• २०८१ बैशाख १७ सोमबार

नाउपामा श्रीमान श्रीमतीबीच विवाद !

kharibot

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रेशम चौधरी र पत्नी रन्जिता श्रेष्ठबीचको विवाद सतहमा आएको छ । श्रीमान श्रीमतीको विवादले नाउपामा दुई स्पष्ट धार देखिएको हो ।

शुक्रवार सुदूरपश्चिम प्रदेशमा तीन मन्त्री नियुक्त भएपछि श्रीमान श्रीमतीको विवाद बाहिर आएको हो । 

रेशम चौधरीको निर्देशनमा तीन मन्त्रीले शपथ लिएका थिए भने अध्यक्ष रन्जिताले भने पार्टीको निर्देशन विपरित सरकारमा गएको भन्दै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएकी थिइन् ।

पछिल्ला घटनाक्रमले नाउपाका संरक्षक समेत रहेका रेशम चौधरी कांग्रेससँग नजिक भएर अगाडी बढ्न चाहेको देखिएको छ भने रन्जिता नयाँ गठबन्धनसँग नजिक हुन खोजेको देखिएको छ । ।

बुटवलमा शनिबार रेशम चौधरीले पत्रकारहरुसँग भने- ‘पार्टीमा अन्तरद्वन्द्वलाई बढाउनु हुँदैन, कुनै ठाउँमा उहाँ (पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ) ले मन्त्रीहरू सरकारबाट फिर्ता आउनुपर्छ भन्ने बोल्नुभएको होला । हाम्रो पार्टीमा सरकारमा पठाउँदा र फिर्ता गर्दा केन्द्रीय समितिको निर्णय चाहिन्छ भन्ने छ । केन्द्रीय समितिको बैठकको निर्णय सबैले स्वीकार गर्नुपर्छ ।’ साथै उनले सुदूरपश्चिम सरकारमा गएका मन्त्रीहरू फिर्ता हुनेछैनन्, केन्द्रीय समितिको बैठकले यो समस्याको समाधान गर्ने बताए । रेशमले लुम्बिनी सरकारलाई समेत नाउपाले समर्थन गर्ने गरि छलफल अगाडी बढाएको बुझिएको छ । 

नाउपामा निर्वाचित भएका रेशमलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरेर उनकी श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष कायम गरिदिएकै समयमा पार्टीभित्र असन्तुष्टि बाहिर आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै