काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पदबाट राजीनामा गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले माग गरेको छ ।
लेखा समितिको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले पदबाट राजीनामा मागेका हुन् ।
सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने भन्दै मोदीले भने- 'सहकारीका बारेमा तपाईंको परिवार र तपाईंमाथि पनि प्रश्न उठिरहेको छ । सरकारका काम-कारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ ।'
मोदीले अगाडी भने- 'सरकारको छाया सार्वजनिक लेखा समिति त होइन भन्ने प्रश्न उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीको सभापति हुनुहुन्छ । यसबारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ । तपाईंले मार्ग प्रशस्त गरिदिए राम्रो ।'
सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा पोखरेल पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पुस २ गते मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।