काठमाडौँ । सरकारले ल्याएका विभन्न ६ अध्यादेशले जसपा नेपालका उपेन्द्र यादवलाई सत्ताप्रतिको मोह जगाइदिएको छ ।
राष्ट्रिय सभामा अल्पमतमा रहेको सरकारलाई अध्यादेश पारित गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि उपेन्द्रको सत्ता मोह जागेको विश्लेषण भइरहेको छ । पछिल्लो समय सत्ता पक्ष भएपनि करिब ७ महिना देखि सत्ताको जिम्मेवारीमा नरहेका उपेन्द्र यादवले मौकाको फाइदा उठाउने पुरा अवसर पाएका छन् । राष्ट्रिय सभाम सत्ता पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपाका एक सांसद छन् । त्यस्तै सरकारले मनोनित गरेका सांसद मध्ये एक सांसद अन्जान शाक्य एमाले निकट भएकाले उनलाई सत्ता पक्षमा जोड्दा २८ सांसद हुन आउछन् । यस्तो अवस्थमा ३ सांसद रहेको जसपा नेपाल निर्णायक बनेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतको लागि ३० सांसद आवश्यक पर्दछ ।
विहिबार संसदका दुवै सदनमा अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूची बनाएर पनि अन्तिम समयमा सरकार पछि हटेको थियो । यसको कारण थिए उपेन्द्रको बार्गेनिंग । उपेन्द्र यादव अध्यादेश पारित गर्न आफ्नो निर्णायक भूमिकालाई बुझेर मधेश प्रदेशमा सरकारको नेतृत्वदेखि केन्द्रमा उपप्रधानमन्त्रीसम्मको माग गरिरहेको विषय बाहिर आएको छ । विहिबार उपेन्द्रले निर्णय नगर्दा सरकार आस्वस्त हुन नसकेको बुझिएको छ । कांग्रेसले जसपा नेपालले अध्यादेशको पक्षमा मतदान गर्ने दाबि गरेपनि अन्तिम समयमा सरकार पछि हटनुले थप शंका उत्पन्न भएको छ । विहिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवसँग छलफल गरेका थिए ।
कांग्रेस र एमालेका नेताहरुले भने उपेन्द्रले मधेश प्रदेशको मुख्यमन्त्री वा केन्द्रमा उप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय माग गरेको बताएका छन् । उपेन्द्रले ओली र देउवासँगको भेटमा कम्तिमा स्वास्थ्य मन्त्रालय पाउनुपर्ने माग गरेका छन् । उपेन्द्रको मागमा प्रधानमन्त्री ओली र देउवाले तत्काल ठोस निर्णय नदिएपछि आज उपेन्द्र अनिर्णित बनेको बुझिएको छ । तत्कालका लागि सरकारसँग अन्य विकल्प नदेखिएकाले उपेन्द्र अब कुनै न कुनै रुपमा सरकारमा आउने निश्चित रहेको देखिएको छ ।