काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा १३ वर्षीय वैभव सूर्यवंशीलाई राजस्थान रोयल्सले १ करोड १० लाख भारुमा किनेपछि उनको चर्चा सर्वत्र भइरहेको छ ।
उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो र उनी आफ्नो आधार मूल्यभन्दा झण्डै चार गुणा बढीमा बिक्री भएका थिए । उनी आईपीएलको लिलामी इतिहासमा अक्सनमा बिक्रि भएका सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
बिहारका वैभवले १३ वर्ष २४२ दिनको उमेरमा आईपीएलको लिलामीका लागि सर्टलिस्ट हुने सबैभन्दा कान्छो खेलाडीको रूपमा इतिहास रचेका थिए । अक्सनमा उनलाई लिन राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त भएको थियो र अन्तत राजस्थानले उनलाई एक करोड १० लाख भारुमा किनेको छ ।
को हुन् बैभव सूर्यवंशी ?
बायाँ हाते ब्याट्सम्यान बैभवले सानै उमेरमा आफ्नो ब्याटले उत्कृष्ट प्रदर्शन गरेका छन् । जनवरी २०२४ मा बिहारको लागि आफ्नो प्रथम श्रेणी डेब्यू गरेपछि, अक्टोबरमा भारत यू १९ बाट खेल्दै अष्ट्रेलिया यू १९ युवा टेस्ट सिरिजमा सूर्यवंशीले उत्कृष्ट शतक बनाएर सबैको ध्यान खिचेका थिए । उनले सो खेलमा ५८ बलमा शतक बनाएर सबैको ध्यान खिचेका थिए ।
योसँगै वैभवले अन्डर-१९ टेस्टमा भारतीयले सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका छन् । युवा खेलाडीले आफ्नो बलियो इनिङ्समा १४ चौका र चार शतक प्रहार गरे । उनी ६२ बलमा १०४ रन बनाएर रनआउट भएका थिए । वैभवको ब्याटिङ शैली पृथ्वी शा र शिखर धवनसँग मिल्दोजुल्दो छ । अष्ट्रेलियाविरुद्धको उनको इनिङ्समा स्क्वायर ड्राइभ, डिप मिड-विकेटमा पुल र कभर ड्राइभ सहित विभिन्न शटहरू समावेश थिए ।
अहिले सूर्यवंशी भारतको यू १९ एसिया कपमा भारतको प्रतिनिधित्व गर्ने तयारीमा छन् ।
वैभव त्यही ब्याट्सम्यान हुन् जसले रणजी ट्रफी २०२४ मा १२ वर्ष २८४ दिनको उमेरमा डेब्यू गरेका थिए। उनी यस्तो गर्ने चौथो कान्छा खेलाडी बने । उनले सचिन तेन्दुलकरलगायत धेरै खेलाडीको कीर्तिमान तोडेका छन् ।
वैभवको क्रिकेट यात्रा नौ वर्षको उमेरमा सुरु भयो, जब उनले आफ्नो बुबा सञ्जीव सूर्यवंशीबाट प्रारम्भिक कोचिङ पाएका थिए । क्रिकेटप्रति उनको बुबाको लगाव र उनको आफ्नै समर्पणले वैभवलाई यति सानो उमेरमा उल्लेखनीय सफलता हासिल गर्न प्रेरित गर्यो, जसले उनलाई भारतीय क्रिकेटमा एक आशाजनक प्रतिभा बनाएको छ ।