• २०८१ बैशाख १७ सोमबार

शिक्षक क्रुरता

kharibot

विपुल सिजापति

संसारमा दुई शक्ति थिए र छ्न्, शासक र शिक्षक । यी दुवै शक्ति अति मोहक र नसालु हुन्छ । शासक र शिक्षक दुवै शक्तिले आफू शक्तिशाली भईरहन राजनीति र धर्मको नाममा मानिसलाई दास बनाइरहेको छ, हत्या हिंसा गराइरहेको छ र यो रोकिदैन पनि ।

शासक बन्न, सत्तामा पुग्न या सत्तामा रहिरहनको लागि बाबू, आमा, छोरा छोरी पति पत्नी बन्धुबान्धव र विशाल जनसमुदायको हत्या समेत गरेको ईतिहास नै छ । इस्ट टिमोर, बोस्निया, सिरिया युद्ध शिक्षकले गराएका युद्ध हुन्, शिया सुन्नी, क्याठोलिक अर्थोडक, चार जात छुवाछुत, हिनयान महायान बज्रयान शिक्षकहरूले फैलाएका भ्रम हुन् । शिक्षकले आफ्नो बिचारलाई लाद्न र अरुको बिचारको नास गर्नको लागि थुप्रै जालसाजी षड्यन्त्र र हत्या समेत गरेको इतिहास र उदाहरण पनि थुप्रै छन् । माओले, हिटलरले, जनयुद्धको नाममा प्रचण्ड-बाबुरामले नरसंहार गर्नु भनेको राजनीतिको माध्यमबाट शासक बन्ने चाहना नै हो, अक्षम दजिएका देउवा, ओली, माधव नेपाल आदि अझै जालझेल गरेर भएपनि सत्तामा पुग्न चाहनुको कारण यही नसा हो ।

सामान्यतः शासक सदैव निर्देशित रहन्छ भने शिक्षक नियन्त्रित । शासकलाई शिक्षकले नै बाटो देखाउँछ, नीति नियम कानून प्रचलन संस्कार र सामाजिक व्यबस्थाका हरेक पाटोलाई राम्ररी बुझेर सत्य तथ्य र सही गलतका बारेमा स्पष्ट पार्दछ । यसैले शिक्षक शासकभन्दा शक्तिशाली हुन्छ तर शक्ति आफैले हातमा लिएर प्रयोग भने गर्दैन । शास्त्रले पनि शिक्षकलाई शासन गर्नबाट बन्देज लगाएको छ । पूर्वीय शास्त्रले सत्व, रजो, तमो र राजोतमो चार गुण मध्ये एक गुण या दुई गुणयुक्त भएर मानिस जन्मन्छन् भनेके छ । अर्थात्, पठनपाठन, धर्म आादि सत्व, शासन, युद्ध, आदि रजो,  व्यापारादि तमो र सेवाभाव रजोतमो गुणका लक्षण हुन् । यही गुण अनुसार ब्राह्मण क्षेत्री, वैश्य शुद्र वर्गीकरण गरिएको हो, कर्मले जात हुन गयो । यसै शआधारमा शिक्षक अर्थात् ब्राह्मणलाई शासन गर्न अनुपयुक्त ठहर गरेको छ । कारण के भने ब्राह्मण साम दान दण्ड भेद चार नीतिमा पारंगत भए पनि वीरता, शौर्य, युद्ध, क्षमा र सहनशीलतामा भने क्षेत्रीयभन्दा कमजोर हुन्छ । यसैले ब्राह्मणलाई सदैव पथप्रदर्शकको रूपमा क्षेत्रीय शासकले राख्ने प्रचलन प्राचीन हो । चाणक्यले गुप्त वंशको अभ्युदय गराए तर आफैले शासन भने गरेनन्, कारण यही हो ।

ब्राह्मण आफ्नो धर्म, कर्म, यज्ञ, ज्ञान र अध्ययनका लागि स्तुत्य छन्, यिनीहरू शिक्षक हुन्, मार्गदर्शक हुन्, समाजलाई स्वधर्ममा डोर्याउन ज्योति बाल्ने विप्र हुन् । ब्राह्मण या शिक्षक स्वभावतः धन, मान र प्रतिष्ठाका लोभी हुन्छन् । तर जब यिनै शिक्षक या ब्राह्मणले शासक हुने लोभ गरे तब अनर्थ भएको छ, क्रुरताले पराकाष्ठा नाघेको छ ।

इसाईकरणका लागि गरिएको क्रुसिफाइड शासकको हैन शिक्षकको (क्रिस्चियन धर्माधिकारी) सनक हो, जेहाद कुनै सुल्तानको रहर हैन मुल्लाहरुको आकांक्षा हो, बौद्ध भन्तेहरूको विनाश गर्ने पुष्यमित्र सुङ शिक्षक नै थिए, हिन्दु धर्ममाथि विजयको सपना देखेर यवनहरूलाई सहयोग गर्ने बौद्ध भन्तेहरू नै थिए । यिनै अनर्थ मध्ये शिक्षकले गरेको अर्को एक अनर्थ हो सती प्रथा ।

दक्षिण महाराष्टका एक राजा शाहुराजाले बालाजी विश्वनाथ नामक चित्तपावन ब्राह्मणलाई आफ्नो सेनापति बनाएका थिए । शासनको स्वाद चाख्न पुगेका विश्वनाथले कपटले उपचार विधीमा विष प्रयोग गरेर राजाको हत्या गरे र आफै शासक हुने प्रयत्न गर्न थाले । पुत्रबिहीन रानी शंकराबाईले दत्तक पुत्र खोजेर राज्यको युवराज नियुक्त गर्ने तरखरमा लागिन् । तब ती विश्वनाथले रानीलाई अनेक प्रकारले फकाउँदै सती जान प्रेरित गर्न थाले । उनले वेदानुकूल तैत्तीरिय आरण्यकको ६/२० मन्त्र "इमा नारीविधवा: सुपत्नीराञ्जनेनः सर्पिषा: । संविशन्तु अनमसश्रोनमीवा सुरसा रोहन्तु जनया योनिमग्रे" मा योनिमग्रे शब्दलाई "अग्निमग्रे" बनाएर पतीसँग जलेर सती जाँदा पुण्य कमाएर स्वर्लोकमा पनि पतीसँगै रहन पाउने अर्थ लगाए वैदिक शास्त्रीय अर्थ लगाए । शंकराबाई पनि सती गइन र चित्तपावन विश्वनाथको हातमा राज्यसत्ता आयो ।

सती प्रथाको प्रचलन यहीँबाट सुरु भएको थियो । धर्मान्ध र आफूलाई पतीभक्त धर्मात्मा सावित गरि पतीसँगै स्वर्गमा बास गर्ने लालसामा कयौं राजपत्नीहरू सती गए भने राज्यप्राप्तीको लागि बाध्य पनि पारियो । नेपाल पनि यो कूप्रथाबाट अछुतो रहेन र चन्द्रशम्शेर अघिसम्म यो प्रथा कायमै रह्यो । पतिको मृत्यु पश्चात् पतिसँगै या पतिको कुनै चिनो लिएर पत्नीले आत्मदाह गर्ने प्रथाको बारेमा कुनै वेदमा उल्लेख छैन । पुराण अनुसार महादेवकी पत्नी सतीदेवीले आत्मदाह गरेकि थिइन् । महाभारतमा माद्री सती गएको कथा मौर्य कालपछि थपिएको हो । माद्री अघिका कोहि सती गएका छैनन्, युद्धपछि स्वयं व्यासले विधवाहरूलाई मृतकसँग भेट गराएका छन् भने द्वारिकाबाट अर्जुनले पनि विधवाहरू हस्तिनापुर ल्याएको कथा छ । यिनै विधवाहरूलाई जाटले (सायद मुसलमानतिर शंकेत!) लुट्दा अर्जुन बलहीन भएर टुलुटुलु हेरेको कथा छ ।

सती प्रथालाई इस्लाम आक्रमणपछिको मुस्लिम व्यबहारले पनि बढाउन मद्दत गरेको देखिन्छ । इस्लाम धर्ममा कसैको बिबाहिता नारी हरण गर्न या पत्नी बनाउन वर्जित छ । यसै कारण भारतमा मुसलमानहरूको आक्रमणपछि विधवाहरू सतित्व बचाउन सती जान थाले । सती प्रथा वैदिक या प्राचीन परम्परा नभएर शिक्षकले शासक हुनको लागि गरेको क्रुरताको परिणाम मात्रै हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै