• २०८१ बैशाख १५ शनिबार

एक्स मुस्लिम अभियान र हिन्दु धर्म

kharibot

लेखक: विपुल सिजापति

विश्वमा भारतले अहिले विश्वको प्रमुख पाँच राष्ट्रमा पुग्न सफल भएको छ र यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको योगदान उत्कृष्ट देखिएको छ । नरेन्द्र मोदीले हालै आबुधाबीमा एक विशाल मन्दिरको उद्घाटन गरेर आएका छन् । यु.ए.इ. मा पहिल्यै दुबईमा एक मन्दिर थियो भने सारजहाँमा पनि मन्दिर निर्माण गर्न सरकारले जग्गा प्रदान गरेको छ ।

यसै गरेर साउदी अरबका राजकुमारले आफ्नो छोरीको नाम नै हिन्द राखेका छन् । हिन्दु धर्मावलम्बीहरूको लागि या अत्यन्त खुसी र गर्वको कुरा हो । मुस्लिम धर्मका कट्टर अनुयायी अरबी मुलुकहरू यतिखेर सहिष्णु देखिनु अत्यन्तै अचम्मको कुरा हो र यसले अरबी र खास गरी मुस्लिम समाजले कट्ट्रपन्थलाई बिस्तारै त्याग्दै गरेको सङ्केत दिएको छ । यसको पछाडिको कारण विश्व व्यापारिक र समयानुकूल चेत नै हो भन्न सकिन्छ ।

कुरा गरौँ इस्लाम धर्मको बीजारोपण भएको देश साउदी अरेबियाबाट । साउदी सरकारले साउदी अरेबियाको रियादमा ७२ वर्ष पछि मदिरा बिक्रीलाई कानुनी मान्यता दिइएको छ । यो भन्दा अगाडि साउदी अरबमा केवल विदेशी डिप्लोम्याटलाई मात्र मदिरा वैध थियो । इस्लामी कानुन अनुसार बुतपरस्ती (मूर्ति पूजा) सङ्गीत, नाचगान पनि हराम (अधार्मिक) कार्यहरू हुन् भने सिनेमा हेर्नु पनि यसै अन्तरगत पर्दछ । तर इस्लामी कानुन र मान्यता विपरीत साउदी सरकारले गीत सङ्गीत र सिनेमा हललाई पनि साउदी अरेबियामा वैध गरिएको छ । यस अन्तरगत साउदी अरेबियामा २००० सिनेमा हल खोल्ने तयारी हुँदै गरेको छ । नाचगान वैध भएको साउदी अरबमा जस्टिन बिबर, रियाना र निक्कि मिनाज आदिले लाइभ कन्सर्ट पनि आयोजना गरिसकेका छन् ।

यसै गरेर सन् २०१८ देखि महिलालाई पनि साउदी सरकारले गाडी चलाउने अनुमति दिइएको छ । सन् १९८९ सम्म सेक्युलर देश रहेको इरानमा  सिया मुसलमानहरूको नेता आयोतोल्लाह खुमैनीले शासन चलाउन थालेपछि यहाँ अन्य धर्मको धार्मिक किताबहरूमा ब्यान्ड लगाइएको थियो, तर अहिले आएर इस्लाम छाडेर क्रिस्चियन धर्म अपनाउनेहरूको सङ्ख्या ५.६ प्रतिशत पुगेको छ । यहाँका पचहत्तर हजार मस्जिद मध्ये पचास हजार मस्जिद अहिले बन्द भएका छन् भने भित्रभित्रै इरानको पहिलो अवेस्तन धर्ममा फर्कनेहरूको सङ्ख्या पनि अत्यधिक बढ्दो छ । सन् २०२० को तथ्याङ्क अनुसार इरानमा ४० प्रतिशत मा मुस्लिम छन्, बाँकी ६० प्रतिशत इथिस्ट या अन्य धर्म मान्नेहरू छन् । २०२२ मा कुर्द महिला मासा अमिनिलाई हिजाब नलगाएको आरोपमा टाउकोमा डण्डा प्रहार गरिएको थियो, जसले उनको मृत्यु भएपछि बृहत् विरोध भएको थियो । यी सबैको मूल जरो इस्लाम धर्म भएको आधाररमा इरानीहरू लादिएको धर्म नै त्याग्दै सरकारलाई असहयोग गरिरहेका छन् ।

सन् २०१७ को एक रिपोर्ट अनुसार युरोपमा चालिस हजारले मुस्लिम धर्म अपनाएका थिए भने करिब दुई लाखले इस्लाम धर्म त्यागेका थिए । इटलीमा सार्वजनिक स्थानमा एकत्र भएर नमाज पढ्नमा रोक लगाइएको छ भने कुरानका आयतहरु पनि स्थानीय भाषामै पढ्नु पर्ने प्रावधान लागु गरिएको छ । अहिले आएर युरोप, अमेरिका, अफ्रिकाका देशहरू र पूर्वी एसियाका मलेसिया, इन्डोनेसिया आदि देशहरूमा पनि इस्लाम धर्म त्याग्नेहरूको सङ्ख्या बढ्दो छ । अफ्रिकि राष्ट्र अंगोलाले इस्लाम धर्मलाई अवैध ठहर गरेको छ, त्यहाँ मस्जिदहरू भत्काइएका छन् । इस्लाम धर्म त्याग्ने लहरले रुस बाट टुक्रिएर अलग भएका कजाकिस्तान, तजाकिस्तान तुर्कमेनिस्तान आदि देशहरू पनि अछुतो रहेका छैनन् । चाइना सरकार इस्लाम प्रति कडा रूपमा उत्रिएको छ, चाइनामा थुप्रै मस्जिदहरू भत्काइएको छ । अरू त अरू धर्मको नाममा स्थापित भएको देश पाकिस्तानमा पनि इस्लाम धर्म त्याग्नेहरूको सङ्ख्या बढ्दो छ, यहाँ पनि एक्स मुस्लिम आन्दोलन तीव्र गतिमा फ्रलिरहेको छ भने अफगानिस्तानमा पनि भित्री तवर मा यो आन्दोलन फैलिन सुरु भएको छ । हालैको एक तथ्याङ्क अनुसार संसारभरि २४ प्रतिशत वंशगत इस्लाम धर्म मान्ने युवाहरू इस्लाम धर्म छाडेका छन्, अर्थात् हरेक वर्ष १० लाखको हिसाबले ६.२ करोड मुसलमानहरूले इस्लाम धर्म त्यागेका छन् ।  

इस्लाम धर्म छाड्ने अभियान विश्वभर फैलिरहेको छ । इस्लाम  धर्म छाड्ने अभियानको सुरुवात २००५ मा इरानबाट सुरु भएको थियो र यसलाई एक्स मुस्लिम आन्दोलन नाम दिइएको । सन् २००५ बाट सुरु भएको आन्दोलन २००६ मा बेलायतमा पनि सुरु भयो र यसका साथै युरोपका अन्य देशहरू, अमेरिका, अफ्रिकाका देशहरू र दुई वर्ष अगाडि देखि भारतको केरल राज्य बाट पनि संस्था दर्ता भएर नै अगाडि बढिरहेको छ । संसरभरी पचास भन्दा बढी संस्थाहरु दर्ता नै भएका छन् । गत वर्ष इरानमा भएको एन्टि हिजाब आन्दोलनले पनि यस आन्दोलनलाई अझ फैलाउन मद्दत गरेको छ र यसमा विशेषतः महिलाहरू पनि आफ्नो नैसर्गिक हक इस्लाम धर्मको कारणले खोसिएको भन्दै रुष्ट भएर अगाडि बढिरहेका छन् । इस्लाम धर्ममा नारीको विवाह गर्ने उमेर किटान गरिएको छैन । अर्थात्, नाबालक कन्याहरू पनि बाबुको स्वीकृतिमा युवा मात्र नभएर प्रौढसँग पनि विवाहित भएका छन् र यसलाई धर्मले नै ठीक ठहराएको छ । इस्लाममा तीन पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने अधिकार पुरुषलाई दिएको छ र उनै स्त्रीलाई फेरि विवाह गर्ने प्रावधान उक्त स्त्रीले कुनै अन्य पुरुषसँग विवाह गरेर तलाक लिएपछि (हलाला) पुनः विवाह गर्न सक्ने प्रावधानलाई महिलाहरूले सशक्त रूपमा अस्वीकार गरिरहेका छन् र यसलाई मानवअधिकारसँग दाँजेर हेरिरहेका छन् ।

यति हुँदाहुँदै पनि इस्लाम धर्म छाड्नेहरूले आफूलाई एथिस्ट नभनेर एक्स मुस्लिम भनिरहेका छन् । उनीहरू कुरान केही आयतहरू र हदिसका थुप्रै व्याख्याहरू,  जुन अतार्किक, विज्ञान असम्मत, अमानवीय छन्, तिनीहरू सुधारिनु पर्ने, परिवर्तित हुनु पर्ने र निकालिनु पर्ने धारणा राख्दछन् । इस्लाम धर्मको आधारमा यी कुराहरू असम्भव छन् । इस्लामका अनुसार कुरानका कुनै पनि आयत अपरिवर्तनशील छन्, अरू त अरू कुरानका सबै आयतहरू अल्लाहले मुहम्मदलाई भनेका हुँदा त्यसमा एक नुक्ता (बिन्दु) पनि परिवर्तन हुन नसक्ने कुरा इस्लामका मौलवीहरू जिकिर गर्दछन् र यही मान्यता रहँदै आएको छ । तर हदिसका अनुसार सटेनिक भर्सेजले यसलार्य झुट पनि साबित गरिदिएको छ । एक्स मुस्लिमहरू भन्दछन्, कुरानका केही आयतहरू र हरिसका केही व्याख्याहरू विज्ञान सम्मत, मानवतासम्मत छैनन्, यिनमा कुनै तर्क गर्न, प्रश्न गर्न या यिनको सत्यतामाथि शङ्का गर्न समेत बन्देज गरिएको छ । यिनिहरूका अनुसार कुरानका केही आयतहरू र हदिस बिच नै बिरोधाभाषपूर्ण कुरा, व्याख्या र तर्कहरू छन्, जसको कतैबाट सन्तोषजनक, तार्किक र विज्ञानसम्मत उत्तर पाउन सकिन्न, किनभने इस्लामका अनुसार कुरान र हदिसमा जे लेखिएका छन् त्यसलाई त्यही अवस्थामा स्विकार्नु र मान्नुको कुनै विकल्प छैन । एक मुस्लिमहरू इस्लाम मानव अधिकारप्रति संवेदनशील नभएको र महिला हक अधिकार प्रति उदासीन शुष्क र कठोर रहेको आरोप लगाउँछन् । उनीहरू इस्लाम धर्मले व्यक्तिगत स्वतन्त्रता माथि धार्मिक बन्देज थोपरिएको र मानिसहरूलाई कट्टर बनाइरहेको आरोप लगाउँछन् । इस्लाम धर्म र कुरान ईश्वर निर्मित नभएर मानव निर्मित हो र धर्म मानवता भन्दा माथि हुन सक्दैन भन्ने उनीहरूको तर्क छ । बुर्का, हिजाब र सरिया कानुनले महिलाहरूलाई कष्ट दिइरहेको र उनीहरूको नैसर्गिक असधकार समेत खोसिएर महिला केवल बच्चा जन्माउने र पुरुषको अधीनतामा बाच्न बाध्य बनाएको उनीहरूको तर्क छ । कुरानलाई रट्टा लगाएर घोक्नु र त्यसको हरेक कुरा अन्धभक्त भएर मान्नु भन्दा त्यसको हरेक कुरा तार्किक र विज्ञान सम्मत हुनु जरुरी छ भन्ने उनीहरूको भनाई छ । यसैले उनीहरू इस्लाममा भएको कुरीतिहरूको अन्त्य हुनु पर्छ भन्नेमा जोड दिन्छन् । देश र मानवतालाई भन्दा पनि कुरान माथि राख्नाले या धर्मको कट्टरताले अन्य धर्म तथा धार्मिक आस्था भएका मानिसहरूप्रति घृणा, द्वेष उब्जिएको, र अन्य धार्मकालाई काफिर मानेर इस्लाम नमाने हत्या गर्न समेत कुरानले निर्देश दिनुलाई उनीहरू ऋतार्किक, अमानवीय र बर्बरताको संज्ञा दिन्छन् ।

इरानमा शाहको सत्ता पलटपछि इरानीहरू केही समयपश्चात् देश पुनः सेकुलर राज्य हुनेमा विश्वस्त थिए, तर भयो उल्टो । इरानी जनतामाथि इस्लामी कानुन समेत लादिएकोले उनीहरू रुष्ट हुन लागे । उनीहरूको नम्र विरोधहरू जब दमन गरिएर उल्टै देशमा सरिया कानुन समेत लाग्न पुग्यो तब इरानीहरूको विरोधले उग्र रूप लिन पुग्यो र सरकारले पनि त्यसलाई सम्बोधन गर्नुको सट्टा झन दमन गर्नतिर लाग्यो । यसको विरोधमा इरानी जनताहरूले हक अधिकार र मानवता विरोधी इस्लामलाई नै त्याग्न थाले । सन् २००५ बाट सुरु भएको यो अभियान इन्टरनेटको पहुँच पछि यो विरोध भित्रभित्रै झन्झन् फैलियो र अहिले विश्वव्यापी रूपमा फैलिँदै गएको छ ।

विश्वमा इन्टरनेटको प्रयोगले अहिले संसारका हरेक कुनाका मानिस एक अर्कासँग जोडिएका छन् । विश्वको कुनै पनि कुनाको घटना तत्कालै संसरभरी फैलन्छ र त्यसको प्रतिक्रिया पनि सुरु भइहाल्छ । धर्म एक आस्थाको विषय हो र यसलाई कट्टरताका साथ लाद्न सकिन्न । अहिलेका जिज्ञासु युवाहरू र इन्टरनेट प्रयोगकर्ताहरू हरेक कुरालाई सत्य हो हैन भनेर फ्याक्ट, फिगर, इतिहास, साक्षी, सबुत, विज्ञान र तर्कको आधारमा हेर्ने गर्दछन् । अहिले विश्वभरि नै मानिसहरू मानवतालाई प्रथम स्थान दिन्छन्, व्यक्तिगत स्वतन्त्रता, हक अधिकार प्रति सचेत र जागरूक छन् । कुरान र हरिसका कुराहरूमा उठेका कुराहरूको कतैबाट सत्य तथ्य, तार्किक, विज्ञानसम्मत उत्तर नपाएर छटपटिएका व्यक्तिहरूले इन्टरनेटमा खोज गर्दा सही गलतको ज्ञान उनीहरूले पाए, यसले उनीहरूलाई प्रस्ट कुरा थाहा भएपछि मोहभंग भयो र यसको लहर विश्वव्यापी हुँदै छ ।

पाकिस्तानमा पनि यो अभियान चरम रूपमा चुँलिदैछ । इन्टरनेटको सुविधा पाएका पढेलेखेका युवा तथा प्रौढहरू समेत यो अभियानमा जोडिएका छन् । धर्म बुझ्नको लागि इतिहास बुझ्न आवश्यक छ र जब इतिहासको ज्ञान हुन्छ तब हरेक कुरा छर्लङ्ग हुन्छ, पाकिस्तानमा यही हुँदै छ । त्यहाँका युवा जमातहरूले आफूहरू केही पुस्ता अगाडि मात्र हिन्दुबाट मुसलमान बनेको, पाकिस्तान सरकारले यसको इतिहास लुकाएको र धार्मिक सांस्कृतिक धरोहर मासेर जनतालाई अँध्यारोमा राखेको आरोप लगाइरहेका छन्, जुन सत्य पनि हो । विभाजनको समयमा करिब १२ प्रतिशत हिन्दु रहेको पाकिस्तानमा अहिले एक प्रतिशत जति हिन्दु छन्, त्यहाँका मन्दिरहरू भत्काइएका छन् र अन्य माइनोरिटिका नागरिकहरूलाई पनि धर्म परिवर्तनको लागि दबाब दिने, मार्ने र अवहेलना गर्ने गरिँदै आएको छ । अहिलेका युवाहरू यो धार्मिक असहिष्णुता हो भन्दै यसको विरोधमा उत्रिएका छन् ।

धर्मको सुन्दर पक्ष भनेको दर्शन हो, अन्यथा यसका हरेक कथा काल्पनिक र उधारो लिइएका छन् । धर्मको कन्सेप्ट मेसोपोटामियाबाट सुरु भएको देखिन्छ । व्यापार, बसाइ सराई र युद्ध पलायनका कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दथे, यसैले यताको कथा कहानी त्यता र त्यताको कथा कहानी यता आउन सुरु भयो । समय, भाषा र भौगोलिकताका कारण यसका घटना र पात्रहरूको नामहरू पनि हेरफेर हुँदै गए । मेसोपोटामियाको सुमेर सभ्यतामा पृथ्वीलाई समतल मानियो र यसलाई गुम्बज बनेर पहिले तीन र पछि सात तहको आकाशले घेरेको कल्पना गरियो र सातौँ तहमा एन या एनु देवता रहेको कल्पना गरियो । यही कल्पना यहुदी इसाई, इस्लाम र हिन्दु धर्मले पनि अनुकरण गर्यो ।

सातौँ आकाश या लोकमा ब्रह्मा, यहोवा, परमेश्वर, अल्लाह आदिको वासस्थान मान्नुको कारण यही हो । अवेस्तन धर्मको मस्या र मस्यानागालाई आंग्रमन्युले भ्रमित पारिदियो, यसैले उनीहरूलाई स्वर्गबाट पृथ्वीमा झारियो । यही कथा यहुदीहरूको ओल्ड टेस्टामेन्टमा पनि लिइयो र त्यसमा मस्या र मस्यानागा आदमा र चावाको नाममा आए, भ्रमित पारिदिने आंग्रमन्यु साँप भयो । इसाईहरूले आदमा र चावालाई एडम र इभ बनाए, साँप यहाँ सैतान बन्यो, इस्लामले एडम र इभलाई आदम र हव्वा बनायो र इसाई को सैतानलाई उस्तै रूपमा लियो । स्वर्ग, नर्क र आत्माको परिकल्पना अवेस्तनहरूको थियो, यसलाई प्राय सबै धर्महरूले अनुकरण गरेका छन् भने स्वर्ग नर्क का देवताहरू पनि नाम फेरिएर सबै धर्ममा छन् । धर्मका कथाहरू पनि यही रूपले अनुकरण गरिएका छन् भने देवताहरू पनि नाम फेरिएर रहेका छन् ।

पुराणका कथाहरू पनि थुप्रै उधारो लिइएका छन् भने वेदमा स्वर्ग, नर्क र आत्माको अवधारणा पनि अवेस्तनबाट सुप्त रूपमा विद्यमान देखिन्छ । अन्य धर्ममा भएको मृत्युपछिको स्वर्ग र नर्कको अवधारण भने उपनिषद कालम आएर परिवर्तन भयो र स्वर्गभन्दा माथि मोक्षको अवधारण अगाडि आयो । यो नै हिन्दु धर्म र दर्शनको अनुपम कुरा हो । उपनिषद कालमा दर्शनको ठूलो विकास भयो, आत्माको मोक्षको कुरा अगाडि आयो, साथसाथै मोक्षका लागि कर्मकाण्डीहरूले पनि विभिन्न उपायहरू अगाडि ल्याए । चौथौँ शताव्दि पछि हिन्दु धर्म दर्शनको बोझ उतारेर कर्मकाण्ड, भक्ति र प्रवचनमा मात्रै सीमित हुँदै आउन थाल्यो । आफू पवित्र या उच्च हुँ भन्ने देखाउन हिन्दु धर्ममा पनि थुप्रै कुरीतिहरू भित्रिए । यिनै अवधारणले हिन्दु धर्ममा पनि थुप्रै अवैज्ञानिक, अमानवीय कुराहरू, मान्यताहरू र कर्मकाण्डहरू विकसित हुन थाल्यो । गरुड पुराणको प्रेत कल्पमा भनिएका कुराहरू, छुवाछुत, जाति प्रथा, आदि यसका प्रत्यक्ष उदाहरणहरू हुन् । स्वस्थानीमा महादेवले अग्निलाई वीर्य दिएको र उनले पिएर ओकलेको बीभत्स कथा यसैको उदाहरण हो । यस्ता थुप्रै कथाहरू, प्रथा र कर्मकाण्डी कार्यहरू हिदु धर्ममा छन् । वैदिक दर्शनको बृहत् आयामलाई बिर्सेर यिनै पाखण्ड, ढोँग, जातजाति छुवाछुतलाई धर्मको नाममा अङ्गाल्दै लाने हो भने हिन्दु युवाहरूमा पनि एक दिन एक्स हिन्दु अभियान नआउला भन्न सकिन्न । पुराण कथाका वक्ताहरू, कर्मकाण्डी पण्डितहरू र धर्मका व्याख्याताहरूले समयमै शास्त्रमा भएका कुराहरूलाई सुधार्न, गलत हो भन्न अब अत्यावश्यक भइसकेको छ ।

रजनिस भन्थे, अहिले धर्म धर्म भनेर चिच्याउनेहरू, चाहे ती हिन्दु हुन्, इसाई हुन् या मुसलमान हुन्, यी सबै केवल मूर्ति उपासक मात्र हुन् । देवता, जिजस या मजारमा झुकेर यी केवल मान्छेले बनाएका मूर्तिको पूजा गर्छन्, परमेश्वरको ध्यान र आराधना गर्दैनन् । यी आआफ्ना धर्मग्रन्थ भित्र सुतुरमुर्गले झैँ टाउको गाडेर बसेका छन्, मस्तिष्कलाई धर्मग्रन्थ रुपी बाकस भित्र कैद गरेका छन् या कैद  गर्न उद्धत छन् । यिनै सोचहीनहरूको कृत्य हो जेहाद, क्रुसिफाइड गर्नेहरू, पुष्यमित्र र शशाङ्क को धर्मान्धता पनि बाकस भित्र कैद अचेतन मस्तिष्क नै हो । अहिलेको एक मुस्लिम अभियानको कारण यही धर्म हो, पाकिस्तानको बदहालीको कारण यही धर्म हो, अफगानिस्तानको अशान्ति यही धर्म हो, सिरियाको विनाश यही धर्म हो । यिनीहरूले बाकस भित्रबाट मस्तिष्कलाई निकाल्न नै चाहेनन्, धर्मग्रन्थको वाक्यभन्दा पर सोच्न नै सकेनन् न त सोच्न दिए या सोच्नको लागि वातावरण नै बनाए । यी धर्मग्रन्थहरूले मान्छेलाई आँखामा पट्टा लगाएको घोडा समान बनाएको छ जसले दायाँ बायाँ देख्न सक्दैन र अगाडि केवल आफ्नै धर्मग्रन्थ मात्र देख्दछ । यी चिन्तन विहीन छन् यसैले जागृत चेतना यिनमा छैन ।    

यदाचर्मवदाकाशम् वेष्टइष्यन्ति मानवाः
तदा वेदम् अविज्ञाय दुःखस्यान्तो भविष्य

तर जुन दिन मानिस आकाशलाई ओढ्ने जसरी बेह्रेर आफ्नो हातमा लिन्छन्, अर्थात् ब्रह्माण्डको वैज्ञानिक रहस्यहरू जान्दछन्, त्यस दिन ईश्वरलाई जान्नु बुझ्नु बिना नै मानवताको दुःखको अन्त्य हुनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै