कपिलवस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् ।
एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरी पञ्चायती भूत सल्बलाउन थालेको टिप्पणी गरेका हुन् । महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको बताए ।
उनले भने- 'अचेल फेरि पञ्चायतकालीन भूत सल्बलाउन थालेका छन् । राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिदैछ । सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ । अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।'
महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताए । आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको बताएका छन् ।