संस्कारको विकाश गरे, सिकाए र त्यही संस्कार ओकलियो भने उदेक के ! यी त उदाहरण मात्र हुन्, एमाले पनि उही ड्याङको मुला हो, राप्रपा कमजाेर छ, बाँकी कुनै पार्टी सग्ला छैनन्, स्वार्थ स्वार्थ केवल स्वार्थ र सत्तालिप्सामा मरिहत्ते गर्ने यी नेताहरू र दलसँग न त कुनै योजना छ न त कुनै नीति । योजना र नीति भएको भए देउवा हरेक प्रश्नमा अक्क न बक्क पर्नु पर्ने थिएन, ओलीले टुक्का मात्र भन्नु पर्ने थिएन ।

महामहिम नेताज्यूहरू, हामी त आम व्यक्ति हौँ, देश नरहे कुनै नयाँ देशमा हामी दोस्रो दर्जाको नागरिक भएर पनि बाचौँला, जसरी अहिले ५० लाख भन्दा बढी युवाहरू विदेशमा बाँचेका छन् । तर तपाईँहरू सोच्नुहोस्, देश नरहे तपाईँहरूको अहिलेझैँ सुविधाभोगी हुन सक्नुहुने छैन । तपाईँहरूको स्थिति केवल दासको जस्तो हुनेछ र दासलाई कस्तो व्यवहार गरिन्छ, त्यो तपाईँहरूले कल्पना पनि गर्नु भएको छैन । विवेक गुमाएर सत्तोसरापमा उत्रिएकाहरूको संकेत बुझेर नेपालीहरूको सहिष्णुता र धैर्यको धेरै परीक्षा नलिनुहोस्, मौनता डरलाग्दो हुन्छ, यो विस्फोट भएमा के हुन्छ सायद ईश्वरलाई पनि थाहा छैन ।

रबडलाई पनि त्यसको अधिकतम लचकसम्म तन्काउन सकिन्छ र त्यो भन्दा बढी तन्काउन खोज्यो भने चुँडेर आफैलाई लाग्छ । त्यसैले, हे बायोबृद्ध नेताज्यूहरू, तपाईंका थाङ्ने संस्कार हामी देशको लागि भनेर बोक्न नसक्ने भइसक्यौं, तपाईंका मनोमानी सहन नसक्ने भइसक्यौं, रबड चुँडि सक्यो । हामीलाई देश चाहिन्छ, तपाईँहरूको थोत्रो, डेटएक्सापयर वाद र समयानुकूल देशलाई हाँक्न नसक्ने नेतृत्व चाहिदैन । तपाईँहरू भनेको चिज माथि पलाएको ढुसी हो, एक तह खुर्केर फाल्दैछौं । तपाईंहरू भनेको डेटएक्सपायर ओखती हो, रोग निको पार्नुको सट्टा झन् विषको काम गर्छ । उ बेलाको राजनीतिक देनले ब्रम्हलुट गर्न अब पाइँदैन, हामी नै दिदैनौं, अब छोडनुस्, योग्य युवालाई देश हाँक्न दिनुहोस्, कर्मठ, देशभक्त र क्षमतावानले देश हाँकुन् ।

नेपालको जय होस् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै