काठमाडौँ । सिरियाका नयाँ अन्तरिम प्रधानमन्त्री मोहम्मद अल–बसिरले विश्वभर शरणार्थीका रूपमा बसेका सिरियालीहरूलाई स्वदेश फर्किन अपिल गरेका छन् ।
बशर अल-असदको शासनकालमा लाखौं सिरियाली नागरिकहरू अन्य देशहरूमा पलायन भएका थिए ।
इटालियन अखबार 'कोरीरे डेला सेरा' सँगको अन्तर्वार्तामा सिरियाका अन्तरिम प्रधानमन्त्रीले भने, 'हयात तहरीर अल-शामको सरकारले सिरियाको भ्रष्ट प्रशासन विरासतमा पाएको छ ।'
मोहम्मद अल-बशीरले २०२५ को मार्चसम्म पदमा रहने बताएका छन् । उनले सिरियाको अवस्था निकै नाजुक रहेको र देशको विदेशी मुद्रा सञ्चिति पनि सकिएको स्वीकार गरे ।
मोहम्मद अल-बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा आफ्नो प्राथमिकताहरू पनि व्याख्या गरे । उनले सिरियामा सुरक्षा र स्थायित्व पुनर्स्थापना गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
विश्वभर शरण खोजिरहेका लाखौं सिरियालीहरूलाई आफ्नो देशमा फिर्ता ल्याउनु पनि हयात तहरीर अल-शामको सरकारको प्राथमिकताहरू मध्ये एक रहेको उनले बताए ।
मोहम्मद अल-बशीरले भने, 'हामीले हाम्रो देशलाई आफ्नो खुट्टामा उभ्याउन आवश्यक छ र यसमा हामीलाई सबैको सहयोग चाहिन्छ ।'