काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि नयाँ व्यापार कर लगाउने घोषणा गरेका छन् ।
अमेरिकाले मेक्सिको र क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत थप कर लगाउने घोषणा गरेका हुन् । उनले चुनावका बेला यी देशलाई नयाँ कर लगाउने बताउदै आएका थिए ।
अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार यी तीन देशलाई नयाँ कर लगाउने घोषणासँगै यी देशहरूसँग अमेरिकाको व्यापार सम्बन्ध प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।
ट्रम्पले अमेरिकी कम्पनिलाई प्रोत्साहित गर्न बाहिरबाट आउने उत्पादनलाई हतोत्साहित गर्न नयाँ कर लगाएको दलिल दिएका छन् । ट्रम्पले आफ्नो यस निर्णयले महंगी नबढ्ने दाबि गर्दै विश्वव्यापी अर्थतन्त्रमा कुनै नकारात्मक प्रभाव नपर्ने बताएका छन् ।
ट्रम्पले अवैध आप्रवासी समस्यामा क्यानडा र मेक्सिकोमाथि दबाब बढाउन नयाँ कर लगाएको समेत बताइएको छ । दुवै देशले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा ट्रम्पसँग सम्झौता गरेमा यी कर फिर्ता हुनसक्ने बताइएको छ ।
ट्रम्पको यो कदमको क्यानडा र मेक्सिकोले विरोध गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आवश्यक परेमा प्रतिशोधात्मक कर लगाउन सक्ने बताएका छन् । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले आफ्नो देश तयार रहेको र कुनै पनि परिस्थितिको सामना गर्न योजना रहेको बताइन् । यसको निर्णयले अमेरिकी वित्तीय बजारमा पनि गिरावट ल्याएको छ ।
अर्कोतर्फ विज्ञहरूले भने यी करका दर लामो समयसम्म जारी रहेमा यसले विश्वव्यापी व्यापारमा अस्थिरता निम्त्याउन सक्ने र मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन् ।