• २०८१ माघ १२ शनिबार

भावनामा खेल्दै एमाले, अलमलमा वामदेव !

kharibot

काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अलमलमा परेका छन् । शुरुमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने अन्तिम तयारीमा गरेको उनको योजना नेकपा एमालेले हाइज्याक गरेपछि उनको राजनीतिक यात्रा अलमलमा परेको हो ।

उनले पटक पटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । उनी आफैले अब माधव नेपालसँग सहकार्य हुने भयो भन्दै मिडियामा अभिव्यक्ति दिएका थिए ।

राष्ट्रिय सभाका सांसद समेत रहेका वामदेवले लामो समयदेखि एमालेमा फर्किन चाहेपनि अध्यक्ष केपी शर्मा ओलीले महत्व नदिएको गुनासो सार्बजनिक रुपमै गर्दै आएका थिए । तर एकीकृत समाजवादीमा प्रवेशको अन्तरिम तयारीमा रहेका बामदेवलाई प्रधानमन्त्रीसमेत रहेका ओलीले बालुवाटारमा बोलाएर उनको इच्छा मात्र पुरा गरेनन्, एमालेमा फर्किने वातावरण बनाउने बताएर एकीकृत समाजवादीमा जानबाट तत्कालका लागि रोके । वामदेवले एकीकृत समाजवादी भन्दा एमालेलाई प्राथमिकतामा राखेपछि उनको अभियानका कैयौं नेताले अभियान छोडे ।

अब एमालेको सचिवालय बैठकले वामदेवलाई भित्र्याउने घोषणा गर्छ भन्ने अपेक्षा गरिएको बेला वामदेवको अभियानसँग सहकार्य गर्दै जाने हल्का निर्णय गरेपछि ओलीले वामदेवलाई अलमलाउने रणनीतिमा लागेको रहेको विश्लेषण हुन थालेको छ । एमालेको निर्णयपछि अहिले वामदेव अनिर्णित मात्र भएका छैनन् राजनीतिक रुपमा अझ कमजोर भएको चर्चा शुरु भएको छ ।

एमालेले वामदेवलाई विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष बनाउने चर्चा रहेकै बेला वामदेव र माधव नेपालसँग पनि छलफल अनौपचारिक रुपमा जारी रहेको बताइएको छ । यसअघि एकीकृत समाजवादीले गौतमलाई वरीष्ठ उपाध्यक्ष बनाएर तेस्रो वरीयतामा राख्ने प्रस्ताव मात्र गरिएको थिएन एकीकृत समाजवादी र अभियानबीच हुने एकताको मोडालिटीसमेत तयार पारिएको थियो । अब अहिले वामदेव एमालेको निर्णयपछि सशंकित भएका छन् र फेरी एकीकृत समाजवादसँग संवाद शुरु गरेको चर्चा छ ।

अहिले वामदेवले एकीकृत समाजवादीलाई देखाएर एमाले र एमाले देखाएर एकीकृत समाजवादीमा वार्ता गरिरहको देखिएको छ । यस्तो गतिबिधिले वामदेवको राजनीतिक कद घटेको देखिएको छ । एमालेले वामदेवलाई भित्र्याएपनि उनको भावनासँग खेलेर उनलाई हल्का बनाउने रणनीति बनाएको देखिएको छ जुन वामदेव र उनको राजनीतिक भविष्यका लागि हानिकारक हुने देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै