• २०८१ पौष २२ सोमबार

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि ४० जनाको संक्षिप्त सूची सार्वजनिक

kharibot

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गठन भएको समितिले ४० जनाको नाम छनोट गरेको छ । समितिले अध्यक्षमा मात्र ८ जनाको नाम तय गरेको हो । समितिले मंसिर ३० गतेभित्र सरकारलाई सिफारिस गर्ने जनाएको छ ।

कानुन मन्त्रालयमा आज बसेको संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठकले दाबेदारहरुको संक्षिप्त सूची सार्वजनिक गर्ने निर्णय गरेको हो ।

दुवै आयोगका अध्यक्षका लागि अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिंजापति र विश्वराज कोइरालाको नाम परेको छ । त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि मात्र काशीराज दाहाल, सुदीप पाठक र शेरबहादुर केसीको नाम छ । दुवै अध्यक्षका लागि छनोट सूचीमा परेका अच्युतप्रसाद भण्डारी र विजयसिंह सिंजापतिलाई सदस्यमा पनि राखिएको छ । सिफारिस समितिले भोलि छनोट सूचीमा परेकाहरुको नाम सार्वजनिक गर्ने जनाएको छ ।

आयोगको पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो । त्यसमध्ये सिफारिस समितिले अध्यक्षमा ८ सहित ४० जनाको नाम संक्षिप्त सूचीमा समेटेको हो ।

अब समितिले संक्षिप्त सूचीमा परेकाहरुमाथि दाबी विरोधका लागि पाँच दिनको समय दिएर नाम सार्वजनिक गर्ने छ । उनीहरुलाई तीन दिन विषयवस्तु प्रस्तुतिको समय दिइने छ । त्यसपछि समितिले दुई अध्यक्ष र ८ सदस्यको नाम सरकारलाई सिफारिस गर्ने छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार र बेपत्ता छानबिन आयोगमा ३ हजारभन्दा धेरै निवेदन परेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै