काठमाडौँ । एलन मस्कले ओपनएआई किन्न राखेको प्रस्ताव अस्वीकार भएको छ ।
ओपनएआईका अध्यक्ष ब्रेट टेलरले ओपनएआई निर्देशक बोर्डको तर्फबाट सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेर मस्कको प्रस्ताव अस्वीकार गरेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- 'ओपनएआई बिक्रीमा छैन र बोर्डले आफ्नो प्रतिस्पर्धीलाई बन्द गर्ने मस्कको पछिल्लो प्रयासलाई सर्वसम्मतिले अस्वीकार गरेको छ । ओपनएआईको कुनै पनि सम्भावित पुनर्गठनले हाम्रो गैर-नाफामुखी संस्था र एजीआईमार्फत मानवतालाई फाइदा पुर्याउने यसको लक्ष्यलाई बलियो बनाउनेछ ।'
मस्कले केहि दिन अगाडी ओपनएआई किन्न प्रस्ताव गरेका थिए । यसका लागि मस्कसहितको लगानी समुहले ९७.४ बिलियन डलर डलर प्रस्ताव गरेका थिए ।
यद्यपि, मस्कको प्रस्तावलाई ओपनएआईका सीईओ साम अल्टम्यानले तुरन्तै अस्वीकार गरेका थिए र उनले जवाफमा मस्कको सामाजिक सञ्जाल कम्पनी एक्स किन्न ९.७४ बिलियन डलरमा किन्ने प्रस्ताव गरेका थिए ।
अल्टम्यान र मस्कले मिलेर ओपनएआई सुरु गरेपनि पछि मतभेद भएपछि मस्कले २०१८ मा कम्पनी छोडेका थिए ।