• २०८१ पौष २१ आइतबार

लक्ष्मीपूजाको दिन १६०२ मेगावाट विद्युत खपत

kharibot

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।

लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६ः२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रका विद्युतगृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, काबेली कोरिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड १९५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै