काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु अहिले कसैसँग एकीकरणको पक्षमा नरहेको बताएका छन् । शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका हुन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपालतर्फ लक्षित गर्दै उनले कोहीसँग एकीकरण हुन लाग्यो भन्ने बजारको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गरे । उनले भने- ‘राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । अहिले सिङ्गो एकीकृत राप्रपा छ ।'
महाधिवेशनमा लिङ्देनसँग पराजय ब्यहोरेर पार्टी फुटाएका थापा पछिल्लो समय एकीकरणको पक्षमा उभिएका छन् । गत पुस २७ गते पृथ्वी जयन्तीमा समेत एकै ठाउँमा कार्यक्रम गर्न थापाले लिङ्देनसँग आग्रह गरेका थिए । तर, लिङ्देनले थापाको प्रस्ताव अस्वीकार गरेपछि अलग अलग कार्यक्रम आयोजना गरिएको थियो ।