• २०८१ बैशाख १७ सोमबार

बालकृष्ण ढुंगेल रिहा

kharibot

काठमाडौँ । हिरासतमा रहेका पूर्वसभासद बालकृष्ण ढुंगेल रिहा भएका छन् । 

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा जेल सजाय भोगिरहेका ढुंगेललाई राष्ट्रपतिले सरकारको सिफारिसलाई सोमबार स्वीकृत गरेपछि ढुंगेल आजै जेलमुक्त भएका हुन् ।

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८१६ कैदीको कैद मिनाह गरिएको जनाएको थियो ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार बेलुका जारी विज्ञप्तीमा भनिएको थियो, ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।’

ढुंगेलको सजाय माफी सम्बन्धि हाल सर्वोच्चमा बहस चलिरहेका बेला राष्ट्रपतिले उनको कैद मिनाह गरेकी हुन् । सर्वोच्चले सोमबार नै ढुंगेलको कैद माफी दिने सरकारको निर्णयको सक्कल फाइल मगायेकै दिन राष्ट्रपतिबाट सरकारको सिफारिस स्वीकृत भएको थियो ।

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए । पछि पुनरावेदन अदालतले सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए । 

तर फेरि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी गत कात्तिक १४ गते पक्राउ परेका थिए । 

ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलनका आधारमा बाँकी कैद माफी हुने नेपालको संविधानको धारा २७६ बमोजिम सरकारले ढुंगेलको सजाय माफी गर्न सिफारिस गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै