काठमाडौँ । जर्मनीमा आज आम चुनावको मतदान हुँदैछ । वर्तमान चान्सलरको सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी) सर्वेक्षणमा पछाडि परेको छ । चान्सलरको दौडमा विपक्षी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का फ्रेडरिक माट्ज अगाडि छन् । यी बाहेक, एलिस वेडेलको कट्टरपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पनि राम्रो स्थान प्राप्त गर्ने अनुमान गरिएको छ ।
सर्वेक्षण अनुसार, २९ प्रतिशतले फ्रेडरिक माट्जको पार्टीलाई समर्थन गर्छन् भने २१ प्रतिशतले कट्टरपन्थी एलिसको पार्टी एएफडीलाई समर्थन गरेका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी युवाहरू छन् । चान्सलर स्कोल्जको एसपीडी १६ प्रतिशत समर्थनका साथ तेस्रो स्थानमा छ ।
साथै, सत्तारुढ गठबन्धनको हिस्सा रहेको ग्रिन पार्टीले १२ प्रतिशत र फ्री डेमोक्रेटिक पार्टीले ७ प्रतिशत मत पाउन सक्ने अनुमान गरिएको छ । दुवै जना किङ मेकरको भूमिकामा आउन सक्ने पनि पूर्वानुमान गरिएको छ ।
जर्मनीमा मतदान समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म (नेपाली समय अनुसार दिउँसो १२:४५ बजेदेखि राति १०:४५ बजेसम्म) हुनेछ । ८.४ करोड जनसंख्या भएको जर्मनीमा ६ करोड जनताले आम चुनावमा मतदान गर्नेछन् ।
मतदान सकिएपछि एक्जिट पोल आउनेछ । यसैबीच, मतगणना पनि सुरु हुनेछ । मतदान सकिएको केही घण्टाभित्रै प्रारम्भिक नतिजा स्पष्ट हुनेछ । नतिजा सोमबार बिहानसम्ममा आधिकारिक रूपमा घोषणा गरिने जर्मनका मिडियाहरुले उल्लेख गरेका छन् ।
अमेरिकी व्यवसायी तथा टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कको संलग्नताले पनि चुनावलाई रोचक बनाएको छ । शनिबार मस्कले फेरि कट्टरपन्थी नेता एलिस वेडेललाई समर्थन व्यक्त गरेका थिए ।
अर्कोतर्फ, चुनावमा रुसी हस्तक्षेप प्रकाशमा आएको छ । विज्ञहरूका अनुसार 'डोपेलगेन्जर' र 'स्टर्म-१५१६' जस्ता समूहहरूले रुसबाट आएका हजारौं बोट आर्मीहरू मार्फत चुनावलाई प्रभाव पारिरहेको बताइएको छ । यी समूहहरूले सामाजिक सञ्जालमा विशेष गरी एक्समा दैनिक हजारौं भिडियोहरू-नक्कली समाचारहरू पोस्ट गरिरहेका छन् ।
यी पोस्टहरू एएफडीको समर्थनमा बनाइएका छन् र तिनीहरूले एसपीडीलाई प्रमुख निशाना बनाएका छन् । यी बाहेक, रूसका १०० भन्दा बढी नक्कली वेबसाइटहरूबाट नक्कली समाचार फैलिरहेको बताइएको छ ।
सर्वेक्षणमा माट्जको सीडीयू अगाडि रहेको भए पनि, पार्टीले ५० प्रतिशत भन्दा बढी मत पाउने देखिँदैन । जर्मनीमा, कुनै पनि दललाई सत्तामा आउन ५० प्रतिशत भन्दा बढी समर्थन चाहिन्छ, त्यसैले यहाँ प्रायः गठबन्धन सरकार बन्ने गरेको छ ।
युक्रेन युद्ध, रुस, अर्थतन्त्र र बजेट जस्ता मुद्दाहरू चुनावमा प्रमुख रुपमा उठेका छन् । यद्यपि, अवैध आप्रवासनलाई प्रमुख दलले ठुलो मुद्धा बनाएका छन् । एएफडीले जर्मनीमा हालै भएका आतंकवादी हमलाहरूलाई अवैध आप्रवासनसँग जोडिरहेको छ ।
सीडीयूले सीमाना कडा पार्ने र शरणार्थीहरूको लागि नागरिकता सर्तहरू कडा पार्ने बारेमा कुरा गरिरहेको छ । एसपीडी पनि सीमा कडाइको पक्षमा छ, तर दक्ष आप्रवासीहरूलाई प्रवेश दिने नीतिलाई निरन्तरता दिने बताउदै आएको छ ।