• २०८१ माघ १ मंगलबार

लस एन्जलसमा आगलागी अझै बढ्ने चेतावनी, अहिलेसम्म २६ जनाको मृत्यु

kharibot

काठमाडौँ । अमेरिकाको पश्चिमी तटमा रहेको लस एन्जलस क्षेत्रमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या २६ पुगेको छ भने हजारौं घरहरू ध्वस्त भएका छन् । आगलागीबाट ३८ हजार एकड क्षेत्रफल नष्ट भएको छ ।

साथै, राष्ट्रपति जो बाइडेनले पनि आगलागीमा जलेर मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भने- 'लस एन्जलसको आगलागीमा हामीले गुमाएका २६ निर्दोष मानिसहरूको लागि हाम्रो हृदय टुटेको छ । जिल बाइडेन र म उहाँ र उहाँका प्रियजनहरूको लागि प्रार्थना गर्छौं ।'

मौसमविद्हरूले यो हप्ता हावा अझ बलियो हुने भविष्यवाणी गरेका छन् । यसबारे दमकल विभागले चिन्ता व्यक्त गरेको छ । आगलागीमा अहिलेसम्म कम्तीमा १६ जना बेपत्ता छन् । एक्यू वेदरका अनुसार, अहिलेसम्म आर्थिक क्षति १५० अर्ब डलर पुगेको छ ।

राष्ट्रिय मौसम सेवाले ठूलो आगलागीको लागि उच्च स्तरको चेतावनी जारी गरेको छ । सेवा केन्द्रले यस क्षेत्रमा ८० किलोमिटर प्रतिघण्टासम्मको हावा चल्ने र पहाडी क्षेत्रहरूमा ११३ किलोमिटर प्रतिघण्टासम्मको हावा चल्ने अनुमान गरेको छ । यसले समस्यालाई अझ बढाउनेछ । पालिसेड्स र इटन आगो केही हदसम्म नियन्त्रणमा छन् ।

लस एन्जलस क्षेत्रमा रहेका पालिसेड्स, इटन, केनेथ र हर्स्टमा लागेको आगोले १६० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफललाई ढाकेको छ । यो सान फ्रान्सिस्को भन्दा ठूलो क्षेत्रफल हो । प्यालिसेड्स आगो ११ प्रतिशत नियन्त्रणमा आइसकेको छ र इटन आगो २७ प्रतिशत नियन्त्रणमा आइसकेको बताइएको छ । दुईवटा आगलागीले १५३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको थियो । क्यालिफोर्निया र अन्य नौ राज्यका १४ हजारभन्दा बढी कामदारहरू आगो निभाउन संघर्ष गरिरहेका छन् ।

अधिकारीहरूले आगलागीमा नष्ट भएका घरहरूको तथ्याङ्क तयार गरिरहेको बताएका छन् । उनीहरूले फैलिएको खरानीमा सिसा, आर्सेनिक, एस्बेस्टोस र अन्य हानिकारक पदार्थहरू हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । 

'विक्ड' फेमका संगीत निर्माता ग्रेग वेल्सले क्यालिफोर्नियाको डढेलोमा आफ्नो घर गुमाएका छन् । उनले आफ्नो पारिवारिक घर मात्र गुमाएनन्, तर प्यासिफिक प्यालिसेड्समा रहेको उनको अत्याधुनिक डल्बी एटमस मिक्सिङ रुम र स्टुडियो पनि ध्वस्त भएको बताएका छन् ।  उनीसँग रेकर्डिङ उपकरणहरूको अविश्वसनीय संग्रह थियो तर अब त्यो सबै आगोमा जलेर नष्ट भइसकेको छ । उनका धेरै साथीहरूको घर पनि खरानीमा परिणत भएको छ । त्यस्तै आगलागीबाट सेलिब्रेटी पेरिस हिल्टनसहितको घर समेत जलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै