काठमाडौँ । क्रिसमसको दिन रुसले युक्रेनका धेरै सहरमा ब्यालेस्टिक र क्रुज मिसाइलले आक्रमण गर्न थालेको थियो ।
यी आक्रमणका कारण विद्युत् आपूर्ति तत्कालका लागि बन्द गरिएको उनले बताए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै विस्फोटका कारण हल्लाएको छ । ऊर्जामन्त्रीले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । हमला रोकिएपछि मात्र विद्युत कम्पनीले क्षतिको आँकलन गर्ने उनले बताए ।
खार्किभका मेयर इओर तेरेखोभले सहरमा ठूलो मात्रामा मिसाइल प्रहार गरिएको बताएका छन् । उनले शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र कम्तीमा तीन जना घाइते भएको बताएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यद्यपि सहरका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले रुसी हवाई आक्रमणमा कम्तीमा ६ जना घाइते भएको बताएका छन् ।
धेरै भवनमा क्षति पुगेको जानकारी आएको छ । यो सहर युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा पर्छ जुन रुसको सिमाना नजिक छ।
हालैका महिनाहरूमा रुसले युक्रेनको अधिकांश पावर ग्रिडमा आक्रमण गरेको छ। जसका कारण राजधानी किभ, निप्रो र युक्रेनको अन्य धेरै क्षेत्रमा धेरै पटक ब्ल्याकआउट जस्तो अवस्था देखिएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी विद्युत कम्पनी डिटेकले रुसले आफ्नो थर्मल पावर प्लान्टमा आक्रमण गरी गम्भीर क्षति पुर्याएको बताएको छ ।
कम्पनीले किभ, निप्रोपेट्रोभस्क र ओडेसामा विद्युत आपूर्ति अवरुद्ध हुने बताएको छ। कम्पनीले यो वर्ष युक्रेनी उर्जा प्लान्टमा रुसले गरेको १३औं आक्रमण भएको पनि बताएको छ ।