नेपालगन्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
कांग्रेसको राप्ती सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् । नेता डा.कोइरालाले भने, ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।’
उनले सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए । व्यक्ति बलियो होइन, संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए ।
निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन् । पन्ध्रौं महाधिवेशनका लागि सभापति लड्ने उद्देश्य साथ कोइराला देश दौडाहामा छन्। उनी केही समयअघि सभापति शेरबहादुर देउवाको सुदूरपश्चिम क्षेत्रको भ्रमण गरेका थिए।