काठमाडौँ । सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असद गम्भीर रोगबाट ग्रसित छिन् । द टेलिग्राफका अनुसार अस्मालाई ब्लड क्यान्सर अर्थात् ल्युकेमिया छ । उनको बाँच्ने सम्भावना ५० प्रतिशत मात्रै रहेको डाक्टरहरुले बताएका छन् ।
बेलायतमा जन्मिएकी अस्मा अल-असदलाई सन् २०१९ मा स्तन क्यान्सर भएको पत्ता लागेको थियो । उपचारपछि उनले आफूलाई क्यान्सरमुक्त घोषणा गरेकी थिइन् । अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । अस्माले सन् २००० डिसेम्बरमा असदसँग विवाह गरेकी थिइन् । अस्मा र असदका तीन सन्तान छन्, जसको नाम हाफिज, जीन र करीम छन्।
अस्माको जन्म सन् १९७५ मा लन्डनमा सिरियाली आमाबाबुको घरमा भएको थियो । उनीसँग बेलायत र सिरियाको दोहोरो नागरिकता छ ।
सिरियामा सन् २०११ मा सुरु भएको गृहयुद्ध र विद्रोहपछि अवस्था झन् बिग्रियो । बसर अल-असद र उनको परिवार हालै विद्रोही समूह हयात तहरीर अल-शामद्वारा ११ दिनको आक्रमण पछि सिरियाबाट भागेर रसिया पुगेका थिए । अहिले उनी मस्कोमा शरण लिएर बसेका छन् ।
रिपोर्टका अनुसार रुसले असदलाई कडा सर्तसहित शरण दिएको छ । तिनीहरू मस्को छोड्न सक्दैनन् र कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्धित छन् । यसबाहेक उनको सम्पत्ति पनि रोक्का गरिएको छ ।
रिपोर्टका अनुसार अस्मा अल-असद मस्कोमा खुसी छैनन् र उनले आफ्ना छोराछोरीसँग लन्डनमा बस्ने इच्छा व्यक्त गरेकी छन् । केही रिपोर्टहरूले उनले बशर अल-असदसँग सम्बन्ध विच्छेदको प्रक्रिया अगाडी बढाएकी छन् । साथै रुस छाड्न विशेष अनुमति मागेकी छन् । यो मुद्दा हाल रुसी अधिकारीहरूमा विचाराधीन छ । यद्यपि, क्रेमलिनले यी दाबीहरूलाई अस्वीकार गरेको छ ।