काठमाडौँ । भारतीय स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आइपिएल टिम लखनऊ सुपर जायन्ट्सको कप्तान बनेका छन् । टोलीका मालिक संजीव गोयन्काले पन्तलाई टिमको कप्तान बनाएको सोमबार घोषणा गरेका हुन् ।
आईपीएल २०२५ को लागि भएको मेगा अक्सनमा पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको थियो । पन्त आईपीएल इतिहासमा सबैभन्दा बढी मूल्यमा बेचिने खेलाडी बनेका थिए । पन्त यस अघि आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका थिए ।
पन्तले २०१६ देखि दिल्लीको प्रतिनिधित्व गर्दै आएका छन् र ११० खेलमा ३५.३१ को औसतमा ३२८४ रन बनाएका छन् जसमा एक शतक र १८ अर्धशतक समावेश छन् । पन्तलाई २०२१ मा टोलीको कप्तान बनाइएको थियो र उनले सोही सिजनमा टोलीलाई प्लेअफमा पुर्याएका थिए । आईपीएल २०२५ सिजनको लागि मेगा लिलामी अघि, लखनऊले निकोलस पूरन, मयंक यादव, रवि बिश्नोई, मोहसिन खान र आयुष बदोनीलाई रिटेन गरेको थियो ।
गत सिजन लखनउको लागि राम्रो रहेन र टोली १४ खेलमा सात जित र सात हारसहित १४ अंकसहित सातौं स्थानमा रहेको थियो । यस अघि लखनउको कप्तानी केएल राहुलले गरेका थिए भने उनी अब दिल्ली क्यापिटल्समा पुगेका छन् । लखनउको मेन्टरको रुपमा भारतीय क्रिकेटका पुर्व तिब्र गतिका बलर जाहिर खान रहेका छन् ।