• २०८१ बैशाख १२ बुधबार

ब्राह्मणवाद र दर्शन

kharibot

प्राचीन कालममा भोजनको सहजताको लागि सिकार र सिकारको लागि मानिस मिलेर बस्न आवश्यक भयो । यही आवश्यकताले एकै परिवार या गोत्रको समूहको जन्म गरायो । उदर भरणको लागि गरिने सिकारमा पनि नेतृत्त्वको आवश्यकता पर्न गयो, यही आवश्यकताले नायकको जन्म गरायो । प्राचीन अवस्थामा नायक त्यो व्यक्ति हुन्थ्यो, जो सिकार गर्न सिपालु हुन्थ्यो, निडर हुन्थ्यो, शक्तिशाली हुन्थ्यो र सिकारलाई समान रुपमा समूहमा वितरण गरेर आवश्यकता परेको बखतमा जंगली जनावरबाट रक्षा गर्न पनि समर्थ हुन्थ्यो । यसरी समूहबाट, ग्राम, गण, क्षेत्र र राज्यको पनि निर्माण हुँदै गयो ।

अनुभवले ज्ञान जन्माउँछ, अनुभवि तर सिकारका लागि बुढा भएका नायकले नयाँ नायकलाई आफ्नो अनुभव ज्ञानको रुपमा दिन थाले, सिकारका लागि योग्यताको आधारमा नायक छान्न थाले । यस कार्यले समूहमा तीन वर्गको निर्माण गर्यो, नायक अथात् शक्ति, सिकाउने शिक्षक र आश्रित । समाज यही रुपले बढ्दै गयो गण, क्षेत्र र राज्यको निर्माण भयो, तथापि मानव समाजमा यी तीन वर्ग अद्यापि कायमै छ ।     

सिकारको लागि आवश्यक सिकारकला सिकाउने, सिकारको लागि हौसाउने, या अदृश्य शक्तिलाई सहायतार्थ पुकार्ने आदि कार्य गर्नेहरु कालान्तरमा पूरोहित भए भने यिनका सहायक पूजारी भए । यि पुरोहित या पूजारीहरु हरेक सिकारमा सहभागि हुन्थे, सिकारका हरेक कृयाकलापको अध्ययन गर्दथे र प्राप्त ज्ञानमा आफ्नो अनुभवलाई मिसाएर पूर्व परम्परा अनुसार नायकलाई सदैव निर्देशित गरिरहन्थे । मानव विकाससँगै समाजमा शासक, शिक्षक र शासित वर्ग पनि जन्मियो । ब्राह्मणवादको जन्म यही सिकार युगमा नै भसकेको थियो । अनुभवको आधारमा पुराना सिकार नायक पूरोहित बन्ने परम्परा पछि गएर परिवर्तन भयो । नायकका सन्तान नायक हुन् या नहुन् तर पुरोहितका सन्तान भने पुरोहित नै हुन थाले । यसको प्रमुख कारण थियो आफ्नो पूर्वजबाट प्राप्त इतिहासको ज्ञान, जसले नायकलाई निर्देशित गर्न उनिहरु सक्षम थिए । पहिले आफै सिकारमा संलग्न हुने यी पुरोहितहरु पछि भने सिकारमा संलग्न नभए पनि बिना श्रम सिकारको भाग पाउँथे, श्रद्धा स्वरुप अदृश्य शक्तिलाई चढाईएको सिकारमा पनि यिनैको अधिकार हुन्थ्यो । यसरी बिना श्रम सुबिधा भोग गर्ने पाउने यीनै पुरोहित र पूजारीहरुले ब्राह्मणवादको जन्म गराए जसको मूल उदेश्य थियो, बिना श्रम राज्य या समाजबाट सुविधाको उपभोग गर्नु । काल क्रमेण यी पुरोहित र पूजारीहरु नायकको आश्रयमा रहने उच्च व्यक्ति हुन थाले ।        

शासकको दान दातव्य र आश्रयमा रहने यी पुरोहित र पूजारीहरुको मुख्य काम भनेको शासकलाई निर्देशित गर्नु नै थियो । यसका अतिरिक्त इतिहासका ज्ञाता यी पुरोहित र पुजारीहरु अध्ययन र अध्यापन कार्यमा पनि लाग्न थालेको कुरा सुमेर, मेसोपोटामियाको सभ्यता र वेदबाट समेत ज्ञात हुन्छ । तथापि, यी शासकबाट नियन्त्रित भने थिए । सामान्यतः शासक सदैव निर्देशित रहन्छ भने शिक्षक नियन्त्रित । शासकलाई शिक्षकले नै बाटो देखाउँछ, नीति नियम कानून प्रचलन संस्कार र सामाजिक व्यबस्थाका हरेक पाटोलाई राम्ररी बुझेर सत्य तथ्य र सही गलतका बारेमा स्पष्ट पार्दछ । यसैले शिक्षक शासकभन्दा शक्तिशाली हुन्छ तर शक्ति आफैले हातमा लिएर प्रयोग भने गर्दैन ।

संसारमा जब राज्यको उत्पत्ति भयो तब राज्यलाई सञ्चालन गर्न राजाको पनि व्यवस्था भयो । सिकार कालका नायकमा निहित गुणयुक्त व्यक्ति नै राजा हुन पुगे तर राजामा एक गुण अझ थपियो न्याय परायण को, हम्बुरावी यसैका प्रथम उदाहरण हुन् । राज्यको उत्पत्तिपछि सर्वप्रथम धनको उत्पत्ति भयो, धनको लालसामा गरिने आक्रमणबाट र रक्षणका लागि युद्ध पनि सुरु भयो । युद्धका कारण कतिपय राज्य, सभ्यता नष्ट भए र ती राज्य र सभ्यताबाट पलायन भएकाहरूले आफ्नो संस्कार, संस्कृति र धर्म पनि बोकेरै गए, मास कल्चरल माइग्रेसन बारम्बार हुँदै गयो ।

यही मास कल्चरल माइग्रेसनकै उपज हुन् वैदिक आर्य ऋषिहरू, जो सुमेर, मेसोपोटामिया, हित्ति, मितान्नी र इरानको धर्म, संस्कार, संस्कृति, इतिहास, कथा र विरोस भाषा साथमै बोकेर आएका थिए । चरणबद्ध रूपमा आएका यी ऋषि पुरोहित र पुजारीहरूको सङ्घर्षको कथा निक्कै लामो छ, तर छोटकरीमा भन्नु पर्दा यिनीहरूलाई सप्तसिन्धुका तत्कालीन समाजले सहजै स्वीकार भने गरेको थिएन ।

कृष्णसारस्तु चरति मृगो यत्र स्वभावतः स ज्ञेयो यज्ञियो देशो म्लेच्छदेशस्त्वतः परः मनुस्मृति २.२३

जतिबेला आर्य ऋषिहरू सप्तसिन्धु क्षेत्रमा आएका थिए, त्यति बेला यस क्षेत्रमा प्रकृति पूजकहरूको व्याप्तता थियो, या भनौँ लोकायतवादी या भौतिकवादी सोच समाजमा व्याप्त थियो । आर्यहरूको अध्यात्मवादी सोच या दर्शन र यज्ञादि कार्यहरू समाजलाई स्वीकार्य थिएन । उसो त इरानमै पनि अध्यात्मवादी ऋषिहरूको याज्ञिक कार्यलाई स्वीकार नगरिकै कारण यिनीहरू पलायन हुनुपरेको थियो । यसैले मनुले म्लेच्छ नभएको ठाउँमा याज्ञिक कार्यहरू गर्नु भनेका थिए ।

दर्शनको आधारमा अध्यात्मवाद, विज्ञानवाद, शून्य वाद, आदर्शवाद, अस्तित्ववाद, भौतिकवाद आदि जे नामाकरण गरे पनि यी सबैको सार या मतभेद भनेको एउटै कुरा हो ईश्वर या आत्मा, या परलोक छ र छैन । संक्षेपमा भौतिकवाद र अध्यात्मवाद । अध्यात्मवादीहरूले ईश्वर, आत्मा र परलोक छ भनेर प्रमाणित गर्न असङ्ख्य शब्दहरू खर्चेका छन्, तर्कहरू दिएका छन्, उपनिषद् यसैको लागि लेखियो, पुराणहरूले यसैलाई प्रमाणित गर्न खोजेको छ । तर यी भन्दा बिलकुल फरक दर्शन हो लोकायत, चार्वाकवाद, या भौतिकवाद ।

अध्यात्मवादीले मान्ने गरेका ईश्वर, आत्मा र परलोक प्रमेय कुराहरू हुन्, अर्थात्, यी कुराहरू पाँच ज्ञानेन्द्रियबाट प्रमाणित नहुने हुनाले यिनलाई प्रमाणित गरिनु पर्ने कुराहरू हुन् । प्रमाणित गर्न प्रमाण चाहिन्छ, प्रमाण चार प्रकारका छन्, प्रत्यक्ष प्रमाण, अनुमान प्रमाण, उपमा प्रमाण र शब्द प्रमाण । अध्यात्मवादीहरूले प्रमेय तत्त्वलाई अनुमान, उपमा र शब्द प्रमाण (तर्क या दर्शन) ले स्थापित गर्न खोजे । यसको विपरीत भौतिकवादीहरू प्रत्यक्ष ज्ञान (एभचअभउतष्यल) मान्न थाले, अभौतिक या प्रमेय तत्त्वलाई अस्वीकार गरे । भौतिकवाद र अध्यात्मवाद दुवैमा थुप्रै दार्शनिकहरू देखा परे, याज्ञवल्क्य, बुद्ध, नागार्जुन पद्यशंम्भव आदि यसैका कडी हुन् । ओशोलाई पनि दार्शनिकमा गणना गरिएको छ तर उनका प्रवचनमा गुण दोष नकेलाई सबै धर्मका स्थापितहरूलाई महान् भनेर द्वन्दबाट बच्ने प्रयास गरिएको छ । उदाहरणका लागि ओशोले हजरत मुहम्मदका बारेमा गरेको टिप्पणीलाई लिन सकिन्छ । महाकवि देवकोटा मानवतावादी थिए, तथापि उनले भौतिकवादलाई बडो सूक्ष्म तर संक्षेपमा उद्यानमा गई बस तब खुल्दछ तत्त्व बोध भनेर प्रकृतिलाई नै आत्मसात गरे । भौतिकवादको यो भन्दा सरल र संक्षेप्य दर्शन सायदै होला ।

भौतिकवाद र अध्यात्मवाद दर्शन बीचको द्वन्द्व कतै लुकेको छैन । अध्यात्मवादी दार्शनिकहरूमा दुई वटा विशिष्ट गुण थियो, पहिलो शब्द चातुर्य तथा उच्च स्वैरकल्पना, जसले उनीहरूले परलोकका, आत्मा र ईश्वरको श्रृष्टि गरे भने त्यसलाई शब्द प्रमाणले उच्चस्तरमा प्रमाणित गर्न खोजे । शासक र शासित दुवै वर्गले यसलाई पत्याए पनि, किनभने शासक वर्गले यस्तो उच्च दर्शन पहिले उनीहरूले सुनेका थिएनन् र सुनाउने या दर्शनका व्याख्याता तिनै पुरोहित र पुजारीहरू थिए जसलाई पुर्खौँ पुर्खादेखि नतमस्तक भएर अक्षरशः पत्याउँदै आएका थिए । जब शासकले नै पत्याएर अवलम्बन गरेपछि मध्यम र निम्न तहका औसत बुद्धि भएका शासितले नमान्ने नपत्याउने कुरा पनि भएन । दोस्रो, तर अत्यन्ते महत्त्वपूर्ण कुरा के भौतिकवादीहरूले दर्शनमा पाप पुण्यको व्याख्या गर्दै मरेपछि पाइने मोक्षको ठुलो लोभको श्रृजना गरे । औसत बुद्धिका व्यक्तिहरूको लागि मरेपछिको यो मोक्ष अर्थात् इह लौकिक बन्धनको लोभ त्याज्य भएन । तर यसैको प्रतिउत्तरमा भौतिकवादीहरूले यसलाई प्रत्यक्ष ज्ञान सम्मत नभएकोले अस्वीकार गरे । तर यही मोक्ष नै ब्राह्मणवादको सूत्रधार हुन गयो, यही मोक्षको लागि अनेकन् कर्मकाण्डहरू श्रजित भए, दानको महिमा बढ्न थाल्यो । सुरुमा दमित अध्यात्मवादीहरूको उग्र प्रगति हुन थाल्यो, यसको विरोधमा भौतिकवादीहरू पनि विरोधमा लागि परे । चार्वाक दर्शन या लोकायतकै पक्षधर बुद्धले कर्मकाण्ड या मोक्षको बदलामा चरित्र र शीललाई मुख्य मानेर वैज्ञानिक र सरल तरिकाले लोक भाषामा भौतिकवादको प्रचार गरे ।

भौतिकवाद र अध्यात्मवाद बीचको द्वन्द्व चली नै रह्यो र यी दुवैलाई राजनीतिक समर्थन र संरक्षण पनि प्राप्त हुँदै गयो । परलोक, मोक्ष, आत्मा र ईश्वरलाई बडो मोहक ढङ्गले रहस्यात्मक र कतिपय अवस्थामा बुझ्न कठिन शब्द जालमा लपेटेर अध्यात्मवादीहरूले दिने दर्शनको प्रवचन औसत बुद्धि भएकाहरूका लागि दुष्कर र भ्रमात्मक थियो, जसले बुझ्ने सामर्थ्य राख्दथे, ती भने यसका विरोधी पनि भए, चार्वाक, बुद्ध, नागार्जुन, पद्य सम्भव आदि यसका उदाहरण हुन् । जब अध्यात्मवादलाई मोक्षको चाहना राख्ने राजा, कुलिन वर्ग र धनाढ्य वर्गले समर्थन गर्दै गए, तब समाजको विधि निर्माता पनि यिनै अध्यात्मवादी, जो राजा, कुलिन वर्ग र धनाढ्यका पुरोहित या पुजारी थिए, नै हुन पुगे । विधि निर्माताले समाजलाई चार वर्गमा बाँडिदियो, पुरोहित पुजारीहरू अभय दान सहित पूज्य ब्राह्मण वर्गमा जनिए, राजा, कुलिन र धनाढ्यहरू द्विजमा दरिए भने प्रत्यक्ष उत्पादक वर्गलाई शूद्र वर्गमा राखिदिए । सत्त्व, रज, तम र रजतमो चार वर्ण परिवर्तन भएर शिक्षक, शासक, पुँजीपति र सेवक चार जातमा विभाजित भए ।

अध्यात्मवादको लागि सरल भाषा प्रयोग नभएर सीमित वर्गले प्रयोग गर्ने संस्कृत भाषा नै सर्वोपरि रह्यो, जसमा पुरोहित, पुजारी या ब्राह्मण वर्गको बाहेक बिस्तारै शासक, कुलिन वर्ग र पुँजीपतिहरूको पनि पहुँच कम हुँदै गयो । शब्दाम्बर, रहस्य, भाषा र अभौतिक व्याख्याले अध्यात्मवादी दर्शनको व्याख्याता केवल ब्राह्मण वर्ग हुन पुग्यो, अर्थात्, शास्त्र यिनको एकलौटी हतियार बन्यो, जसलाई निहित हितार्थ अन्धाधुन्ध प्रयोग गरिन थालियो, ईश्वरको अस्तित्व माथि शङ्का या प्रश्न गर्न रोक लगाइयो र जसले शङ्का या प्रश्न गरे तिनलाई नास्तिक या बाम चारीको आरोप लाग्न थाल्यो । ईश्वर र मोक्ष बीचको सम्बन्धकर्ता केवल ब्राह्मण भए जसले अनेक प्रकारका कर्मकाण्डका विधिहरू प्रयोगमा ल्याए, ती कर्मकाण्डहरूलाई प्रमाणित गर्नका लागि पुराणहरूको रचना गरे, वेद र अन्य शास्त्रहरू देखाई दिएर शास्त्रमा यस्तो लेखिएको छ भनेर अपव्याख्या गर्न थाले । सरल अर्थमा भन्नुपर्दा ब्राह्मणवादीहरूले वेद तथा शासत्रहरु देखाउँदै, जसमा सामान्य जनको पहुँच थिएन, दर्शनलाई छोडेर केवल कर्मकाण्डलाई मात्र प्रधानता दिँदै गए ।

सनातन वर्णाश्रम धर्ममा भएका सबै कर्मकाण्डहरू अनावश्यक छन् भन्नु गलत हुन्छ । कतिपय कर्मकाण्डहरू प्राचीन संस्कार, सामाजिक संस्कार र मर्यादा बोकेका पनि छन् र तिनले हाम्रो प्राचीन परम्परालाई निरन्तरता पनि दिइरहेका छन् । तथापि, थुप्रै कर्मकाण्डहरू केवल ढोङ, धूर्तता र धर्मप्रतिको आस्थाको अनुचित लाभ उठाउने कर्म मात्र हो ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल

जुन रक्षा सूत्रले दानवराज बलीलाई धर्मको बन्धनमा बाँधिएको थियो, त्यही सूत्रले म तिमीलाई बाँध्दछु, हे रक्षसूत्र, तँ स्थिर रहनु, चलायमान नहुनु ।

रक्षा सूत्र बाँध्दा उच्चारण गरिने यो मन्त्र या श्लोक विष्णु पुराणबाट लिइएको हो । विष्णु पुराण अनुसार विष्णुले छल गरेर बलिसँग तीन पाउ जमिन मागेका थिए, पहिलो पाउले पृथ्वी टेके, दोस्रो पाउले आकाश र तेस्रो पाउ टेक्नको लागि स्थान माग्दा बलिले आफ्नो सिरमा टेक्न भने । औसत बुद्धिका लागि यो निक्कै ठुलो मन्त्र सुनिन सक्छ । तर यसको शाब्दिक अर्थको आधारमा हेने हो भने यस मन्त्रमा खासै कुनै ठुलो आह्वान, प्रार्थना या आशीर्वाद, गुँढ रहस्य या दर्शन केही पनि छैन । यो केवल भ्रममा पारेर गरिने कर्मकाण्ड मात्र हो ।

ब्राह्मणवाद केवल धर्मको नाममा बिना श्रम अनेकन् कर्मकाण्ड गरेर धन आर्जित गर्नु मात्र होइन, अपितु धर्मको मूल दर्शनलाई धुलिसात गर्दै धर्मलाई केवल आय आर्जनको सरल बाटो बनाउने कार्य समेत हो र अर्थमा संसारका सबै धर्ममा ब्राह्मणवाद हाबी भएको कुरालाई नकार्न सकिन्न । ब्राह्मणवादले धर्मको नाममा मानिसलाई दास बनाइरहेको छ, हत्या हिंसा गराइरहेको छ र यो रोकिँदैन पनि । अफ्रिका, इस्ट टिमोर, बोस्निया, सिरिया आदि युद्ध ब्राह्मणवादले गराएका युद्ध हुन्, शिया सुन्नी, क्याथोलिक अर्थाेडक, चार जात छुवाछुत, हीनयान महायान बज्रयान आदि पनि ब्राह्मणवादले फैलाएका भ्रम हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै