• २०८१ माघ २५ शुक्रबार

अन्तरजातीय विवाहप्रति पुर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवलमूल्यन- गृहमन्त्री लेखक

kharibot

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति पुर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवलमूल्यन हो भन्ने ठानेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबिच भएको अन्तरजातीय विवाह सम्वन्धमा प्रकाशित समाचार अभिव्यक्त चाँसोहरु र सांसदहरुले उठाएको विषयमा गम्भीर रुपमा ध्यानार्कषण भएको बताए ।

'वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पुर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवलमूल्यन हो भन्ने म ठान्दछु ।' उनले भने,'नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ ।'

उनले अन्तरजातीय विवाहबारे देशमा पटक–पटक विषयहरु उठ्ने गरेका बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधै रहेको जानकारी दिए ।

'यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशिल रहेको छ ।', उनले भने , 'म अत्यन्त जाँदा संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधै रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्वद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पाटी हो,म त्यसमा अहिले पनि र जीवनभर प्रतिवद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु ।'

अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको बताउँदै उनले  उक्त कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय भएको र गृह मन्त्रालय कानूनी व्यवस्थालाई अक्षरः कार्यान्वयन गराउन प्रतिवद्ध रहेको जानकारी दिए ।

'समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोल्कल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु ।' लेखकले भने, 'समाचार थाहा पाउँदा बितिक्कै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिए अनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ । तथापी यस विषयमा कही पनि त्रुटी भएको देखिए छानविन र कानून बमोजिम कारवाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु ।'

उनले पीडितको गुनासो संवोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूती दिने कुरामा गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए । 'नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरुको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन ।' लेखकले भने,'सरकारले सम्पूर्ण रुपमा संरक्षण गर्ने छ भन्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।'

तथ्यहरूलाई तोडमोड गर्ने र समाजलाई अनावश्यक रुपमा विभाजनतिर धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न मन्त्री लेखकले सञ्चारजगतलाई आग्रह समेत गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै