काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको दबंग टुर हेर्न तिक्त काटेका सर्वसाधारणलाई महानगरीय अपराध महाशाखा सम्पर्क राख्न महाशाखाले अनुरोध गरेको छ ।
आज एक विज्ञप्ति प्रकाशित गर्दै सलमान खानको शो गर्ने भन्दै लाखौं ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ र ओडिसीका सुपरभाइजर रबिन केसीलाई पक्राउ गरेको जानकारी दिदै महाशाखाले सो कार्यक्रमका लागि टिकट काटेका सर्वसाधारण र् प्रायोजकलाई टेकु स्थित महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
अहिले दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई शुक्रबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।
नेपालमा सलमान खानलगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट बिक्री गरिएको भए पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका थिएनन् ।
त्यो बेला बिक्री गरिएका टिकटको रकम फिर्ता नगरी सलमान केही समयपछि आउने गुरुङले बताउँदै आएका थिए ।
यसअघि फागुन २६ गतेको 'द दबंग टुर' कार्यक्रम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले तत्काललाई स्थगित गरेको थियो ।
त्यसको केहिसमय पछी २०७५ को शनिवार जेठ १२ गते सलमान आउने बताइएको थियो । तर सो समयमा पनि सलमान नयाएपछि आयोजक ओडिसीले सलमानको शोको नयाँ मिति घोषणा गरिने बताउदै आएको थियो ।