काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश, अलेक्जान्ड्रे डे मोरेसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समथि १.४ मिलियन डलर जरिवाना लगाएका छन् । अदालतको आदेशको बाबजुद एक्सले एलन डोस सान्तोसको प्रोफाइलसँग सम्बन्धित दर्ता सम्बन्धि डाटा हस्तान्तरण गर्न अस्वीकार गरेपछि जरिवाना लगाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
न्यायाधीश मोरेसले जुलाई २०२४ मा एक्स र मेटालाई सान्तोसको खाता ब्लक गर्न, उनलाई प्रतिबन्ध लगाउन र उनको डेटा प्रदान गर्न कारबाही गर्न आदेश दिएका थिए । एक्सले आदेशको पालना गर्दै खाता ब्लक गर्यो, तर डाटा सङ्कलन नगरिएको र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध नभएकोले यसमा डेटा नभएको दाबी गरेको थियो ।
यद्यपि, न्यायाधीशले यो तर्कलाई अस्वीकार गरे । त्यसपछि, एक्सलाई डेटा प्रदान गर्न असफल भएमा अगस्ट २०२४ सम्म दैनिक एक लाख ब्राजिलियन रियास अर्थात लगभग १७ हजार ५०० अमेरिकी डलर जरिवाना लाग् आदेश गरे । अक्टोबरसम्ममा जरिवाना ८१ लाख रियास पुगेको थियो ।
एक्सले यो जरिवानाविरुद्ध अपील गर्यो, तर पछि अदालतलाई जरिवाना तिर्ने जानकारी दिएको थियो । पछिल्लो पटक गत बुधबारको आफ्नो फैसलामा, अदालतले कम्पनीलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको छ । यद्यपि, अदालतले एक्सले दर्ता डेटा प्रदान गर्यो या गरेन भन्ने कुरा स्पष्ट गरेको छैन ।
गत वर्ष, एक्सले ब्राजिलमा रहेका आफ्ना सबै कर्मचारीहरूलाई हटाउने योजना बनाउँदा न्यायाधीश मोरेसले एक्सविरुद्ध अर्को कदम चाल्दै एक्सको कानुनी प्रतिनिधिलाई पक्राउ गर्ने धम्की दिएका थिए । ब्राजिलको कानून अनुसार विदेशी कम्पनीहरूलाई देशमा स्थानीय कानुनी प्रतिनिधि नियुक्त गर्न आवश्यक रहेको छ ।
सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क र पूर्व राष्ट्रपति बोल्सोनारोका आलोचक न्यायाधीश डे मोरेसबीच अभिव्यक्ति स्वतन्त्रता, दक्षिणपन्थी खाताहरू र गलत सूचनालाई लिएर धेरै विवाद भएको छ । मस्कले मोरेसलाई अभिव्यक्ति स्वतन्त्रताको शत्रु र अपराधी भनेका थिए । यसको बावजुद, मोरेसका निर्णयहरूलाई उनका साथीहरूले बारम्बार समर्थन गरेका छन्, जसमा राष्ट्रव्यापी बन्द र एक्सलाई जरिवाना गर्ने आदेशहरू पनि समावेश छन् ।