काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
गएराती एथलेटिक बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिड हारबाट जोगिएको हो । रियल म्याड्रिडका लागि खेलको ८७औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै हारबाट जोगाएका थिए ।
यस अघि बिल्बाओले खेलको खेलको १४औ मिनेटमा इनाकी विलियम्सको गोलको मद्दतले खेलमा सुरुवाती अग्रता लिएको थियो ।
रियलको घरेलु मैदानमा भएको खेलमा बिल्बाओका गोल किपर केपा अरिजाबालागाले उत्कृष्ट प्रदर्शन गरेका थिए । किपाले रियलका १० गोलका सटलाई असफल बनाउदै रियललाई अंक बाड्न बाध्य बनाएका थिए ।
रोनाल्डोले यस गोलसहित पछिल्ला १२ खेलमा २२ गोल गरेका छन् ।
रियल म्याड्रिड यो बराबरीपछि ३३ खेलमा ६८ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । रियलले यस सिजनमा ला लिगाका २० खेलमा जित हासिल गरेको छ भने ८ खेल बराबरी खेलेको छ, त्यस्तै ५ खेलमा हार बेहोरेको छ ।
त्यस्तै एथलेटिक बिल्बाओ भने ३३ खेलमा ४० अंक सहित लिगको १२औ स्थानमा रहेको छ ।