• २०८१ माघ ८ मंगलबार

विपिन जोशीको रिहाईको पहल गरिदिन परराष्ट्रमन्त्री राणाको इजिप्टका विदेशमन्त्रीलाई आग्रह

kharibot

काठमाडौँ ।  प्यालेस्टाइनी विद्रोही समूह हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रयास गरिरहेकी छन् । यसक्रममा सोमबार परराष्ट्र मन्त्री देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिसँग फोन वार्ता गरेकी छन् । 

इजरायल सरकार र हमासबीच युद्ध विराम भएका बेला युद्ध बन्दीहरूलाई रिहा गर्ने क्रम चलिरहेको छ । यस क्रममा विपिनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाले फोनमार्फत आग्रह गरेकी हुन् । 

उपचारका लागि थाइल्यान्डको बैंककमा रहेकी परराष्ट्रमन्त्री राणाले त्यहीँबाट फोन गरेर इजिप्टका विदेश मन्त्रीसँग फोन वार्ता गरेको सचिवालयले जनाएको छ । 

फोन वार्तामा मन्त्री राणाले इजरायल सरकार र हमासबीचको युद्ध विराममा आवश्यक भूमिका खेलेकामा इजिप्टलाई धन्यवाद पनि दिइन् । मध्यस्थकर्ताको भूमिका खेलेको इजिप्टले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पनि भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेकी थिइन ।

जवाफमा इजिप्टका विदेशमन्त्री अब्देल अतिले आफू यो विषयमा गम्भीर रहेको बताउँदै इजिप्टका तर्फबाट मध्यस्थकर्ताको भूमिकामा रहेका अधिकारीलाई  विशेष निर्देशन दिने आश्वासन दिएको मन्त्री राणाको सचिवालयले जनाएको छ । 

यसअघि पनि परराष्ट्रमन्त्री राणाले शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै