काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । यो ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकाल हो ।
शपथपछि आफ्नो उद्घाटन सम्बोधनमा ट्रम्पले आजदेखि अमेरिकाको स्वर्ण युग सुरु भएको घोषणा गरेका छन् । उनले अमेरिका अब समृद्ध र विश्वमा सम्मानित हुने बताएका छन् ।
उनले भने- 'म स्पष्ट हुन चाहन्छु: म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्छु । सार्वभौमसत्ता पुनर्स्थापित हुनेछ, सुरक्षा पुनर्स्थापित हुनेछ र न्यायको सन्तुलन पुनर्स्थापित हुनेछ ।'
सो अवसरमा ट्रम्पले न्याय विभागको अनुचित र पक्षपाती प्रयोग अन्त्य गरिने पनि बताए । उनले भने, -हाम्रो सर्वोच्च प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।'
ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाको बारेमा जानकारी दिए । उनले आज अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए । त्यस्तै उनले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं 'आपराधिक आप्रवासीहरू' लाई उनीहरूको देशमा फिर्ता पठाउने प्रक्रिया सुरु गर्ने घोषण समेत गरेका छन् ।
आफ्नो सम्बोधनमा ट्रम्पले गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरेर गल्फ अफ अमेरिका बनाउने घोषणा गरे । ट्रम्पले शपथ लिना साथ ह्वाइटहाउसको वेभसाइटमा 'अमेरिका इज ब्याक' भन्दै यस अघिको ब्यानर परिवर्तन गरिएको छ ।