काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समिति बैठक बोलाएकी छन् ।
पार्टी एकीकरणलगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको श्रेष्ठले जानकारी दिएकी छन् । बैठक आगामी चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्ने भएको छ ।
बैठकमा उपस्थित हुन पाउनेहरुमा पार्टीका संरक्षक जेलमा हँदा बनेका केन्द्रीय सदस्यहरु, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरु, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरु, संस्थापक केन्द्रीय सदस्यहरु रहेका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा प्रमाणपत्र ल्याउन भनिएको छ भने पार्टीले कारवाही गरेका केन्द्रीय सदस्यलाई बैठकमा सहभागी नगराइने भएको छ ।
नाउपा र डा. सिके राउत नेतृत्वको जनमत पाटीबीच एकताको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा बैठक बस्न लागेको छ ।